जीवनमा सिक्न चाहने मान्छेले आफू चिप्लिएर लड्यो भने पनि कम्तिमा पनि होश पु¥याएर नहिंड्दा चिप्लिएर लडिनेरहेछ त्यसैले होश पु¥याएर हिँड्नुपर्छ भन्ने कुरा सिक्छ । नसिक्ने मान्छेलाई विश्वविद्यालयका विशाल कक्षाहरुमा राखेर दिनको सात घण्टाका दरले सातजना प्रोफेसरले ठूला–ठूला दर्शनका ठेली अगाडि राखेर वर्षौं लेक्चर दिए पनि केही सिक्दैन । सिक्नका लागि सिक्ने इच्छा हुनुपर्छ । मैले सबै कुरा जानेको छु भन्ने भ्रमबाट मुक्त हुनुपर्छ, तब हरेक घटनाबाट केही न केही सिकिन्छ । चाहे त्यो राम्रो घटना होस् वा नराम्रो नै किन नहोस् । भूकम्पबाट हामीले पनि केही गुमायौं, त्यसको सट्टा केही सिक्यौं पनि । भूकम्पको धक्कासँगै सामाजिक सञ्जाल फेसबुकमा धेरैले त्रासपूर्ण र उडन्ते ँस्टाटस’ हाले पनि एकजनाले भने अलिकति व्यङ्ग्य र अलिकति यथार्थ्मिश्रित यस्तो ँस्टाटस’ लेखे–ँभूकम्पले धेरै नराम्रो काम गरे पनि एउटा काम भने राम्रो ग¥यो, मान्छेलाई मान्छेको हैसियत सिकायो । अर्बपति पनि पाँच मिटर पालमुनि, सडक छाप पनि त्यही पाँच मिटर पालमुनि ।’ भूकम्पपछि साम्यवादी समाजको वास्तविक स्वरुप नेपालको पाल संसारमा देखियो । एकजना मान्छेलाई कति जमिन चाहिन्छ भनेर कथा लेख्ने महान कथाकार टल्सटोयलाई पाल जिन्दगीमा धेरैले सम्झिए ।गीता दर्शनले भन्छ–ँतिमीले हिजो यस धर्तीमा के लिएर आएका थियौं र जुन वस्तुलाई गुमाउँदा आज तिमी चिन्तित देखिन्छौं ? जे पायौं यहीं पायौ, जे छोडेर जानेछौं त्यो पनि यसै धर्तीमा छोडेर जानेछौं ।’ तर गीताको यो महान् दर्शनलाई मान्छेले लत्यायो र धन जम्मा गर्ने होडबाजीमा लाग्यो । हुँदा–हुँदा आवास जस्तो आवश्यकताको वस्तुलाई सम्पत्ति मान्न थाल्यो । ठूलो घर सम्पन्नताको प्रतीक ठान्न थालियो । आखिर भूकम्प जाँदा त्यही सम्पन्नताको प्रतीक मृत्युको प्रमुख कारण बनेको देखियो । भूकम्प अगाडि जसले अग्ला घर बनाउन सकेका थिएनन् तिनीहरु आफूले अग्लो घर बनाउन नसकेकोले तनावमा थिए । भूकम्पमा ठूला घरहरु मृत्युको प्रतीक बनेपछि ठूला घरधनीहरु ठूलो घर बनाएकोमा आफूलाई धिक्कारिरहेका छन् । हिजो अग्लो हुन नपाएको तनाव आज धेरै अग्लो भएकोमा तनाव । मान्छे हिजोे घरको उचाइलाई आफ्नो उचाइ ठान्थ्यो । तर आज घर बनाउँदा आपूmले सानो घर नबनाएकोमा पछुताइरहेको छ । आफूले ठड्याएको कंक्रिटको महललाई यमराज देखिरहेको छ । मान्छेको उचाइ अग्लो महल होइन, बरु धरातलीय यथार्थपरक जीवनबोध हो भन्ने कुरा यो भूकम्पले हामीलाई शिक्षा दिएर गएको छ ।भूकम्प अगाडि नेपालका राजनीतिक दलहरु एक अर्काको उछितो काढ्न लागिपरेका थिए । एक दलको नेता र अर्को दलको नेताबीच पानी बाराबारको स्थिति थियो । आबेग र उत्तेजनामा एक अर्काको मानमर्दनमा यतिसम्म उत्रिदै थिए कि कहिलेकाहीं ठण्डा दिमाग हुँदा त्यो आफूले बोलेको भाषा आफैलाई लाजमर्दो हुन्थ्यो । तर आज ती नेता अरुलाई गालीगलौज गर्ने मुडमा छैनन् । सायद भूकम्पको त्रासदीले होला । मान्छेले अति गरेपछि एकदिन उसको हैसियत निर्धारण हुने दिन आउँछ । नियतिले जब उसको वास्तविक हैसियत निर्धारण गर्छ तब उसले रिसराग सब बिर्सिन्छ । झगडा र गाली गलौज भनेको उन्मादको अभिव्यक्ति बाहेक केही होइन । यो कुरा भूकम्पपछि नेताहरुमा देखिएको मौनताले सिकाइरहेको छ ।पछिल्लो समय नेपालीहरुबीच अस्वस्थ्य प्रतिस्पर्धाको भावना अत्यन्तै प्रबल हुँदै गइरहेको थियो । हामी सबै नेपाली हाम्रा आफ्नै दाजुभाइ हँंै भन्ने कुरा स्वयं हामी नेपालीले बुझेका थिएनौं । संकटमा हामीलाई हाम्रै दाजुभाइ चाहिन्छ भन्ने कुरा जानेका थिएनौं । विश्वका धनी मुलुकको प्रशंसा गर्ने तर आफ्नो देशमा बसेर आफ्नै देशलाई गाली गर्ने, हाम्रै नेपाली दाजुभाइको खिल्ली उडाउने काम हामीले ग¥यौं । तर आज आपत बिपत पर्दा आखिर विदेशी होइन स्वदेशी नै काम लागे । परका छोराछोरी पनि काम लागेनन् बरु नजिकका छिमेकी जो हिजोका दिनमा पानी बाराबार थियो तिनीहरु नै काम लागे । टाढाको देवताभन्दा नजिकको ढुंगा नै जीवनको आधार बन्यो । उद्धार कार्यमा पनि परकाले प्रयास त गरे तर नजिककैले निश्वार्थ भएर धेरै काम गरे ।हामीले लामो समयदेखि देश बनाएनौं । पछिल्लो समय नेपाल किन बनेन ? कसले बनाएन ? र कसरी बनाउन सकिन्छ भन्ने बहस चलेको छ । नेपाल बनाउने नयाँ सूत्रको खोजी गर्दै गर्दा उल्टो नेपाल ध्वस्त भयो । अब १०÷१५ वर्षमा नेपाल बन्ला भनेको त भूकम्पले नेपाललाई उल्टो १०÷१५ वर्ष पछाडि पो धकेलियो । तर अगाडि बढ्न अलिकति पछाडि नधेकिलिइ हुँदैन । अब नेपाललाई बनाउने गेयर थिच्ने बेला भयो । विकासको गति बढाउने बेला भयो । त्यस्तो गति दिने चालकको मात्र खाँचो छ ।संसारमा विकसित मुलुक त्यसै बनेका हैनन् । विनाशपछि विकास भएका हुन् । धेरै उतारचढाव पछि शिखर चढेका हुन् । हिरोसिमा नागासाकीमा बम नझरेको भए संभवत जापान आजको ँरोलमोडेल’ जापान हुने थिएन । मध्ययुगमा नसुतेको भए युरोप यति माथि उठेर सबैलाई सभ्यताको पाठ सिकाउने थिएन । बेलायती दासत्व नबेहोरेको भए भारत यति छिटो महाशक्ति राष्ट्र हुने लाइनमा लाग्न सक्ने थिएन । आजका शक्तिशाली राष्ट्रहरु अमेरिका, चीन, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जर्मन कुन चाहिँ मुलुकमा संकट र बिपत्ति आएन ? कुन चाहिँ मुलुकले दुरावस्था भोग्नु परेन ? त्यसैले राम्रोसँग बन्नलाई एकपटक राम्रोसँग बिग्रनुपर्छ । अब साँच्चै नेपालले फड्को मार्ने बेला भएको छ । भूकम्पले हामीलाई यो पाठ सिकाएको छ ।बिग्रेपछि बनाउनुपर्छ । तर बनाउने कसले ? हामी नेपालीको अरुको मुख ताक्ने बानी छ । बिगार्न आफै बिगार्ने र बनाउन चाहिँ अरुले बनाइदिनुपर्ने । यो परजीवी मानसिकता नै हाम्रो गरिबीको मूल कारण हो । परजीवी मानसिकताले देश बन्दैन । संसारको इतिहास हे¥यो भने कहीँ कतै पनि कुनै देशलाई अरु देशले बनाइदिएको इतिहास छैन । त्यसैले गएको भूकम्पबाट हामीले यो पाठ सिकौं– बिगार्ने हामी हौं, हामीद्वारा निर्मित संरचनाहरुले आठ हजारभन्दा बढी हाम्रै आफ्नाहरुलाई गुमायौं । हजारौंहजारलाई घाइते बनायौं । बितेकाहरु कहीं आफैले बनाएको चिहानरुपी महलमा थिचिएर मरे । कोही अरुले बनाएको चिहानमा पुरिए । जे भए पनि हामीले र हाम्रा आफ्नैले बनाएका संरचना ध्वस्त भएर मरे । त्यसैले अब बनाउने काम पनि हामीले नै गर्नुपर्छ । हाम्रो समस्या हामी आफै समाधान गरौं । हो बनाउन साथ र सहयोग सबैको चाहिन्छ । तर हात आफ्नै अगाडि बढ्नुपर्दछ । भूकम्पको बिनाशले विकास पक्कै ल्याउँछ । किनकि विनाशबिना विकास सम्भव छैन । विनाश विकासको ढोका हो । द्वार खुलिसकेको छ । अब नवनिर्माणको बिहानीमा प्रवेश गरौं ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment