एक अपरिचित महिलालाई विवाह गर्छु भन्दै भारतको सिक्किम लगेर बिक्री गरेको आरोपमा थुनामा रहेका सुलुबुङ–१ का २८ वर्षीय वीरेन देउसालीलाई पुनरावेदन अदालत इलामले मङ्गलबार नौ वर्ष कैद र पीडितलाई ४० हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।पुनरावेदन अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोख्रेल र प्रमोदकुमार वैद्यको संयुक्त इजलासले वीरेनविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनअनुसार उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए ।यसअघि जिल्ला अदालत इलामले वीरेनलाई मङ्सिर २४ गते मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा १५ (१) (क) बमोजिम २० वर्ष कैद, रु दुई लाख जरिवाना र सोही ऐनको दफा १७ बमोजिम पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।यसैबीच बलात्कारको आरोपमा जिल्ला अदातलबाट छ वर्ष कैद फैसला सुनाइएका इलाम सुलुबुङ–७ का २५ वर्षीय कृष्णबल देउसाली (राई) लाई पुनरावेदन अदालत इलामले छ वर्ष कैद र ३० हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।जिल्ला अदालत इलामले कात्तिक २१ गते देउसालीलाई छ वर्ष कैद सजाय सुनाएको थियो । अठार वर्षीया युवतीलाई २०७१ भदौ २२ गते धारामा पानी लिन गएको मौका छोपी बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । रासस
Subscribe to:
Post Comments (Atom)
Post a Comment