0
आम सर्वसाधारणलाई राहत दिन भनि कास्कीमा संचालन गरिएको विद्यार्थीहरुको संयुक्त आन्दोलन फेरि धरापमा परेको छ । कास्कीमा क्रियाशील सबै विद्यार्थी संगठनको समन्वय र सहकार्यमा यसअघि चलेको आन्दोलन विभिन्न विद्यालयका संचालकबाट विद्यार्थी संगठनका केही सदस्यले अर्थिक लाभ लिएको भन्ने विषयसंगै केही सुस्ताएको छ । नयाँ शैक्षिकसत्र शुरु हुन लाग्दा पाठ्यक्रमको छनौट र पाठ्यपुस्तकको विक्री वितरणमा विभिन्न विद्यालयका संचालक तथा समूह र पव्लिकेशनबीच हुने गरेको अनैतिक गठवन्धनका कारण विद्यार्थीहरु पुनः संयुक्त रुपमा आन्दोलित बनेका थिए । विद्यार्थीहरुले केही नयाँ र केही पुराना एजेण्डा लिएर आन्दोलन अघि बढाउँदै गर्दा मंगलबार एमाले र एमाओवादी संवद्ध विद्यार्थी संगठनका २ जना नेता पोखराको मासबारमा संचालित ह्याप्पी बोर्डिङ स्कूलमा पुगेर तोडफोड गरेपछि संयुक्त विद्यार्थी आन्दोलनमा शंका उत्पन्न भएको हो । कुनै विद्यालयमा तोडफोड गर्न जाँदा या बन्द गर्न जाँदा पनि विद्यार्थी संगठनका बीचमा छलफल हुनुपथ्र्यो तर दुई संगठनका दुई सदस्यमात्र पुगेर विषयवस्तुको गम्भीरतालाई सबैतिर पु¥याउनुपर्ने मा विद्यालयको भौतिक सम्पत्तिमा क्षति पु¥याउने काम भएपछि आन्तरिक रुपमा असन्तुष्टि समेत बढेको हो । यसैबीच ह्याप्पी बोर्डिङमा तोडफोड गरेको अभियोगमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कास्की अध्यक्ष शेखर गौतम पक्राउ परेका छन् । बुधबार जिल्ला शिक्षा कार्यालयमा अनुगमन समिति र विद्यार्थी संगठनका प्रतिनिधिहरुबीच छलफल सकिए पछि बगरबाट नदीपुर तर्फ आइरहेका बेला प्रहरीले नदीपुरबाटै उनलाई पक्राउ गरेको हो । उनलाई वडा प्रहरी कार्यालय बैदामको हिरासतमा राखिएको छ । सोही विद्यालयमा तोडफोड गरेको आरोप लागेका कृष्णराज दाहालको भने खोजी भइरहेको छ । कास्की प्रहरीका अनुसार पक्राउ परेका गौतमको म्याद थप गरि हिरासतमा राखिएको हो । गौतम र दाहालले ह्याप्पी बोर्डिङका प्रिन्सिपल कविराज बरालको कार्यकक्षमा कम्प्युटर, प्रिन्टर र ल्यापटप तोडफोड गरि करिब २ लाख बराबरको क्षति भएको बताइन्छ ।गौतम र अखिल क्रान्तिकारीका कृष्णराज दाहाल दुई जनामात्र ह्याप्पी बोर्डिङमा मंगलबार पुगेर प्रिन्सिपल कविराज बरालको कार्यकक्षमा प्रवेश गरि तोडफोड गरेको घटना र बुधबार गौतम पक्राउ परेको घटनापछि कास्कीका विद्यार्थी आन्दोलन विभाजित बन्ने सम्भावना बढेको छ । गौतम पक्राउ परे लगत्तै केही विद्यार्थी संगठनका प्रतिनिधिहरु बसेर बुधबार दिउसो नै जिल्ला शिक्षा कार्यालयमा तालावन्दी गर्ने र बिहीबार पोखरामा सरकारी चल्न नदिने निर्णय गरेका थिए । उनीहरुले वैशाख ११ देखि विद्यालय बन्द गर्ने निर्णय समेत गरेका छन् । विद्यार्थी संगठनले गरेका निर्णयको कार्यान्वयन भने हुन सकेन । केही विद्यार्थीहरु जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्न गएको भएपनि प्रहरीको उपस्थिति देखेपछि तालाबन्दी नगरिकन फर्किएका थिए । बिहीबार सरकारी गाडी चल्न नदिने निर्णयका बारेमा पनि विद्यार्थी संगठनभित्रै असन्तुष्टि देखिएको छ । अखिल क्रान्तिकारीका विद्यार्थीहरु सरकारी गाडी चल्न नदिने निर्णयलाई कार्यान्वयन गराउन सक्रिय देखिएपनि सत्तारुढ पार्टी नेपाली कांग्रेस र नेकपा एमाले सम्वद्ध विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियुभित्र यो विषयमा असन्तुष्टि बढेको हो । नेविसंघका केन्द्रीय सदस्य सरोज केसीले नेविसंघ तोडफोड र अराजक आन्दोलनमा नलाग्ने र शान्तिपूर्ण आन्दोलन तथा वार्ताको माध्यमबाट समस्या समाधान गर्ने पक्षमा रहेको बताउँदै एमाले अखिलका नेता नरेश रोकायले पनि सरकारी गाडी चल्न नदिने निर्णय उपयुक्त नभएको बताएको जानकारी दिए । विद्यालयहरुमा तालावन्दी गर्ने पक्षमा समेत नेविसंघ नरहेको बताइन्छ । नेविसंघ कास्कीका संयोजक सुवास कोइरालाले विद्यार्थी तथा अभिभावकबाट महंगो शुल्क लिने, अवैध किसिमले विद्यालय संचालन गर्ने र विभिन्न वाहनामा विभिन्न किसिमका शुल्क लिएर अभिभावकलाई मारमा पार्ने शिक्षण संस्था वा संचालकको पक्षमा नेविसंघ नरहेको स्पष्ट पारे । ‘हामी अनियमितता कतैबाट पनि नहोस् भन्ने चाहन्छौं तर त्यसो भन्दैमा कानून हातमा लिएर अराजक किसिमको आन्दोलन तथा शिक्षण संस्था नै तोडफोड गर्ने खालका क्रियाकलापमा नेविसंघको संलग्नता रहँदैन ।’–कोइरालाले गोल्डेन न्यूज दैनिकसंग भने । नेविसंघ कास्कीका सुवर्णजंग केसीले पनि विद्यालयका संचालकबाट अनियमित तरिकाले रकम लिने र कसैको प्रभावमा परेर तोडफोड गर्ने जस्ता क्रियाकलापमा नेविसंघको संलग्नता नरहेको स्पष्ट पारे ।

Post a Comment

 
Top