0
निजी विद्यालयले बढाएको शुल्कका सम्बन्धमा भएका विरोध तथा आन्दोलनलाई वार्ताको माध्यमबाट नै समाधान गर्नुपर्नेमा जोड दिइएको छ । विभिन्न दलसम्बद्ध नौ विद्यार्थी सङ्गठनले नयाँ शैक्षिक सत्रका लागि गरेको शुल्कवृद्धिको विरोधस्वरुप आयोजना गरेको सरोकारवालासँगको बृहत छलफल कार्यक्रममा शिक्षा मन्त्रालय, शिक्षा विभाग, प्याब्सन, एनप्याब्सन, अभिभावक सङ्घ लगायतको प्रतिनिधित्व रहेको थियो । कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले मन्त्रालयले सरोकारवाला सम्पूर्णलाई औपचारिक रुपमा छलफलका लागि आमन्त्रण गरेर वार्ताको टेबलबाट नै यो समस्यालाई सुल्झाउन तयार रहेको बताए । यसका लागि सबै सरोकारवालालाई तयार रहन समेत उनले आग्रह गरे । शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले २२ प्रतिशतदेखि ४४ प्रतिशतसम्म शुल्क वृद्धि भएको भनिएकाले विभागले यसको अनुगमन गरिरहेको बताए । एनप्याब्सनका पूर्व अध्यक्ष गीता राणाले आफूहरूले विधानअनुरुप नै विद्यालयमा शुल्कवृद्धि गरेको दावी गर्दै शिक्षकलाई तलब खुवाउने जिम्मा सरकारले लिने हो भने कुनैपनि प्रकारको शुल्क विद्यार्थीबाट लिँदैनौ भने । प्याब्सनका अध्यक्ष लक्ष्य बहादुर केसी र एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यार्थी सङ्गठनले विद्यालय बन्द गर्नेजस्ता काम गरेर कानुन आफ्नो हातमा लिएको भन्दै यस्ता कार्य तत्काल बन्द गर्नुपर्ने माग गरे ।
अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी र राष्ट्रिय अभिभावक सङ्गठनका अध्यक्ष धर्मदत्त देवकोटाले नयाँ शैक्षिक सत्र निजी विद्यालय सञ्चालकका लागि ‘दशैँ’ र अभिभावकका लागि ‘दशा’ सावित भएको छ भन्दै विद्यार्थी सङ्गठनले शुल्कवृद्धिको विरोधमा गरेका कार्यक्रमप्रति आफूहरूको पनि ऐक्यबद्धता रहेको बताए ।
नेकपा (माओवादी) निकट विद्यार्थी सङ्गठनका संयोजक शरद रसाइली, अनेरास्ववियु (क्रान्तिकारी) का संयोजक रमेश मल्ल, नेवि सङ्घका प्रवक्ता युपी लामिछाने, मधेशी विद्यार्थी सङ्घका अध्यक्ष कपिलेश्वर यादवलगायतले विद्यालयले गरेको शुल्कवृद्धि नाजायज भएकाले शुल्कवृद्धि फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारीरहने बताए । निजी विद्यालयले गरेको शुल्कवृद्धिको विरोध गर्दै विद्यार्थी सङ्गठनहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । रासस

Post a Comment

 
Top