0
गोल्डेन न्यूज संवाददाता
नेपालमा विनाशकारी महाभूकम्प आएको १ महिना पुगेको सन्दर्भमा नेपाल महिलासंघ कास्कीले पोखरामा दीप प्रज्वलन गरेको छ । त्यस अवसरमा भूकम्पमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । नेपाली कांग्रेसको भातृ संस्था महिला संघले भूकम्प आएकै समय पारेर मध्यान्ह ११ः५६ मा चिप्लेढुङ्गा स्थित विपिको शालिक परिसरमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्यद्वय जीवन परियार र गोविन्द भट्टराई, कास्की कांग्रेसका सभापति एवं सभासद यज्ञबहादुर थापा, पूर्व सभापति शुक्रराज शर्मा, शोभियतबहादुर अधिकारी, सभासदहरु शारदा पौडेल, वृन्दा रानाका साथै कांग्रेस नेताहरु खेमराज पौडेल, देवराज चालिसे लगायत नेता कार्यकर्ता सहभागी थिए । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै महिला संघ कास्कीकी सचिव सीता गुरुङले मुलुकमा आएको दैवी विपत्तिलाई सामना गर्न सबै एक हुनुपर्ने खाँचो औंल्याएकी थिइन भने धन्यवाद ज्ञापन गर्दै संघकी अध्यक्ष कोपिला रानाभाटले दुःखमा परेका बेला सबैको सहयोग आवश्यक हुने बताइन । यसैगरी नेपाल महिला संघ क्षेत्र नं–३, कास्कीले पोखरा उपमहानगर पालिका वडा नं २४ कृस्तीमा हालसम्म राहत नपुगेका भूकम्पपीडितहरुलाई राहत वितरण गरेको छ । नेपाल महिला संघ क्षेत्र नं ३ की सभापति शारदा गिरीको अगुवाईमा राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य विजय आचार्य, उमा ठकुरी, नेपाली कांग्रेस इकाई सभापति टेकन गिरि, नेपाली कांग्रेस क्षेत्रीय सदस्य दुर्गा थापा, सक्रिय सदस्य खेमराज गिरि, लक्ष्मण गिरी र विष्णु चौधरी सहभागी थिए । साथै सो कार्यक्रममा आमा प्रा.वि छोर्दी र धुवारकोट प्राविमा अनुगमन गरि विद्यार्थीहरुलाई खाजा समेत वितरण गरिएको थियो ।

Post a Comment

 
Top