ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयद्वारा सत्कर्म तथा खुशीको निरन्तर श्रृंखलाको रुपमा अन्तर्राष्ट्रिय स्तरमा सञ्चालित एक अद्वितीय विश्वव्यापी महाअभियान “सात अरब सत्कर्म” विषयक महायोजना पोखरामा शुरुवात भएको छ । संसारलाई सुन्दर र सुखमय बनाउनका लागि मानव समाजलाई उत्प्रेरित, सु–संस्कारित तथा आध्यात्मिक रुपबाट सशक्त बनाई स्वयं, अन्य मानव आत्मा तथा प्रकृतिको कल्याणार्थ विश्व स्तरमा नै सत्कर्मको लहर फैलाएर दैनिक सात अरब सत्कर्म गर्नका लागि सकारात्मक वातावरण निर्माण गर्ने महान् उद्देश्यका साथ महाअभियान शुरु गरिएको महायोजनाका अन्तर्राष्ट्रिय निर्देशक भारतीय मूलका अमेरिकी नागरिक ब्रह्माकुमार ई. रामप्रकाश सिंघलले बताए । उनले हरेक व्यक्तिको भाग्यसँग उसको पूर्वजनित कर्म जोडिएको हुनाले जीवनमा खुशी एवं शान्ति प्राप्त गर्नका लागि हरेकले सत्कर्म गर्नुपर्ने बताए । अभियान सम्बन्धमा प्रशिक्षण दिदै भारतकी राजयोगिनी बह्माकुमारी तृप्ति दिदीले निस्वार्थ भावबाट आफ्नो जिम्मेवारीभन्दा माथि उठेर अरुको खुशीको निम्ति गरिने कर्म सत्कर्म भएको र स्वयंप्रति, अन्यप्रति र संसारप्रति गरिने एक एक सत्कर्मले जीवनमा आउने हरेक परिस्थिति, विघ्न बाधाहरुमा समाधान र सफलताको कार्य गर्ने भएकाले यो अभियान संसारका हरेक व्यक्तिहरुका लागि भएको बताइन । कार्यक्रममा प्रमुख अतिथि सभासद् रविन्द्र अधिकारीले प्रेमले प्रेमलाई र घृणाले घृणालाइ बढाउने र नराम्रो बीजबाट राम्रो फल कहिल्यै नफल्ने भएकाले सत्कर्म र खुशीका लािग चालिएको अभियानको सफलताको कामना गरे । अभियान सन् २०११ मा अमेरिकाबाट शुरु भई नेपाल लगायत करिब एक दर्जन मुलुकहरुमा संचालित भइसकेको मा नेपालमा भैरहवाबाट शुरु भई बु्टबल, पाल्पामा सम्पन्न भइसकेको र यसपछि बाग्लुङ, कुश्मा र काठमाण्डौं लगायतका स्थानहरुमा शुभारम्भ हुने संस्थाका महासचिव ब्रह्माकुमार शैलेषराज बरालले बताए । राजयोगिनी ब्रह्माकुमारी परिणीता दिदीको सभापतित्वमा आयोजित शुभारम्भ समारोहमा ब्रह्माकुमार शैलेषराज बरालले स्वागत तथा कार्यक्रमबारे जानकारी र ब्रह्माकुमारी सुधाले सञ्चालन गरेकी थिइन ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment