0
गत शनिबार नेपालमा गएको महाभूकम्पमा परी हालसम्म देशभर ६ हजार २६० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको पछिल्लो विवरणअनुसार भूकम्पबाट हालसम्म १४ हजार ४४६ जना घाइते भएका छन् ।     उपत्यकाको काठमाडौँमा एक हजार १४४, भक्तपुरमा २५९ र ललितपुरमा १७१ जनाको मृत्यु भएको छ । भूकम्प प्रभावित जिल्लाबाट थप विवरण आउनेक्रम जारी रहेको केन्द्रले जनाएको छ । यसैबीच नेपाली सेनाका प्रधानसेनापति गौरवशमशेर जबराले महाभूकम्पमा मृत्यु हुनेको संख्या १० हजार नाघ्ने आँकलन गरेका छन् । शुक्रबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले शुक्रबार दिउँसोसम्म मृत्यु भएकाको संख्या ६ हजार दुई सय ४ पुगेको जानकारी दिए । ‘पुरिएको अवस्थामा अझै ४ हजारको हाराहारीमा हुन सक्छन्,’उनले भने,–‘उद्धार सक्रियतापूर्वक भइरहेको छ ।’ सैनिक मुख्यालयका अनुसार हालसम्म १३ हजार ९ सय ३२ जना घाइते पुगेका छन् । घरबारविहीन हुने संख्या २४ हजार ८ सय १२ छ । हालसम्म उद्धारलाई प्राथमिकता दिनुपरेकाले राहत वितरण भने प्रभावकारी हुन नसकेको उनले स्वीकारे । ‘दुइटैलाई सँगसँगै लैजान सजिलो छैन’, प्रधानसेना पतिले भने,–‘अबको ध्यान राहततर्फ केन्द्रित हुनेछ ।’ विदेशबाट राहत तथा उद्दारका लागि ६५ वटा टोली आएको र नेपाली सेनाको संयोजनमा खटिइरहेको राणाले बताए । इन्डियन एयरफोर्सको टोलीले ‘आफूखुसी गरिरहेको’ भन्ने जिज्ञासामा उनले भने,–‘सुरुमा केही केसमा अनकन्ट्रोल्ड भएकै हो । हामीले कन्ट्रोल गरिसक्यौं ।’ उनले आफूहरुले बोलाएर र असल भावनाले आएको हुनाले कुनै देशको टोलीको आलोचना गर्नु उचित नहुने बताए । ‘हामी सार्वभौम जनता हौं, नआऊ भन्नु भएन,’ उनले भने । उद्धार र राहत वितरणको नेतृत्व गरिरहेको नेपाली सेनाका प्रमुखलाई सञ्चारकर्मीले राहत विमानस्थलमा रोकिएको, सहयोग गर्न चाहनलेलाई केन्द्रमा राष्ट्रबैंक र जिल्लामा सीडीओको तगारो लागेकोबारे ध्यानाकर्षण गराउँदै सरोकारका बैठकमा कुरा उठाउन सुझाएका थिए । ‘हामीसँग सिस्टम छ । त्यसलाई कानुनअनुसार सक्रिय गराए अरु चाहिँदैन’, राणाले भने,–‘नयाँ सिर्जना गर्न खोजे समस्या हुन्छ ।’ सेनाले विदेशबाट ३० वटा मेडिकल टिम आएर उपचारमा खटिरहेको जानकारी समेत दियो ।यता, राज्यलाई विपत्ति परेको बेला सबै एक भएर  त्यसको सामना गर्नुपर्छ भन्नेमा सबै राजनीतिक दलहरूबीच एकमत देखिएको छ । गत शनिवारको विनाशकारी भूकम्पबाट पीडित परिवारको उद्धार तथा राहतका लागि सरकारबाट भइरहेको प्रयास तथा त्यसलाई अझ प्रभावकारी कसरी तुल्याउन सकिन्छ भनेर सुझाव लिन सरकारले शुक्रबार साँझ डाकेको सर्वदलीय बैठकमा सहभागी सबै राजनीतिक दलबाट सो अभिव्यक्ति आएको हो । बैठकमा प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम र बन तथा भू–संरक्षणमन्त्री महेश आचार्यले भूकम्प पीडितको खोज, उद्धार र उपचारको व्यवस्थासहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त भएकोबारेमा विस्तृतरूपमा जानकारी दिए । सो अवसरमा व्यवस्थापिका–संसदमा प्रमुख प्रतिपक्षी एनेकपा माओवादी लगायतका राजनीतिक दलले सरकारले सबै राजनीतिक दललाई विश्वासमा लिएर जुनस्तरमा राहत र उद्धारको काम गर्नुपर्दथ्यो त्यो भने हुन नसकेको भनाइ राखेका थिए । मुलुकलाई सङ्कट परेको बेला एक भएर उभिनुपर्छ, राहत र उद्धारको काम गर्ने प्रमुख जिम्मेवारी सरकारकै हो भन्दै सरकारले गरेको कामको अनुगमन गर्ने राजनीतिक संयन्त्र निर्माणकोे आवश्यकतामाथि जोड दिए । सो अवसरमा प्रधानमन्त्री सुशिल कोइरालाले भूकम्पबाट पीडित नागरिकको खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी तुल्याउने विश्वास दिलाएका थिए । सङ्कटको समयमा सत्तापक्ष र प्रतिपक्षका रूपमा नहेरी जनतालाई राहत पु¥याउने काममा सरकारलाई सहयोग र समर्थन गर्न उनले सबै राजनीतिक दलसँग आग्रह गरेका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले भूकम्पबाट मुलुकलाई गम्भीर परिस्थितिको सामना गर्न बाध्य तुल्याएकाले यो अप्ठ्यारो बेलामा पीडित जनतालाई छिटोभन्दा छिटो राहत र उद्धार गर्न सबैको सामुहिक प्रयास आवश्यक रहेको बताए । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले  विपदको वेलामा नेपालका राजनीतिक दल एकै ठाउँमा उभिन सक्छन् भन्ने सन्देश आजको बैठकले दिएको बताए । एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले भूकम्प पीडितको खोज, उद्धार, राहत र उपचारमा कहाँ कमीकमजोरी भयो त्यसको समीक्षा गरेर अघि बढन सरकारलाई सुझाउ दिएको जानकारी दिए । मुलुकलाई सङ्कट परेको बेलामा सबैले एक भएर सामना गर्नुपर्छ भन्नेमा एकमत छ, यसमा कसैको पनि बिमति नभएको उनले बताए ।  सोही पार्टीका बरिष्ठ नेता डा बाबुराम भट्टराईले उच्च पहाडी र हिमाली जिल्लाका कतिपय गाउँमा अझैपनि उद्धारको काम हुननसकेकाबारे बैठकमा प्रधान मन्त्रीलाई जानकारी गराएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, बैठकमा व्यवस्थापिका–संसद बाहिर रहेको नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरुले सरकारले चालेको कदमलाइ अझ चुस्त तुल्याउन आवश्यक रहेको बारेमा ध्यानाकर्षण गराएका थिए ।

Post a Comment

 
Top