0
पोखरा उद्योग वाणिज्य संघको बालश्रम न्यूनिकरण कार्यक्रमको आयोजना तथा किडाशाको सहयोगमा श्रमिक बालबालिकाहरु को सम्पर्क केन्द्रमा रहेका बालबालिकाहरुका लागि बुधबार देखि संचालन भएको जीवन उपयोगी सीप कार्यशाला एक समारोहका बीच बिहीबार सम्पन्न भयो । क्लेपका कार्यसमिति अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा संचालन भएको समारोहमा चालिस जना प्रशिक्षार्थीहरु सहित ५० जनाको उपस्थिति रहेको थियो । अधिकाशं बालबालिकाहरु गोरखा,  धादिङ, पर्वत लगायतका भूकम्प प्रभावित जिल्लाहरुबाट आएका हुँदा उनीहरुमा उत्पन्न भएको र उत्पन्न हुन सक्ने तनावलाई स्वयंद्वारानै व्यवस्थापनमा सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरिएको सम्बन्धमा क्लेपका कार्यक्रम संयोजक सुरेश कुमार मानन्धरले जानकारी गराए । जीवन उपयोगी सीप कार्यशालामा संवेग नियन्त्रण, आत्म जागरण, तनाव व्यवस्थापन, समालोचनात्मक सोचाइ, समस्या समाधान जस्ता सीपहरुको बारेमा नाटक, छलफल, प्रवचन तथा वृत्तचित्र प्रदर्शन आदिका माध्यमबाट प्रमुख प्रशिक्षक भक्तराज रसाइलीले प्रशिक्षण गराएका थिए । प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै सामना बुढामगर र अरमान वि.क.ले आफूहरुले यस कार्याशालाबाट धेरै उपयोगी ज्ञान तथा सीपहरु हाँसिल गरेको साथै आफूहरु र आफ्ना साथीहरुका मनमा यतिवेला उत्पन्न भएको तनाब व्यवस्थापन गर्न यस कार्याशालाले सहयोग पुर्याएकोले आयोजकलाई धन्यवाद ज्ञापन गरे ।  समारोहको अन्त्यमा अध्यक्ष दीपक श्रेष्ठले मन्तव्य राख्दै सहभागिहरुले यस कार्याशालामा सिकेको जीवन उपयोगी सीप सम्बन्धी ज्ञान र सीपलाई आफ्नो जीवनमा प्रयोग गरे पछि मात्र कार्याशाला अर्थपूर्ण भएको मानिने अभिव्यक्ति दिए । समापन समारोहको संचालन कार्याशालाकी सह—प्रशिक्षक तथा मनोविमर्श कर्ता प्रीति पाण्डेले गरेकी थिइन् ।

Post a Comment

 
Top