0
नेपाल यतिबेला महाबिपत्तिमा छ । महाभूकम्पले ल्याएको महाबिपत्तिले मध्य नेपाल पुरै आक्रान्त छ भने यहाँका बासिन्दाले निकै ठूलो कष्टकर जीवन बिताइरहेका छन् । देशका सबै भू–भागमा भूकम्पले त्रास सिर्जना गरे पनि राजधानी र यसको आसपासका जिल्लाहरुमा ठूलो जनधनको क्षति भएको छ । छैटौं दिन बित्दा समेत कतिपय जिल्लाका गाउँहरुमा अहिलेसम्म उद्धार टोली पुग्न सकेको छैन । अहिलेसम्मको विवरण हेर्दा पनि निकै ठूलो क्षति भएको देखिन्छ भने अझै उद्धार हुन बाँकी ठाउँहरुको स्थिति बाहिर आउँदा भयाभव रुप नै देखिने छ । आठ दशकपछि आएको महाभूकम्पले निम्त्याएको महाबिपत्तिको सामना गर्न यतिबेला हरेक नागरिकले आफ्नो भूमिका र योगदानको खोजी गर्नुपर्ने बेला आएको छ । भूगोलका हिसाबले कुन क्षेत्र वा कुन जिल्लामा संकट आयो भन्ने प्राविधिक कुरा हो, मुख्य कुरा नेपालमा आएको संकटको सामाना गर्न हरेक नेपालीले योगदान गर्नुपर्छ । देशभित्र मात्र होइन विभिन्न मित्रराष्ट्रहरुबाट समेत सहयोग आउन शुरु भएको छ । यो मानवीयताको उच्च रुप हो । भारत, चीन, अमेरिका, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, जापान, डेनमार्कलगायत दर्जनभन्दा बढी मुलुकबाट राहत आइसकेको छ । कतिपय राष्ट्र प्रमुख नै आएर सहानुभूति व्यक्त गरिसकेका छन् भने केही देशका सांसदहरुले एक महिनाको तलब दिने घोषणा गरिसकेका छन् । अन्तर्रा्ष्ट्रिय समुदायबाट प्रकट भइरहेको यो सहानुभूतिको उच्च सम्मान गर्दै हरेक नेपालीले मैले मेरो देशका नगारिकका लागि के सहयोग गर्ने भन्ने भूमिकाको खोजी गर्न ढिलाइ गर्नु हुँदैन । अहिले भूकम्प पीडितहरुका लागि सहयोग संकलन पनि शुरु भएको छ । सरकारले सहयोगका लागि सार्वजनिक आह्वान गरिसकेको छ भने संघसंस्थाहरुले पनि आ–आफ्नो क्षेत्रमा सहयोग संकलन शुरु गरेका छन् । देशभित्र र बाहिर रहेका नेपालीहरुबाट स्वस्फूर्तरुपमा सहयोग उठ्ने क्रम पनि शुरु भएको छ । योसँगै कतिपय क्षेत्रमा विकृति पनि देखिन थालेका छन् । विशेषतः यातायात क्षेत्रमा ठूलो विकृति देखिन थालेको छ । राजधानीमा भूकम्पको खतरापछि ठूलो संख्यामा नागरिकहरु राजधानी छाड्ने तयारीमा छन् । यो बेलामा उनीहरुलाई कसरी सहजरुपमा गन्तव्यमा पु¥याउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने बेलामा कतिपय ठाउँमा तेब्बरसम्म भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । महाबिपत्तिको बेला मानवीय दायित्व बहन गर्दै कम भाडामा उद्धारमा जुट्नुपर्ने आवश्यकता हो । त्यसको उल्टो तेब्बर भाडा लिनु विकृति मात्र होइन घोर अपराध हो । त्यस्तै व्यवसायीहरुले पनि यो बेलामा कालोबजारी गर्ने गरेका खबर पनि आइरहेका छन् । एकातिर उपभोग्य वस्तुमा कालोबजारी गर्ने र अर्को्तिर गुणस्तरहीन सामान दिएर राहत दिएको प्रचारबाजी गर्ने खतरा पनि यो बेलामा रहन्छ । यो विकृति अन्त्य गर्दै मानवीय दायित्व बहन गरेर पीडितहरुको सहयोगमा सबै क्षेत्र र व्यक्तिहरु जुट्न आवश्यक छ । महाबिपत्ति परेको क्षेत्रमा उद्धार हुन नसक्दा लाशहरु सड्ने खतरा बढेको छ । जसले गर्दा भूकम्प प्रभावित क्षेत्रमा रोगको संक्रमण बढ्ने र महामारी फैलने खतरा अझ बढ्न सक्छ । राजधानीमै रोगको संक्रमण देखिन थालिसकेको छ भने अन्य गाउँहरुमा यो खतरा अझ बढ्न सक्छ । अब तत्काल उद्धार र राहतसँगै प्रभावित बस्तीहरुलाई सुरक्षित बनाउनेतिर सम्पूर्ण ध्यान केन्द्रित गर्नु आवश्यक छ । यसका लागि सरकारले त गर्नुपर्छ नै, सरकारको मात्र मुख ताकेर हुँदैन । निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य निकायहरुले यो बेलामा बढी योगदान गर्नुपर्ने आवश्यकता छ । मानवीय दायित्व भनौं वा सामाजिक उत्तरदायित्व जे भने पनि यो बेलामा निजी क्षेत्रले आफ्नो योगदान बढाउनुपर्छ । मुलकमा आएको संकट राज्यको मात्र होइन, हरेक नागरिकमाथि आएको संकट हो । त्यसो त नेपालीहरुमा सहयोगको भावना बढी नै छ । केही वर्षअघि इण्डोनेशियामा सुनामी आउँदा नेपालका गाउँगाउँमा सहयोग संकलन गरेर त्यहाँ पठाइएको थियो । त्यो मानवीय सेवाको उच्च भावना अहिले देशभित्रै देखाउनुपर्ने भएको छ । हरेक नागरिकले केही न केही सहयोग गर्ने र आफूले गरेको सहयोगको सदुपयोग भयो भएन भनेर चासो राख्ने हो भने संकट सामना गर्न ठूलो सहयोग पुग्नेछ ।

Post a Comment

 
Top