0
गोल्डेन न्यूज संवाददाता
विनाशकारी भूकम्पको ठूलो पीडा भोगेको मुलुक हाइटीले नेपालमा आएको भूकम्पबाट पीडितहरुलाई सहयोग गर्न १० करोड रुपैयाँ पठाउने भएको छ । अन्तर्राष्ट्रिय रेडक्रसमार्फत हाइटीले आफ्ना नागरिक तथा विभिन्न् संघसंस्था र सरकारको तर्फबाट संकलित रकम नेपाल पठाउने भएको बताइएको छ । हाइटीका राट्रपति माइकल जोसेफ मार्टेलिले नेपालमा भूकम्पले पु¥याएको क्षति प्रति दुःख व्यक्त गर्दै हाइटीको तर्फबाट उक्त रकम सहयोग स्वरुप नेपाल पठाइने जानकारी स्थानीय पत्रकारहरुसंग गराएका थिए । राष्ट्रपति मार्टेलिका संचार सहयोगी शान्तिराज पौडेलले गोल्डेन न्यूज दैनिकलाई प्रेसित गरेको समाचारमा जनाइएअनुसार नेपालमा भूकम्प आएपछि हाइटीका जनता र सरकार दुःखी बनेको र सहयोगका लागि प्रयास गरेको भन्दै राष्ट्रपतिले हाइटी र नेपाल आर्थिक रुपमा कमजोर मुलुक रहेको स्पष्ट पारेका थिए । दुवै मुुलुक गरिब छन् त्यसैले एकले अर्कोको पीडा बुझ्नुपर्छ भन्दै उनले दुःखका बेला सहयोग गर्न सके मानवता झल्किने स्पष्ट पारे । हाइटीमा ५ वर्ष अघि गएको महाभूकम्पमा परि ३ लाख बढीको मृत्यु भएको र ५ लाख बढी विस्थापित भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति जोसेफ मार्टेलिले त्यसबेला नेपाली सेनाले हाइटीका भूकम्प पीडितको उद्धार र राहतका लागि गरेको कार्यको सरहाना गरे । हाइटीमा गृहयुद्ध चर्किएपछि नेपाल लगायत ३० बढी मुलुकका सेना संयुक्त राष्ट्र संघीय शान्ति सेना अन्तर्गत त्यहाँ कार्यरत छन् । त्यसै बेला भूकम्पले ठूलो क्षति पुर्याएपछि नेपाली सेनाले हाइटीका नागरिकको उद्धारका लागि सहयोग  गरेको थियो ।

Post a Comment

 
Top