0
मानव इतिहासको शुरुवातदेखि नै मानिसले सबैभन्दा ठूलो संघर्ष प्रकृतिसँग गर्नुपरेको छ । भौतिक विकासका हिसाबले मानव समुदाय धेरै अगाडि पुगे पनि भिन्नरुपमा प्रकृतिसँगको संघर्ष जारी छ । बेला–बेलामा आउने प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति व्यहोर्नु परिरहेको छ । नेपालमा अझ प्राकृतिक प्रकोपको ठूलो जोखिम रहेको छ । मौसमअनुसार जोखिमका प्रकृति फेरिए पनि जोखिमका कारण धेरै जनधनको क्षति हुने गरेको छ । हरेक वर्षको मौसमी विपतका अलावा यो वर्ष गएको महाभूकम्पका कारण देश पूरै प्रभावित भएको छ । त्यसका अलावा मौसमी विपतका खतराहरु पनि सिर्जना हुन थालिसकेका छन् । वर्षायाममा बाढी पहिरो र गर्मी याममा आगलागीले ठूलो जनधनको क्षति हुने गरेको छ । यो वर्ष पनि गर्मी याम शुरु भएसँगै आगलागीका घटना शुरु हुन थालिसकेका छन् । जंगल क्षेत्रमा लाग्ने डढेलो होस् या वस्तीमा हुने आगलागी खतराका संकेतहरु देखिन थालिसकेका छन् । आगलागी यस्तो विपत हो, जसमा प्राकृतिकभन्दा मानवीय कारण बढी हुन्छ । मानिसको असावधानीका कारण आगलागीबाट विपत सिर्जना हुने भएकाले यसलाई न्यूनीकरण गर्न पनि सतर्कता र सावधानीको खाँचो छ । आगलागीका कारण विगतका वर्षहरुमा ठूलो जनधनको क्षति हुने गरेको छ । यो क्रम यो वर्ष कम भएन भने देशलाई ठूलो भार पर्नेछ किनकि महाभूकम्पको विपत्तिले गर्दा देशले ठूलो जनधनको क्षति ब्यहोरिसकेको छ । दुई आर्थिक वर्षको पूरै बजेट परिचालन गर्दा पनि पुनःनिर्माण गर्न नसकिने गरी क्षति भएको छ । यो बेलामा अन्य विपतहरु या ओझेलमा पर्ने खतरा रहन्छ, या त देशलाई थप भार थपिन्छ । त्यसो त देश सामान्य अवस्थामा रहेको बेला विपत्तिका घटना भए पनि केही नहुने होइन तर संकटबाट बेलामा अझ बढी सतर्क र सजग रहनुपर्ने आवश्यकता बढ्दो रहेछ । त्यसै त नेपालीहरुले अनेक संकट भोग्दै आएको स्थिति छ, त्यसमा अझ अन्य विपतहरु सिर्जना भए देशले धानीसक्नु हुँदैन । वर्षायाममा गएको बाढीपहिरोबाट पीडित भएकाहरुको पुनःस्थापना हुन सकिरहेको छैन । केही समयअघि जाजरकोटमा फैलिएको महामारीका कारण धेरैको ज्यान गयो । यो बेलामा आउनसक्ने आगलागी, महामारीजस्ता विपतप्रति आम नागरिक बेलैमा सचेत र सजग हुन जरुरी छ । आगलागी मानवीय त्रुटीका कारण सिर्जना हुने विपत हो । यसलाई न्यूनीकरण गर्न जनस्तरको सचेतनादेखि राज्यस्तरको तयारीसम्ममा ध्यान दिनु आवश्यक छ । विगतका वर्षहरुमा हामीले के देखेका छौं भने आगलागी नियन्त्रणमा लिन सरकारी निकायहरु प्रभावकारी छैनन् । हरेक घना वस्ती भएका ठाउँमा वारुण यन्त्रको व्यवस्था गरिनुपर्ने हो, त्यस्तो व्यवस्था छैन । भएका वारुण यन्त्रहरु पनि तयारी अवस्थामा हुँदैनन् । गएका वर्षहरुमा ठूलाठूला आगलागीका घटना हुँदा पनि वारुणयन्त्र नजाने र गएका पनि पानीविहीन अवस्थामा जाने गरेका कारण ठूलो क्षति हुने गरेको थियो । यो समस्या तत्काल हटाउनुपर्छ । वारुणयन्त्र नभएका वस्तीमा वारुणयन्त्रको व्यवस्था गर्ने र उपलब्ध वारुणयन्त्रलाई तयारी अवस्थामा राख्नुपर्दछ । त्यसका अलावा आगलागी नियन्त्रणमा लिनसक्ने जनशक्ति र अन्य स्रोत साधन पनि तयारी अवस्थामा राख्न आवश्यक छ । सरकारी निकायहरु गम्भीर र संवेदनशील हुने हो भने धेरै हदसम्म आगलागीबाट सिर्जना हुनसक्ने विपत न्यूनीकरण गर्न सकिन्छ । त्यसका अलावा जनस्तरबाट पनि यसको तयारी आवश्यक छ । समुदायमा गठन भएका युवा क्लव, रेडक्रस सर्कल, स्काउटलगायतका स्वयंसेवी संस्थाहरुले दुई तरीकाले काम गर्न सक्छन् । पहिलो, यी संस्थाहरुले समुदायमा सचेतना फैलाउन जोड दिनुपर्छ भने दोस्रो, आगलागी नियन्त्रणमा लिन सहयोगी भूमिका निर्वाह गर्न सक्छन् । त्यसबाहेक सञ्चार माध्यमलगायत समाजका सबै क्षेत्रले सचेतना विस्तारमा जोड दिनुपर्ने आवश्यकता देखिन्छ ।

Post a Comment

 
Top