0
गोल्डेन न्यूज संवाददात
वैशाख १२ गते नेपालमा आएको महाविनाशकारी भुकम्पलाई बिर्सन नपाउँदै मंगलबार मध्यान्ह पुनः अर्को ठूलो भूकम्प गएको छ ।  मध्यान्ह १२ बजेर ५० मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका लोकविजय अधिकारीका अनुसार पहिलो धक्का गएपछि १ बजेर २१ मिनेटमा दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ६ दशमलव २ रेक्टर स्केलका अर्काे धक्का गएको थियो । अधिकारीका अनुसार १ बजेर ५८ मिनेटमा सिन्धुपाल्चोकलाई नै केन्द्र बिन्दु बनाएर ५ दशमलब ३ रेक्टर स्केलको धक्का गएको थियो । उनले यी तीनैवटा भूकम्पका धक्का पनि वैशाख १२ गते गएको भूकम्पको पराकम्पन भएको बताए । उनले भने,–‘वैशाख १२ गते भन्दा सानो भूकम्प गएको छ र यही क्षेत्रमा गइरहेकोले यसलाई पराकम्पन नै भनिन्छ ।’ अमेरिकी भूगर्भ अनुसनधान केन्द्र (युएसजिएस) ले भने १२ बजेर ५० मिनेटको धक्कालाई ७ दशमलब ३ मापन गरेको छ । देशका विभिन्न भागमा मंगलबार १२ः५२ बजे आएको बिनाशकारी भुकम्पमा परी हालसम्मको प्राप्त जानकारी अनुसार करिब ६० जनाको ज्यान गएको छ भने १ हजार ६ सय १५ जना घाइते भएको प्रहरीले जनाएको छ । भुकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ५, पूर्व क्षेत्रमा १, मध्य क्षेत्रमा ३४ र पश्चिम क्षेत्रमा १ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा ७०७, पूर्व क्षेत्रमा १८, मध्य क्षेत्रमा ३३३, पश्चिम क्षेत्रमा ४७ र मध्य पश्चिम क्षेत्रमा १० जना रहेका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । साथै भूकम्पबाट ५ पूर्णरुपमा र २ आंशिक रुपमा गरी जम्मा ७ भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल प्रहरीको विपद व्यवस्थापन समेतको संयुक्त टोली तत्काल काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खटिई उद्धार लगायतका कार्यमा जुटीरहेको छ । यता, मंगलबार गएको भूकम्पले स्याङ्जामा दुईजना गम्भीर घाइते भएका छन् । स्याङ्जाको वालिङबाट पोखरा जाँदै गरेको ट्याक्सीमा पुतलीबजार नगरपालिका ७ भालु पहाडको भीरबाट ढुँगा खसेर लागेपछि दुईजना गम्भीर घाइते भएका हुन् । घाइते हुनेहरुमा वालिङ नगरपालिका–८ बस्ने बर्ष ३६ का ख्यामप्रसाद काफ्ले र बर्ष २३ की अनु गिरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भालुपहाडको भीरबाट ढुंगा खसेपछि अर्का एकजना भाग्न सफल भएको प्रहरीले जनाएको छ । तर, ट्याक्सी नम्बर भने खुल्न सकेको छैन । ट्याक्सीमा ढुंगा खसिसकेपछि आगो निस्किएर ट्याक्सीसमेत जलेर एकै डल्लो भएको छ । घाइते भएकाहरुलाई पाल्पा अस्पतालमा लगिएको छ । भूकम्पका कारण स्याङ्जाको जनजीवन प्रभावित बनेको छ । भालुपहाडमा बाटो रोकिएपछि यातायात सेवा ठप्प छ ।  यसैबीच शिक्षा मन्त्रायले जेठ १५ गतेसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको छ । महाभूकम्पपछि मंगलबार फेरि पनि शक्तिशाली भूकम्प गएपछि तत्काल जेठ १ गतेबाट विद्यालय सुचारु हुन नसक्ने भन्दै उक्त निर्णय गरेको हो । ‘पटक पटकको भूकम्पले आम मानिसलाई त्रसित तुल्यारहेको छ,’ मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थीले भने, ‘त्यसैले जेठ १५ सम्म विद्यालय बन्द रहने निर्णय भएको छ । अन्य विदाहरु मिलान गरेर पठनपाठन गर्नुपर्नेछ ।’यही वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । नयाँ सत्र सुरु भएसँगै कतिपय निजी विद्यालयले भर्ना र पठनपाठन सुरु गरेका थिए भने सामुदायिक विद्यालयमा भर्ना अभियान जारी छ । तर, वैशाख १२ गते गएको महाभूकम्पले १४ जिल्लाको अधिकांश विद्यालय भवन संरचना ध्वस्त प्रायःछन् । ति विद्यालयहरुको पुनः निर्माण हुन नसकेसम्म अस्थायी कक्षा कोठा (अस्थायी सिकाई केन्द्र रटिएलसी) निर्माण गर्न शिक्षा विभागले आर्थिक अनुदान उपलब्ध गराउने निर्णय गरिसकेको छ । यता, नेपाली काँग्रेस संसदीय दलको बुधबारको बैठकमा भूकम्पपछि सिर्जना भएको विषम परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केन्द्रित रहेर सदस्यहरूले धारणा राखेका छन् ।  संविधानसभा भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा भूकम्पपीडितलाई राहत वितरण गर्ने सन्दर्भमा भएका कमीकमजोरीलाई सुधार गरेर लैजान आवश्यक रहेकामा सदस्यहरूले जोड दिएका थिए । बैठकपछि पार्टीका उपसभापति रामचन्द्र पौडेलले भूकम्पको मारमा परेको दुर्गम गाउँबस्तीका जनताले अझै पनि राहत पाउन नसकेको सन्दर्भमा राहत सन्तुलित ढङ्गले वितरण गरिनुपर्ने विषयमा छलफल भएको जानकारी दिए । उनले भने–“पुनः निर्माणलाई योजनाबद्ध तरिकाले प्रभावकारी तुल्याउनुपर्छ भनेर सबै पक्षबाट जोड दिइएको छ ।” सांसद यज्ञबहादुर थापाले भूकम्पबाट भएको धनजनको क्षतिको मूल्याङ्कन गर्दै विपद् व्यवस्थापनमा देखिएका कमी–कमजोरी र सुधार गर्नुपर्ने पक्ष तथा त्यसबाट सिर्जित समस्यालाई कसरी सम्बोधन गर्ने भन्नेमा सदस्यहरूको भनाइ आएको बताए । मंगलबारको भूकम्पमा परेर कास्कीमा १० जना घाइते भएका छन् भने १ जना बेहोस भएका छन् । पोखरा ६ लेकसाईड बस्ने २४ वर्षीय दीपक सुनार, पोखरा सिर्जनाचोकका २६ वर्षीय रविन शेरचन, चिप्लेढुंगाकी ४१ वर्षीया यशोदा पराजुली, नयाँगाउँका ५७ वर्षीय हरिदेबी छन्त्याल घाइते भएका छन् । सुनार घरको २ तला माथिबाट हामफाल्दा घाइते भएका हुन् । उनको बायाँ खुट्टाको नली खुट्टामा चोट लागेको छ । शेरचन र पराजुलीको भूकम्प आइरहेको समयमा भाग्ने क्रममा खुट्टामा चोट लागेको छ । पोखरा ६ लेकसाईडका ३८ वर्षीय राजु थापा आफू बसेको घरको एकतला माथिबाट हामफाल्दा घाइते भएका छन् । उनको दाहिने खुट्टामा चोट लागेको छ । त्यस्तै, पोखरा रामघाटकी १४ वर्षीया तिर्सना तिवारी घाइते भएकी छन् । अमरसिंह उच्च माविमा अध्ययनरत उनी कक्षा कोठाबाट भाग्ने क्रममा लडेर घाइते भएकी हुन् । भूकम्प आइरहेको समयमा भाग्ने क्रममा भर्रुयाङबाट लडेकी पोखरा सिर्जनाचोककी कमला जोशीको बायाँ खुट्टामा चोट लागेको छ । यसैगरी पोखरा छोरेपाटनका २४ वर्षीय सन्दीप सुवेदी पनि घाइते भएका छन् । उनी ओम एकेडेमीका शिक्षक हुन् । भूकम्प आएको समयमा विद्यार्थीलाई संहाल्न जाँदा उनको दायाँ खुट्टा चोट लागेको छ । घरको छाना भत्किँदा जस्तापाताले काटेर पोखरा गलेश्वरचोककी २९ वर्षीया दिलमाया सुनार घाइते भएकी छन् । उनलाई दाहिने हातको नाडीमा चोट लागेको छ । लेखनाथ १८ भरतपोखरीका २२ वर्षीया चेतना आचार्य पनि घाइते भएकी छन् । पोखरा विश्वविद्यालयमा अध्ययनरत उनी भाग्ने क्रममा लडेर घाइते भएकी हुन् । बाहिरी चोट नदेखिए पनि उनको छातीमा असर परेको बताइएको छ । यसैबीच, मंगलबार दिउँसो गएको भूकम्पले एकजना बेहोस भएकी छन् । दोलखा घर भइ पोखरा ५ मालेपाटन बस्ने ३६ वर्षीया शान्ता जिरेल बेहोस भएकी हुन् । दोलखा माइती भएकी उनको आमा भूकम्पमा परेर गम्भीर घाइते भएको खबर आएपछि उनी बेहोस् भएकी हुन् । घाइतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज र मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ६ घर भत्किए, १ विद्यालयमा क्षति ः मंगलबारको भूकम्पले कास्कीमा ६ घर भत्किएका छन् । यही वैशाख १२ गतेको भूकम्पले कमजोर भएका ६ घरहरु मंगलबारको भूकम्पले भत्काएको हो । भूकम्पले कालिका गाविसका रुकबिना सुवेदी र गंगाप्रसाद अधिकारीको घर भत्किएर क्षति पुगेको हिमालय प्राविका प्रधानाध्यापक चिरञ्जिवी पौडलले जानकारी दिए । त्यस्तै, भूकम्पले लेखनाथ ११ पचभैयामा पूर्णकान्त अधिकारी र भिमबहादुर गुरुङका २ घर तथा लेखनाथ १२ खुदीमा बेदनाथ कँुवरको घर भत्किएका छन् । कास्कीको पार्चे गाविस १ खिलाङकी खुमाया गुरुङ, तार्काङ गाविसको थुमाकोडाँडास्थित ध्रुव उच्चमाविको भवनमा पनि आंशिक क्षति पुगेको स्थानीयले जनाएका छन् ।सेती नदीमा पहिरो ः भूकम्पका कारण पोखरास्थित सेती नदीमा पहिरो गएको छ । पृथ्वीनारायण क्याम्पसको उत्तर पूर्व पट्टीको डिलमा पहिरो खसेको हो । पहिरो खसेपनि पानीको बहाव भने रोकिएको छैन । अहिले खासै केही समस्या नभए पनि साँघुरो भागमा पहिरो खसेकोले भविश्यमा त्यसले खतरा निम्त्याउने सक्ने स्थानीय बताउँछन् ।

Post a Comment

 
Top