घार छाडेर अन्यत्र बगिरहेको पोखराको रामघाटस्थित सेती नदीलाई बीचबाट आफ्नै धारमा फर्काउन उकास्ने काम भैरेहेको छ । पोखरा गिट्टी बालुवा उत्खनन गर्दा गहिरिएको सेती नदीको रामघाट क्षेत्रमा सतह उकास्न थालिएको छ । जिल्ला विकास समिति कास्की र स्थानीय उपभोक्ताको पहलमा नदी संरक्षण गर्न सुरु गरिएको हो । कटान गरेको पूर्वी भित्तातिर तारजाली लगाउन नदीको धार परिवर्तन गर्न सुरु गरिएको ामघाट उपभोक्ता संरक्षण समितिकी अध्यक्ष ईश्वरी वैरागीले जानकारी दिइन् । गएको सातामात्रै नदी संरक्षण गर्न जिविसले उपभोक्ता समितिसँग सम्झौता गरेको हो । ३६ लाख रुपैयाँ खर्च गर्ने गरी काम सुरु गरेका हौं, जिविसका योजना अधिकृत कीर्तन अधिकारीले भने,–केही जिविसले र केही उपभोक्ता समितिले खर्च गर्दैछ । सेती नदी रामघाटमा फैलिएको भएपनि यसको निकास साँघुरो छ । त्यही साँघुरो ठाउँमा बाँध बाँधेर रामघाटमा नदीको सतह माथि ल्याइएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख तथा इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिए । नदी संरक्षणका लागि मात्रै जिविसले १३ लाख रुपैयाँ बजेट छुट्याएको छ । उनले भने–अहिले नदीको धार परिवर्तन गर्दैछौं । वैशाख पहिलो सातादेखि नै बाँधको काम सुरु हुन्छ । नदी निकास हुने ठाउँमा यो आर्थिक वर्षभित्रै डेढ मिटर अग्लो बाँध बनाइने जानकारी श्रेष्ठले दिए । उनका अनुसार बर्सेनी त्यसलाई अग्लो पार्दै लैजाने योजना छ । बाँध बनाएपछि रामघाटको नदी फैलने ठाउँमा ढुंगागिट्टी र बालुवा थुप्रिएर सतह उकासिने उनले बताए । उपभोक्ता समिति अध्यक्ष वैरागीले बालुवा संकलक मजदुर समेतको सहयोगमा पूर्वी किनारतिर तटबन्ध बाँध्न लागेको जानकारी दिइन् । ६५ मिटर लम्बाइ र ७ सय घनमिटर हुने गरी जालीमा ढुंगा भरेर संरक्षण गर्दैछौं–उनले भनिन् । गएको वर्षका लागि आस्था ढुंगा, गिट्टी, बालुवा सप्लायर्सलाई जिविसले ८२ लाख रुपैयाँमा बालुवा निकाल्ने ठेक्का दिएको थियो । यो वर्ष भने सवा करोडमा ठेक्का गएको छ । नदीमा एक्स्काभेटरलगायत उपकरण चलाउन दिइएको छैन तर पनि जथाभावी उत्खनन हुँदा जोखिम भएको हो । जिविसले ठेक्का दिँदा किनारबाट ५ मिटर छाडेर बालुवा निकाल्न भने पनि जथाभावी निकालिँदा नदी कटान बढेको छ । बालुवा ठेक्का दिएपछि त्यसको कुनै अनुगमन नहुँदा बालुवा उत्खननमा लापरबाही हुँदै आएको गन्थन डटकमले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment