0
गोल्डेन न्यूज संवाददाता
वडा प्रहरी कार्यालय वगर परिसर भित्र दुर्गा भवानी मन्दिर, ट्राफिक प्रहरी पोष्ट, प्रहरी कन्ट्रोल रुम र नागरिक सहायता कक्ष निर्माण गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र वगरको अग्रसरतामा स्थानीयवासीको सहयोगमा दुर्गा भवानी मन्दिर, ट्राफिक प्रहरी पोष्ट प्रहरी कन्ट्रोल रुम र नगारिक सहायता कक्षको निर्माण गरिएको हो । दुर्गा भवानी मन्दिर, ट्राफिक प्रहरी पोष्ट, प्रहरी कन्ट्रोल रुम र नागरिक सहायता कक्षको  बिहिबार एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पालले उद्घाटन गरेका थिए । उक्त भवन तथा मन्दिर निर्माणका लागि करिव सात लाख नौ हजार नौ सय १५ रुपैया लागेको निर्माण तथा मर्मत संभार समितिका कोषाध्यक्ष चित्रबहादुर थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।थापाका अनुसार विभिन्न संघ संस्था तथा महानुभावहरुबाट चार लाख ६० हजार दुई सय ४७ जिन्सी सामाग्री बापत दुई लाख ६२ हजार चार सय सहयोग प्राप्त भएको थियो । सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र बगरका निर्वतमान अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा एक निर्माण तथा मर्मत संभार समिति गठन गरि निर्माण कार्य सम्पन्न भएको हो । स्थानीयवासी विभिन्न संघ संस्था, समाजसेवी, राजनीतिक दलहरुको सहयोगले नै यो भवन तथा मन्दिर निर्माण कार्य सम्पन्न भएको निर्माण तथा मर्मत संभार समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले बताए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पालले मन्दिर तथा भवन निर्माणले जनता र प्रहरी वीचको सहकार्यको नमुना प्रस्तुत गरेको बताए । जनता प्रहरी विचको सहकार्यबाट हरेक काम सम्भव छ उनले भने–‘यो काम त्यसैको उदाहरणको रुपमा लिन सकिन्छ ।’ कस्केलीहरु सहयोगमा अग्रसर हुने अहिलेको महाभूकम्प पछि कस्केलीले गरेकोे सहयोगले नै पुष्टि गरेको उनको भनाई थियो । विन्ध्यवासिनी धार्मिक विकास समितिका सचिव एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले जनता र प्रहरी बीचको अग्रसरतामा नेपालका धेरै प्रहरीका भवन बनेको बताए । सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र बगरकी अध्यक्ष जीवन अधिकारीले सामुदायकको पहलमा यस वडामा यस्ता कार्यहरु पहिलेदेखि नै हँुदै आएको बताउँदै आगमि दिनमा पनि सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाईन् । कार्यक्रममा मन्दिर तथा भवन निर्माणमा अहोरात्र खटिने निर्माण तथा मर्मत सम्भार समितिका कोषाध्यक्ष चित्रबहादुर थापा र वडा प्रहरी कार्यालय बगरका लेखापाल प्रहरी सहायक निरीक्षक रामबहादुर थापालाई दोशल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरि मन्दिर तथा भवन निर्माणमा अहोरात्र खटिने वडा प्रहरी कार्यालय वगरका प्रहरी हवल्दार तीलबहादुर थापा, प्रहरी जवान शान्ताराज अधिकारी र प्रहरी जवान रोहित विकलाई नगद सहित पुरस्कृति गरिएको थियो । साथै कार्यक्रममा मन्दिर तथा भवन निर्माणमा साथ दिने सरस्वती श्रेष्ठ र सीता थापालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा वसन्त बाँस्तोला र माय गिरिले गीत प्रस्तुत गरेका थिए । निर्माण तथा मर्मत सम्भार समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा सल्लाहकार तीलक कोइरालाले स्वागत र सदस्य सचिव तथा वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक अमरबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top