0

मकवानपुर र डडेलधुरामा सोमबार भएका दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ३ रमनटारमा सोमबार अपरान्ह अनियन्त्रित भएर पल्टिएको बसलाई ट्रकले ठक्कर दिंदा ९ को मृत्यु भएको हो । बसमा सवार २५ घाइते छन् । घाइतेको चितवनस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये ५ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा चितवन वीरेन्द्रनगरका ५० वर्षीय योखा गुरुङ, भारत चम्पारणका ३० वर्षीय असलम मियाँ र नवलपरासी देवचुलीका २६ वर्षीय मिसल गुरुङको मृत्यु भएको छ । बाँकीको राति अबेरसम्म सनाखत हुन सकेको छैन । घटनास्थलमा ६ र उपचार क्रममा ३ को मृत्यु भएको इप्रका मनहरीका निरीक्षक मोहन अधिकारीले बताए । मृतकमध्ये ४ को शव हेटौंडा अस्पतालमा राखिएको छ । बाँकीको शव भरतपुरस्थित पुरानो र नयाँ मेडिकल कलेजमा राखिएको छ । मृतकमध्ये ४ महिला र ५ पुरुष रहेका छन् । वीरगन्जवाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ३६९६ नम्वरको बस ‘ओभरटेक’ गर्ने क्रममा पल्टिएको थियो । त्यसलाई नारायणघाटबाट ढुंगा बोकेर हेटौंडा आइरहेको ना४ख ५७६५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । नारायणघाटतर्फ जादै गरेको अगाडिको बसलाई उछिन्ने क्रममा बसको पछाडिको फलामको पट्टा भाँचिएर दाहिनेतर्फ पल्टिंदा ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शी हरिशचन्द्र शाहले वताए । मोडमा ’ओभरटेक’ गर्न खोज्दा बसको पट्टा भाँचिएको प्रहरीको दावी छ । महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको महाकाली यातायातको ना ५ ख १६८५  नम्बर यात्रुबाहक बस धनगढी–डडेलधुरा राजमार्गमा पर्ने गांखेत गाविस ८ गैरा सडक खण्डको मेलखर्क नजिक सोमवार साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरुष र ३ महिला छन् । ३६ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा लगिएको छ । बस सडकबाट करिब डेढ सय मिटर तल खसेको छ । अहिले सम्म ७ जनाको मृत्यु भएको खबर प्राप्त भएको डडेल्धुराका प्रहरी प्रमुख डिएसपि योगेन्द्रबहादुर थापाले बताए । दुर्घटनामा मृत्यु भएका मध्ये ४ जनाको मात्र सनाखत भएको घटनास्थल पुगेका प्रहरीले जनाएकोछ । मृत्यु हुनेमा डडेलधुरा जोगबुडाकी राजमती धामी, डडेलधुरा गांखेत गाविस ८ का डम्वर बिक, अपि नगरपालिका ६ दार्चुलाकी परुली धामी र ठेगाना नखुलेका महादेव भट्ट रहेका छन । दुर्घटनाको कारण खुल्न सकेको छैन ।  प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ

Post a Comment

 
Top