0
गोल्डेन न्यूज संवाददाता
वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पबाट व्यापक धनजन क्षति भएपछि उद्धार तथा राहतका लागि स्वदेश एवम् विदेशका विभिन्न संघ संस्था तथा व्यक्तिहरुवाट जिन्सी तथा नगद सहयोग जुट्ने क्रम जारी रहेको छ । यसै क्रममा पोखरा १६ स्थित वातावरण सम्वन्धि काम गर्ने संस्था वातावरण संरक्षण क्लव सम्वद्ध सदस्यहरुले गरेको संकलित राहत जिन्सी सामग्री काभ्रे जिल्लाको कुशादेवी गाउं विकास समिति  वार्ड नं ३ मा लगेर वितरण गरिएको उक्त क्लवका अध्यक्ष कमल शर्माले बताए । क्लवले चामल ३६ वोरा, वटा ३६ प्याकेट, वाल्ङ्केट ३६ थान, मच्छड धुप, दाल, मसला, सावुन, बिस्कुट वितरण गरेको थियो । सोही स्थानका जेष्ठ नागरिक, अशक्त एकल महिला गरि १६ जनालाई १६ सेट लत्ता कपडा प्रदान गरिएको क्लवका सचिव अमृत शर्माले बताए । भूकम्प पीडितलाई स्थलगत रुपमै पुगेर राहत उपलव्ध गराउन क्लवले २२ जना युवाहरुलाई परिचालन गराएको जनाएको छ । वडा नं १६ वाटुलेचौरमा क्रियाशील वडहरबोट टोल सुधार समितिका अध्यक्ष पुष्पराज तिमल्सिना वडहरवोट आमा समूहकी अध्यक्ष लक्ष्मी शर्मा, रेडक्रस १६ नं. इकाइका अध्यक्ष वसन्त तिमल्सिना लगायतका अग्रजहरुको सहभागिता रहेको थियो । राहत सहयोग जुटाउन सहयोग पु¥याएको भन्दै वडहरवोटका जगन्नाथ तिमल्सिना, प्रकाश तिमल्सिना, पं. टेकनाथ शर्मा अस्ट्रेलियाका सन्तोष तिमल्सिना, भगवान पौडेल, अमेरिकावाट रमेश शर्मा र सुयोग इम्पोरियम पोखराका रामकृष्ण अधिकारीलाई वातावरण संरक्षण क्लवले धन्यवाद व्यक्त गरेको छ । यसैगरी भूकम्पबाट ध्वस्त भएको दोलखाका पीडितका लागि पोखरेलीले राहत वितरण गरेका छन् । भूकम्पपछि जिल्लाका ९८ प्रतिशत घर ध्वस्त भएकोले केहि सहयोग गर्न पोखरेली टोली त्यहाँ पुगेका हुन् । यहाँबाट गएको टोली आइतवार राहत दिएर फिर्ता भएको हो । कामको सिलसिलामा पोखरा आएर बसेका दोलखेलीको सक्रियतामा संकलित सामग्री दोलखाको किरातीछाप र जिरीमा पु¥याइएको थियो । यहाँबाट लगेको सामान सदरमुकाम चरिकोटस्थित सेनाको बर्दबहादुर गणमा सामग्री दर्ता गरेर वितरणका लागि लगिएको बाम्बो क्याटरिङका संचालक बालकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार १ सय ५० घर परिवारलाई त्रिपाल, कम्बल, म्याट्रिस लगायत खाद्यन्नको सेट सामग्री रहेको थियो । ती सामाग्रीहरु पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघ, पुल्चोक टोल विकास संस्था पोखरा १७, सत्यम आमा समूह पोखरा १७, सिमलटुंडा आमा समूह, शान्तिपथ टोलविकास संस्था, सयपत्री ऋण तथा बचत सहकारी संस्था, पोखरा उद्योग वाणिज्य संघ, एस हेल्पिङ  हेण्ड्स, बाबा फाउन्डेसन, भूकम्प राहत पर्यटन विकास समितिको सहयोगमा संकलन गरिएको थियो । यसैगरी, पश्चिमाञ्चल होटेल संघ, आर्ट अफ लिभिङ पोखरा, मुनाल स्टोर्स, पोखरा औद्योगिक क्षेत्र, कर्माचार्य ग्रुप, उपरथी ताराबहादुर कार्की, पत्रकार ईश्वरी न्यौपाने, धनबहादुर मल्ल, पूर्णबहादुर ताम्राकार, वोधराज कार्की, होटेल बाराही, पोखरा फुड्स प्रालि, बाम्बो क्याटरिङ, यशोदा श्रेष्ठ र हरि गुरुङबाट नगद तथा जिन्सी सामान प्राप्त भएको श्रेष्ठले जानकारी दिए । थप राहत संकलन गरी दोश्रो पटक पनि जाने योजना रहेको श्रेष्ठले बताए । यसैगरी गत बैशाख १२ र २९ गतेको भूकम्पबाट पीडित नेपालीहरुलाई राहत र सहयोग विभिन्न ठाउँबाट आइरहेको छ । देशभित्र नै विभिन्न संघसस्थाले रकम संकलन गरेर सहयोग गरेका छन् । जसरी नेपालीहरुले पीडितलाई सहयोग गरेका छन् विदेशी संघ–संस्थाले पनि भुकम्प पीडितलाई सहयोग गरिरहेका छन् । यसैबीच विदेशमा रहेका नेपालीहरुले पनि भूकम्प पीडितहरुलाई त्यतिकै सहयोग गरिरहेका छन् । यसै क्रममा बेल्जियमको जुइडेरटेरस रेष्टुरेण्टमा काम गर्ने नेपाली तथा विदेशीहरुले स्वेक्षिक रुपमा रकम संकलन गरी पहिलो चरणमा काभ्रे र ज्याग्दीमा ३०÷३० थान त्रिपाल वितरण गरे भने दोश्रो चरणमा इनरह्वील क्लब अफ न्यूरोड पोखरालाई खाद्यन्न वितरणको लागि ५० हजार हस्तान्तरण गरेको बेल्जियमबाट राहत संकलन कार्यक्रमका संयोजक निर्माण कुमार जोशीले जानकारी दिए । सो रकम इनरह्वील क्लब अफ न्यूरोड पोखराले तनहुँको ढोरफिर्दी, लामागाउँ, लिलाचोक लगायतका ठाउँमा लगेर वितरण गरेको इनरह्वील क्लब अफ न्यूरोड पोखराका अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिए । यसैगरी लेखनाथ उद्योग वाणिज्य संघद्वारा लेखनाथ नगरपालिका वडा नं १८, चवादीका भूकम्प पीडितहरुका लागि राहत स्वरुप त्रिपाल वितरण सोमबार सम्पन्न भयो । बैैशाख १२ गते गएको महाभूकम्पबाट पूर्णरुपमा घर क्षति भएका ५८ परिवारलाई उक्त राहत सामाग्री वितरण गरिएको हो । टोलीले क्षति भएको स्थानका भूकम्प पीडित परिवारलाई सान्त्वना तथा राहत हस्तान्तरण गरेको हो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, नेपाली कांग्रेस नगर सभापति राजेन्द्रमणि लामिछाने, ने.क.पा.एमाले नगर अध्यक्ष मोहन बहादुर गुरुङ, ए.ने.क.पा.माओवादी नगर अध्यक्ष विनय थापा, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, उपमाहसचिव भरतकुमार अधिकारी, हंशपुर ईलाका प्रहरी कार्यालयका ईन्चार्ज गंगाबहादुर थापा लगायतका व्यक्तिहरुले राहत स्वरुप त्रिपाल हस्तान्तरण गरेका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीले लेखनाथ १८ चवादीकै बढि पीडित सेती खत्रीलाई नगद दुई हजार साथै लेखनाथ नगरपालिका का ईन्जिनियर जगन्नाथ कोईरालाले नन्दीकुमारी खत्री नगद रु. दुई हजार व्यक्तिगत रुपमा हस्तान्तरण गरेका थिए । यसैगरी पोखरा उपमहानगर पालिका वडा नं. ५ पस्र्याङस्थित विभिन्न टोल विकास संस्था र आमा समूहले संयुक्त रुपमा भूकम्प बाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै शनिबार साँझ स्वस्ती वाचन, भजनकीर्तन सहित दीप प्रज्वलन ग¥यो । स्थानीय चिल्ड्रेन पार्कमा आयोजित कार्यक्रममा शिवालय, धारापानी, राधाकृष्ण, रातामाटा, लक्ष्मीनारायण र धर्मस्थली टोल विकास समितिका साथै धर्मस्थली आमा समूहका सदस्यहरु सहभागी थिए । स्थानीय ८० वर्षीय वृद्धा शान्ति कोइरालाले दीप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा कार्यक्रम संयोजक शुभद्रा कोइराला, शिक्षासेवी हेरम्व प्रसाद कोइराला, भोलानाथ पराजुली, पस्र्याङ युवा क्लवका अध्यक्ष सन्तोष मानन्धरले पनि बोलेका थिए । स्थानीय स्तरमा करिब २ लाख रुपैयाँ संकलन गरि दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने प्रयास भइरहेको कार्यक्रम संयोजक कोइरालाले जानकारी दिइन । यसैगरी नेपाल महिला संघकी केन्द्रीय सदस्य शारदा देवी बास्तोलाले भूकम्प पीडित मनिपाल हस्पिटलमा उपचारारत विरामी तथा कुरुवालाई खाना खुवाएकी छिन् । सोमबार हस्पिटलमा रहेका पीडित र कुरुवा ७६ जनालाई खाना खुवाएको दैवि प्रकोप उद्धार समितिबाट मनिपालमा खटिएका कर्मचारी महेन्द्र रेग्मीले जानकारी दिए । फूलबारी निवासी समाजसेवी बास्तोलाले आफ्नो ब्यक्तिगत तर्फबाट सोमबार वेलुकाको खाना खुवाएकी थिइन् । गोरखा, धादिङ, नुवाकोट, पर्वत, बाग्लुङ लगाएतका विरामीहरु रहेको उक्त हस्पिटलमा रहेका पीडितलाई लक्ष्मी देवी सिग्देल, बेलमायाँ पराजुली, रेशमलाल पौडेल, मुगादेवी बास्तोला, शुसिला बास्तोला, गंगा गुरुङ लगायतको टोलीले चिया, विस्कुट संगै खाना खुवाएका हुन् । सोमबार बुद्धटोल आमा समूह, वडा महिला समन्वय समिति १२, बुद्धटोल आमा समूहले प्रविधिक सहयोग गरेका थिए । उक्त क्षेत्रमा रहेका भूकम्प पीडितलाई भृकटी आमा समूहको समेत सहयोग रहेको थियो । हस्पिटलमा रहेका पीडित मध्ये ७७ जना घर फर्केका छन् भने १ जनाको मृत्यु भएको र ४ जना रिफर गरिएको हस्पिटलमा रहेका महेन्द्र रेग्मीले जानकारी दिए ।यसैगरी टोल विकास संस्था समन्वय समिति, पोखरा–१५ ले भूकम्प पीडितहरूको सहयोगार्थ राहत रकमहस्तान्तरण गरेको छ । सोमबार आयोजित कार्यक्रमका बीच समितिले नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई राहत रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा समितिका अध्यक्ष प्रकाश पौडेलले नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति वामदेव ढुङ्गानालाई २ लाख ८७ हजार  सय ३८ रुपैयाँ राहत रकम हस्तान्तरण गर्नुभएको हो । साथै, सो अवसरमा जनजागृति युवा क्लबले १३ हजार ५ सय रुपैयाँ बराबरको खाद्य सामग्री समेत हस्तान्तरण गरेको थियो । राहत रकम हस्तान्तरण कार्यक्रममा बोल्दै रेडक्रस कास्कीका सभापति ढुङ्गानाले रेडक्रस दुःख सुखको साथी भएको बताए । रेडक्रसलाई सबैले विश्वास गरेको बताउँदै ढुङ्गानाले राष्ट्रलाई विपत् परेका बेला सबैको सहयोगले पीडा कम गर्न सघाउ पुग्ने बताए । कार्यक्रममा वडा सचिव सोमनाथ लम्साल, जनजागृति युवा क्लबका धनबहादुर गुरुङ, लक्ष्मी टोल विकास संस्थाका अध्यक्ष सु. हरिमान तामाङ, तल्लो नयाँ गाउँ टोल विकास संस्थाका उपाध्यक्ष विष्णुदेवी आचार्य, नेपाल रेडक्रस सोसाइटी वडा उपशाखाका सभापति कमलप्रसाद पौडेल, जनजागृति आमा समूहका कोषाध्यक्ष अनिता श्रेष्ठ, पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक लालबहादुर थापालगायतले विपत्ति परेका बेलामा सबै एक भएर सहयोग र राहतका लागि जुट्नुपर्ने बताएका थिए । टोल विकास संस्था समन्वय समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव गणेश बराइलीले गरेका थिए भने तल्लो नयाँ गाउँ टोल विकास संस्थाका अध्यक्ष क्या. नरेश थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Post a Comment

 
Top