0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेर खेलकूद विधामा कलम चलाउँदै आएका ४० पत्रकारलाई थप दक्ष बनाउने उद्देश्यले आयोजित खेलकुद पत्रकारिता तालिम मंगलबारबाट शुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीद्वारा आयोजित तालिम तीन दिनसम्म चल्नेछ । तालिमको उद्घाटन गर्दै पोखरा उप–महानरपालिका कार्यालयका कार्यकारी अधिकृत उदयबहादुर राना मगरले तालिम पछि पत्रकारले थप ज्ञान प्राप्त गर्ने हुँदा दक्षता अभिवृद्धि हुने बताए । धेरै विषयमा पत्रकारले लेख्नुपर्ने हुन्छ तर सम्बन्धित विषयमा गहिरो ज्ञान भयो भने पत्रकारको लेखाईले सबै दर्शक श्रोतालाई थप जानकारी प्राप्त हुने उनले विश्वास व्यक्त गरे  । आफूले तालिमले पत्रकारको क्षमता बढाउने भएकाले तालिम फलदायी बन्ने उनले बताए । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुयाँललेपत्रकारहरुलाई खेलको प्राविधिक ज्ञानमात्र महत्वपूर्ण नहुने भएकाले खेलबारे सही सूचना प्रवाह गर्न आवश्यक हुने बताए । अहिलेको पुस्ता खेलबारे धेरै बुझ्ने भईसकेकाले पत्रकारले नजानेर समेत गल्ती लेख्न छुट नहुने बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष दीपक कोईरालाले पोखराको खेलकूद गतिविधि यो अवस्थासम्म आउनुमा पोखराका मिडिया, पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै कार्यकालको अन्तिम समयतिर आईपुग्दा खेलकूद क्रियाकलापलाई अघि बढाउन आफूहरु सफल भएको बताए । नेपाल क्रिकेट संघ (क्यान) को कार्यवाहक अध्यक्षमा नियुक्त भएकोमा उनलाई सो अवसरममा मञ्चले सम्मान समेत गरेको थियो । कास्की जिल्ला खेलकूद विकास समितिका अध्यक्ष सुमन देवकोटाले कास्कीको खेलकुदलाई अघि बढाउन आफू सधैं लागिपरेको उल्लेख गर्दै सबैको साथ सहयोगले नै यो उपलब्धी हाँसिल भएको बताए । उनले कास्कीको खेलकुदलाई अघि बढाउन पत्रकारहरु र आम पोखरेलीको सहयोग अपरिहार्य भएको स्पष्ट पारे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले कास्कीका पत्रकारहरु खेल पत्रकारितामा कमजोर नभएपनि तालिमले प्राविधिक ज्ञान हासिल हुने भएकाले तालिम आयोजना गरेकोमा मञ्चलाई धन्यवाद दिए । उनले पत्रकारहरुलाई तालिमबाट भरपुर फाईदा लिन समेत अनुरोध गरे । मञ्चका अध्यक्ष प्रेमनारायण न्यौपानेको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा उपाध्यक्ष सन्देश श्रेष्ठले स्वागत तथा सचिव दिननाथ बरालले संचालन गरेका थिए । तालिमको पहिलो दिन मंगलबार मञ्चका केन्द्रीय तालिम विभाग प्रमुख पवन आचार्यले खेलकूद पत्रकारिता र अन्य विषयका पत्रकारिताबीचको भिन्नता तथा मञ्चका अध्यक्ष अजय फुयाँलले फुटबल सम्बन्धी पत्रकारिता गर्ने विषयमा सहजीकरण गरेका थिए । दोस्रो दिन बुधबार गल्फ र भलिबल खेलका बारेमा प्रशिक्षण दिईने तालिम संयोजक सन्देश श्रेष्ठले जानकारी दिए । गल्फ खेलबारेमा महेश आचार्य, क्रिकेट खेल विषयमा देवेन्द्र सुवेदी तथा भलिबल खेल विषयमा डिबि नेपालीले सहजीकरण गर्नेछन् । कास्की जिल्ला खेलकुद विकास समिति, पोखरा उप–महानगरपालिका कार्यालय र सहारा क्लब पोखराको सहयोगमा तालिम संचालन भएको हो ।
यसैबीच, तालिम उद्घाटन अवसरमा गत वैशाख १२ गते गएको विनासकारी भूकम्पबाट ज्यान गुमाएका खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष सुमन भोम्जन र वरिष्ठ भलिबल प्रशिक्षक केशवलाल श्रेष्ठको परिवारका लागि राहत रकम पनि हस्तान्तरण गरिएको थियो । सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले क्लबका तर्फबाट पत्रकार भोम्जनको परिवारका लागि मञ्चले स्थापना गरेको सुमन भोम्जन सहयोग कोषमा १५ हजार ५ सय ५५ रुपैंया अध्यक्ष फुयाँललाई हस्तान्तरण गरेका थिए । यस्तै, राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ, भलिबल खेलाडीहरु मञ्जु गुरुङ, सिपोरा गुरुङ र परीक्षा गुरुङले भोम्जन परिवारका लागि ३० हजार र श्रेष्ठ परिवारका लागि ३० हजार रुपैंया फुयाँल मार्फत प्रदान गरे । सिपोरा अभिनित फिल्म याम्फावती निर्माता थुम्रो ईन्टरनेशनलले पनि पत्रकार भोम्जनको परिवारलाई ११ हजार १ सय ११ रुपैंया प्रदान गरेको छ ।

Post a Comment

 
Top