गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग बाणिज्य संघ बालश्रम न्यूनिकरण कार्यक्रम (क्लेप)ले पोखरा उपमहानगरपालिका मार्फत यूनिसेफ नेपालको सहयोगमा आफ्नो सम्पर्कमा रहेर विद्यालय भर्ना भएका श्रमिक बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने सम्पन्न गरेको छ । बालश्रम न्यूनिकरण कार्यक्रमका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनौपचारिक कक्षा पुरा गरेका ९५ जना बालबालिकाहरुलाई विद्यालय पोशाक, कपी, कलम लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो । क्लेपका अध्यक्ष दीपक श्रेष्ठले अभिभावकहरु सचेत नभएसम्म बालश्रमको अन्त्य नहुने भएकोले अभिभावकहरुसंग सहकार्य हँुदै जानुपर्ने बताए । वि.सं. २०५६ सालमा स्थापित क्लेपले स्थापनाकालदेखि नै श्रमिक बालबालिकाहरुको अधिकार संरक्षणमा योगदान पुर्याउँदै आएको र यस अन्तरर्गत संचालित विद्यालय भर्ना कार्यक्रमलाई प्रभावकारी बनाउन उनीहरुलाई बर्षेनी शैक्षिक सामाग्री वितरण गरिएको क्लेपका कार्यक्रम संयोजक सुरेश कुमार मानन्धरले स्वागत मन्तव्यको क्रममा जानकारी गराए । पोखरा उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले सन २०१८ सम्ममा पोखरालाई बालमैत्री नगर बनाउने उद्देश्यले सञ्चालित बालमैत्री स्थानीय शासन कार्यक्रमको लागि नगरपालिकाको साझेदार संस्थाको रुपमा रहेको संघले बालबालिका सम्बन्धि आयोजना गर्दै आएको विभिन्न कार्यक्रमहरुबाट आफू सन्तुष्ट भएको अभिव्यक्ति दिए । युनिसेफ नेपालका बाल संरक्षण अधिकृत शिव डंगोलले पोखरालाई बालमैत्री नगर स्थापना गर्न सहयोग गर्दै आएको र रणनीतिक योजना निर्माण गरि अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा श्रमिक बालबालिका हरुको सम्पर्क केन्द्रहरुको व्यवस्थापन समितिको तर्फबाट बाग्लुङ्ग बसपार्क सम्पर्क केन्द्रकी अध्यक्ष गीता सुवेदीले भूकम्पको सही सचेतनाको अभावमा धेरै बालबालिकाहरुको मृत्युभएको बताउँदै महाभूकम्पपछि बालबालिकाको अवस्था झन नाजुक बन्दै गएकोले बालअधिकार सम्बन्धी काम गर्ने संघ संस्थाले बालबालिका हरुको सवालमा थप सम्वेदनशील भई सहयोग गर्नुपर्ने बताए । पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, महासचिव रविन्द्रबहादुर प्रजु लगायतले मन्तव्य राखिएको उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रमको संचालन क्लेपकी जीविकोपार्जन परिचालक तथा मनोविमर्शकर्ता प्रीति पाण्डेले गरेकी थिइन् ।यसैगरी कास्की रेडक्रसमा बुधवार शितला सामुदायिक माध्यमिक विद्यालय, सल्यानले १ हजार तीन सय ५० र गुरुकुल विद्याश्रम, गगनगौंडाले १४ हजार १ सय ७५ रुपैयाँ प्रदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी पोखरा–४, उपशाखाबाट २५ हजार रुपैयाँ प्राप्त भएको छ । शाखामा बुधवारसम्म ३२ लाख ७८ हजार ८ सय ५९ रुपैयाँ संकलन भएको कोषाध्यक्ष धर्मराज अधिकारीले बताए । विभिन्न सामान खरिद र ढुवानीमा गरि कुल १६ लाख ४३ हजार ३ सय ३६ रुपैयाँ खर्च भएको छ । हालसम्म कास्कीमा पहिलो चरणमा राहत वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको रेडक्रस कास्कीका मन्त्री कृष्ण तिमिल्सिनाले जानकारी दिए । यसैगरी रोटरी क्लव अप्m पोखरा फिस्टेलबाट गोरखा जिल्लाको श्रीनाथ गा.वि.स.का ८ तथा जौवारी गा.वि.स.को १ वटा विद्यालय सहित ९ वटा विद्यालयहरुमा ८ लाख २५ हजार मूल्य बरावरको १२० बन्डल जस्तापाता वितरण कार्य सम्पन्न भएको छ । वैशाख १२ गतेको भूकम्पबाट पूर्णरुपमा ध्वस्त भएका विद्यालयहरुमा टीनका टहराहरु तयार गरी तुरुन्त पठन–पाठन गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले जस्तापाताहरु वितरण गरिएको हो । रोटरी क्लव अफ फिस्टेलका अध्यक्ष रमाकान्त वरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक बैकुण्ठ प्रसाद अर्याल रहेका थिए । बैकुण्ठ प्रसाद अर्यालले प्राप्त जस्तापाताबाट सम्पूर्ण समुदाय एकजुट भई जेष्ठ १६ गतेसम्म अस्थाई टहरा निर्माण गरी १७ गतेबाट विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन आग्ह गरे । कार्यक्रममा रोटरीयनहरु जयन्द्र गौचन, लक्ष्मी थापा, चन्द्र बहादुर सुवेदी, बावुराम पाठक, मिरा पोखरेल लगायत जिल्ला शिक्षा कार्यालय गोरखाका सहायक जिल्ला शिक्षा अधिकारी हेमप्रसाद आचार्य, श्रीनाथकोट स्रोतकेन्द्रका स्रोतव्यक्ति डोलमान श्रेष्ठ, जस्तापाता प्राप्त गर्ने विद्यालयका वि.व्य.स.अध्यक्ष, प्र.अ., शिक्षक, अभिभावकहरुको समेतको सहभागिता रहेको थियो । कार्यक्रममा क्लबका अध्यक्ष रमाकान्त बरालले रोटरी एक विशुद्ध सेवा मुलक संस्था रहेकोमा भूकम्पबाट प्रभावित यस क्षणमा विभिन्न स्थानहरुमा सहयोग गर्दै आईरहेको बताए । कार्यक्रमको संचालन लक्ष्मी थापाले गरेका थिए भने स्वागत मन्तव्य चन्द्रबहादुर सुवेदीले गरे थिए । यसैगरी एमाओवादी कार्यकर्ता तथा धादिङ–पोखरा सम्पर्क समितिका कार्यसमिति सदस्य युवराज खतिवडाले धादिङ खाल्टे गाविसका भूकम्प पीडित करिब ३ सय घर परिवारलाई राहत सामाग्री वितरण गरेका छन् । गाऊँमै पुगेर उनले हरेक परिवारलाई झुल, म्याट, साबुन, टुथपेस्ट, ब्रस, पेन्सिल र कापी वितरण गरेका हुन् । करिब चार लाख रुपैयाँ बराबरको राहत सामाग्री बाँडेको उनले जानकारी दिए । खाल्टेमा भूकम्पका कारण करिब ९० प्रतिशत घरहरु भत्किएको त्यहाँका बासिन्दाहरुले जानकारी दिए । घर भत्किएपछि अस्थायी टहरा र त्रिपाल मुनी बस्दै आएका स्थानियहरुलाई लामखुट्टैसँगै अन्य किरा फट्यांग्राले सताएको कारण आफुले झुल वितरण गरेको खतिवडाले जानकारी दिए ।
Post a Comment