0
महाभूकम्पले महाबिपत्ति निम्त्याएको ११ दिन बितेकोे छ । भूकम्प आएको ११ दिन वितिसक्दा पनि अझ कैयौं ठाउँमा उद्धार टोली पुग्न सकेका छैनन् । उद्धार टोली नपुग्दा हराइरहेका थुप्रै व्यक्ति अहिलेसम्म फेला पर्न सकेका छैनन् । खासगरी विकट क्षेत्रका गाउँहरुमा भूकम्पसँगै आएको पहिरोले उद्धारमा समस्या देखिएको छ । जमिनबाट जान सडक सुचारु हुन सकेको छैन भने हवाइमार्गबाट पनि जान समस्या रहेको सुरक्षा अधिकारीहरुले बताइरहेका छन् । एकातिर यो स्थिति छ भने अर्को्तिर उद्धार कार्यमा जस लिने होडबाजी नै चलेको छ । त्यसमा पनि छिमेकी मुलुक भारतले उद्धार कार्यलाई अतिरञ्जित गरेर उद्धार भएका जति ठाउँमा आफूले गरेको र नेपाली उद्धारकर्मीहरुले काम गर्न नसकेको आरोप लगाएको छ । भारतीय मिडियाहरुले अतिरञ्जनापूर्ण खबर दिन थालेपछि अन्य मित्रराष्ट्रका उद्धारकर्मीहरु त झस्केका छन् नै, देशभित्र जीवनलाई हत्केलामा राखेर उद्धारमा जुटिरहेका नेपाली उद्धारकर्मीहरुको पनि मनोबल खस्कने स्थिति सिर्जना भएको छ । त्यति मात्र होइन, कतिपय देशका हवाइ सेनाले असान्दर्भिक क्षेत्रमा समेत चासो बढाएको भन्दै आलोचना हुन थालेको छ । यो पनि महत्वपूर्ण सवाल हो । कुनै पनि देशले नेपालको बिपत्तिमा सहयोग गर्न सक्छ तर त्यसको नाजायज फाइदा लिने स्थितिले नेपालका लागि दीर्घकालीनरुपमा प्रतिकूल असर पर्नसक्छ । यी सबै गतिविधि देखेर पनि होला, सरकारले विदेशी उद्धारकर्मीहरुलाई धन्यवादसहित बिदाइ गरेर नेपाली उद्धारकर्मीहरुलाई सक्रिय बनाउने निर्णय गरेको छ । यो निर्णय कार्यान्वयनले नेपाली उद्धारकर्मीहरुको मनोबल बढाउने छ । नेपालसँग उद्धारका लागि स्रोतसाधन र दक्ष जनशक्ति कम भएको साँचो हो । तर हुँदैन नभएको होइन । भत्केका संरचनाभित्र पुरिएको कैयौं घण्टापछि जीवितै उद्धार गर्ने जुन कला र साहस देखाएका छन्, त्यो सबै नेपाली उद्धारकर्मीहरुले नै देखाएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले यतिबेला साँच्चिकै कला र साहसको उच्च रुप प्रदर्शन गरिरहेका छन् । उनीहरुलाई थप प्रोत्साहनको खाँचो छ । विदेशी उद्धारकर्मीहरुले एक सातासम्म नेपालमा निर्बाह गरेको भूमिकाको पनि उच्च प्रशंसा नै गर्नुपर्छ । अब उनीहरुबाट नेपाली उद्धारकर्मीहरुले धेरै सिकिसकेका छन् । नेपाली उद्धारकर्मीहरुलाई चाहिएको खासमा स्रोतसाधन हो । आवश्यक स्रोतसाधन अझै पनि विदेशी मुलुकहरुबाट ल्याउन सकिन्छ । तर जनशक्ति नेपालकै काफी छ । नेपालमा जनशक्ति नभएर अन्यत्रबाट ल्याइएको पनि होइन । अन्य देशले मानवीय भावनाका साथ उनीहरुलाई पठाएका हुन् । अझै पनि अन्तर्राष्ट्रिय समुदायको ठूलो सहयोग चाहिन्छ । तर कतिपय मित्रराष्ट्र खासगरी भारतीय मिडियाहरुले फैलाइरहेको अफवाहले उद्धारमा सघाउ पु¥याउने होइन, अझ अन्य देशबाट भइरहेको सहयोगमा समेत कमी आउन सक्छ । सूचना प्रविधिमा धेरै अगाडि रहेका भारतका मिडियाहरुले नेपाल र नेपालीबिरुद्ध फैलाइरहेको अफवाहले अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश जानसक्छ । यसप्रति पनि नेपाल सरकार गम्भीर बन्न आवश्यक छ । सिंगो देश उद्धार र राहतमा जुटिरहेको बेला सबैभन्दा बढी गम्भीर र संवेदनशील सरकार नै बन्नुपर्छ । अहोरात्र उद्धारमा जुटिरहेका नेपाली उद्धारकर्मीको हौसला बढाउन कुनै कसर बाँकी राख्नुहुँदैन । उनीहरुलाई सघाउनका लागि देशभरका लाखौं युवा परिचालन गर्नु आवश्यक छ । सबै दलहरुले उद्धार र राहतमा सघाउने भनेकै छन् । जनशक्ति अभाव हुन्छ भने सरकारले सबै दलहरुबाट दश÷दश हजार युवा स्वयंसेवक माग्नेबित्तिकै धेरै समस्या समाधान हुन्छ । यो बेलामा पनि कतिपय महत्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीहरु विदेश भ्रमणमा गएको खबर आएको छ । यदि यसो हो भने यो जनताप्रतिको अपमान हो । विदेशीहरु समेत नेपालमा आइरहेको बेला नेपालका मन्त्रीहरु विदेश भ्रमणमा जानु कुनैपनि अर्थमा सही हुनसक्दैन । सभासदहरुको पनि सही परिचालन हुन सकेको छैन । विदेशीहरु थोरै आए पनि के के न गर्लान् भन्ने सोच्ने र ठूलो संख्यामा रहेका नेपालीहरुलाई परिचालन नगर्ने स्थितिले नेपालको उद्धार र राहत प्रक्रिया पनि हाइटीको जस्तो हुनसक्छ, जहाँ भूकम्प गएको पाँच वर्षसम्म पनि पीडितहरु अझै पालमुनि बस्न बाध्य छन् ।

Post a Comment

 
Top