0
नेपालमा आएको महाभुकम्पमा परि पीडित हुनेहरुको सहयोगका लागि विभिन्न मुलुकमा रहेका नेपालीहरुले सहयोग संकलन गर्नेक्रम जारी छ । यसैक्रममा जापानमा रहेका नेपालीहरुको संस्था नेपाली जनसम्पर्क समितिले टोकियो तथा आसपासमा आर्थिक सहयोग संकलन गरेका छन् । जनसम्पर्क समितिका महासचिव राजेन्द्र जमरकट्टेलले दिएको जानकारी अनुसार समितिका विभिन्न पदाधिकारी एवं सदस्यहरुको संयोजकत्वमा विभिन्न स्थानमा गरिएको सहयोग संकलन अभियानबाट करिब ४० लाख रुपैयाँ संकलन भएको छ । संकलित रकम मध्ये केही प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र केही रकम भुकम्प पीडितहरुलाई सिधै हस्तान्तरण गर्ने बताइएको छ । अझै केही दिन सहयोग संकलन अभियान जारी रहने भएकोले उत्तः रकममा वृद्धि हुने जमरकट्टेलले बताए । यसैगरी जापानको नागोया र टोयटा क्षेत्रमा रहेका नेपाली महिलाहरुले  स्थापना गरेको संस्था सगरमाथा महिला समूहले समेत सहयोग संकलन अभियान संचालन गरिरहेको छ । नेपालमा भुकम्प पीडितहरुलाई सम्भव भएसम्म सहयोग गर्ने उद्देश्यले अभियान संचालन गरिएको समूहकी अध्यक्ष राधा थापाले जानकारी दिइन ।

Post a Comment

 
Top