0
लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्न लागेका शेरचनले बुधवार काठमाडौंमा थुप्रै पत्रकारका बीच भने, ‘ममाथि सरकार र आरोहण दलबाटै ठूलो धोखा भएको थियो । जापानी नागरिकबाट मेरो कीर्तिमान भंग गराउन पैसाको खोलो समेत बगेको थियो, त्यसको बदला लिन फेरि जाँदैछु ।’सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका शेरचनको रेकर्ड सन् २०१३ मा जापानी नागरिक इचिरो मिउराले ८० वर्षको उमेरमा आरोहण गरेर तोडेका थिए । त्यसबेला आफू विरुद्ध सबैतिरबाट षडयन्त्र भएको र जापानी नागरिकको विश्व रेकर्ड कायम गराउन ठूलो खेल भएको उनले आरोप लगाए । उनले आफू तन्दरुस्त हुँदा हुँदै पनि आफूलाई जबरजस्ति विरामी बनाउन खोजिएको स्मरण गरे ।‘मलाई आरोहण अनुमति दिनै तीन महिना लगाए, अन्तिममा मे २४ मा आरोहणको अनुमति दिएर २९ तारिखमा आरोहण नै बन्द गरे,’ शेरचनले भने, ‘सिंहदरवारदेखि आधार शिविरसम्मै ठूलो खेल भयो ।’यसपटक शेरचनको आरोहणको संयोजन गैर आवासीय नेपाली संघ युकेले गरेको छ । नेपालमा दुर्गाबहादुर बुढाले संयोजन गरिरहेको एनआरएन युकेकी सुष्मा राईले जानकारी दिइन् ।८३ वर्ष ९ महिना उमेरका शेरचन आफ्नो रेकर्ड जापानी नागरिकबाट तोडिएपछि निकै तनावमा थिए । आफूले आरोहण गर्न खोज्दा खोज्दै पनि रोकिएपछि उनले यसबीचमा गनेरै एक हजार चन्द्रमाको दर्शन गरे ।उनले आफू बहादुरी देखाउन भन्दा पनि मुलुकको नाम विश्वभर फेरि एकपटक चर्चामा ल्याउन सगरमाथा आरोहणमा जान लागेको बताए । ‘यसपटक विगतमा मेरो विरुद्ध खेल खेल्नेहरुलाई सगरमाथा चुचुरोबाटै जवाफ दिनेछु,’ शेरचनले अनलाइनखबरसँग भने ।शेरचनको सगरमाथा आरोहणको प्राविधिक व्यवस्थापन हिमालयन गाइड्स नेपालले गरिरहेको छ । शेरचनको आरोहणका लागि अनुभवी आरोहीको टिम खटाइएको हिमालयन गाइड्सका निर्देशक इश्वरी पौडेलले बताए ।

Post a Comment

 
Top