मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेकी पोखरा–२७ की कमला शेरचनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज पक्राउ गरेको छ । पोखरा–९ नागढुङ्गास्थित निरभाना रेष्टुरेन्टकी सञ्चालिकासमेत रहेकी शेरचनले चारजना युवतीलाई ललाइफकाइ रेष्टुरेन्ट तथा घर सफाइको काम गर्ने सर्तमा राखेकामा ती युवतीलाई जबर्जस्ती यौन धन्दामा लगाएको र यौन व्यवसाय गर्न नमानेमा डरत्रास र धम्की दिइ बाध्य बनाएको भनी पीडित चार युवतीले प्रहरीमा मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा छुट्टाछुट्टै जाहेरी दिएका थिए । प्रहरीले पीडित युवतीसँग घटनाका बारेमा जिल्ला अदालतबाट बयान प्रमाणित गरिसकेको छ । निज शेरचनलाई बुधबार जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । यसैबीच, भूकम्पपीडितका लागि राहत तथा पुनःस्थापनामा कार्यमा संलग्न युवालाई ज्यान मार्ने नियतले धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी फरार भएका तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । गत वैशाख १२ गतेको भूकम्पमा परी पीडित भएका व्यक्तिलाई राहतका लागि पोखरा–१२ सितलादेवीस्थित विद्यालय प्राङ्गणमा पाल टाँग्दै गरेका राज बस्नेत र नवीन सेनलाई हतियार प्रहार गरी निजहरू फरार भएका थिए । पक्राउ पर्नेमा पोखरा–११ पुरानोधारा बस्ने वर्ष २३ को ‘चस्मे’ भन्ने सुदिप तिमिल्सिना केसी, पाटनवेसी बस्ने वर्ष २३ को डम्मरबहादुर गुरुङ र पोखरा–१२ बस्ने वर्ष २३ का ‘गम्फू’ भन्ने दीपेन्द्र परियार भएको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment