आजभोलि जहाँतहीँ धेरै सुनिने विषय हो महिलाबिरुद्ध हुने हिंसाको विषय । यस्ता हिंसाका घटनाहरु सार्वजनिक नभएको कुनै दिन छैन शायद । हत्या, हिंसा, बलात्कार, बेचबिखनजस्ता पीडाबाट महिलाहरु आक्रान्त छन् । यतिमात्रै होइन, विभिन्न प्रथा, परम्परा र प्रचलनहरुका नाममा महिलाबिरुद्ध हिंसा भइरहेका छन् । महिलाहरु यी सबैखाले पीडाबाट गुज्रिरहेका छन् । सदियौंदेखि विद्यमान यस्ता लिंग विशेष, जात विशेष, समुदाय विशेषप्रतिको विभेदको जग भत्किएको छैन । विभेदबिरुद्धका आवाज निरन्तर उठिरहेका छन् तर ती आवाजको संबोधन भनेको ती विभेदको जरामा पानी हालेर पात छिमल्नेजस्तो काम मात्रै भएको छ । राजनीतिक सत्ता, कानुनी अधिकार, ज्ञान आर्जन गर्ने अवसर, आथिर्थ अवस्था आदि शक्तिका स्रोत हुन् । यी शक्तिका स्रोतमा जसको पहुँच पुगेको छ उसको सामाजिक मर्यादास्तर उँचो छ । जसको पहुँच पुगेको छैन उसको सामाजिक मर्यादास्तर निम्नकोटिको छ । लैंगिक हिसाबले हेर्ने हो भने हामीकहाँ अहिले शक्तिका स्रोतहरुमा पुरुष बर्चस्व छ । राजनीतिक प्रतिनिधित्व र सशक्तिकरण, आथिर्थ शक्ति र सामाजिक मर्यादा एक अर्कालाई प्रभाव पार्ने महत्वपूर्ण तत्व हुन् । शक्तिका स्रोतहरुमा पुरुष बर्चस्व र आथिर्थ, सामाजिक, राजनीतिक, धामिर्मलगायत शक्तिका संरचनाहरुमा पुरुषको निर्णायक स्थान भएकाले परिवार, समाज र राज्यमा जहाँसुकै पुरुषप्रधानता व्याप्त छ । यी संरचनामा पुरुषको प्रभुत्व र महिलालाई अधिनस्थ बनाउने खालको पितृसत्तात्मक प्रणाली जबर्जस्तरुपमा स्थापित छ । यही असमान शक्ति संरचनाका भेदभावपूर्ण कानून र व्यवहारले आमरुपमा महिलाको मर्यादास्तरलाई दोस्रो दर्जाको रुपमा स्थापित गराएको छ । यो विभेदयुक्त संरचना नभत्काउँदासम्म महिलाको सामाजिक मर्यादास्तर पुरुषसमान हुन सक्दैन । जहाँ असमान शक्ति सम्बन्ध रहन्छ, जहाँ कुनै लिंग विशेषको प्रभुत्व कायम राख्ने, त्यसलाई निरन्तर संस्थागत गर्ने खालका नीति, नियम, कानून र व्यवहार रहन्छन् त्यहाँ महिलाबिरुद्धको भेदभाव अन्त्यको विषय सिर्फ गफ गर्ने विषय बन्छ । यस्ता संवेदनशील विषयहरु गफमा सीमित हुँदा ती विषय प्राथमिक महत्वको विषयको रुपमा नरहने, महिलाबिरुद्धका भेदभावका कुरा नियमित भइरहने प्रक्रियाको रुपमा समाजमा सामान्यीकरण बन्दै जाने खतरा बढेर जान्छ । कुनै एक दुई व्यक्ति, संस्था, क्षेत्र र स्थान विशेषमा लैंगिक भेदभावबिरुद्ध भएका कामले महिलाको सामाजिक मर्यादास्तर लैंगिकरुपमा समान बनाउन नसक्नुको कारण पनि यही हो । यी सब संरचनागत दोष हुन् जसले समाजमा लैंगिक विभेदलाई मलजल गर्दै आएको छ । यो पुरानो विभेदपूर्ण शक्ति संरचनालाई भत्काएर लैंगिक समानतामा आधारित संरचना नबनाउँदासम्म महिलाको समग्र मर्यादास्तरमा सुधार गर्न सकिदैन । सानातिना सुधारका काम र विभिन्न क्षेत्रको सामान्य उपस्थितिले लैंगिक विभेदको त्यो पहाड भत्काउन सकिदैन । यतिबेला हामी यस्तो असमान शक्ति सम्बन्ध स्थापित गर्ने संरचनाहरु नीतिगतरुपमा परिवर्तन गर्नसक्ने मोडमा छौं । देश नयाँ संविधान निर्माणको क्रममा छ । लोकतन्त्रका सैद्धान्तिक मान्यतामा टेकेर संविधान निर्माण गर्ने कुरामा प्रमुख राजनीतिक दलहरु एक ठाउँमा आइरहेका छन् । लैंगिक समानताको लक्ष हासिल गर्ने दिशामा यसअघि नै सरकार आफैले राष्ट्रिय अन्तर्रा्ष्ट्रियरुपमा गरेका प्रतिबद्धताहरु दस्तावेजका रुपमा हाम्रा अघिल्तिर छन् । हत्या, हिंसा, बलात्कारजस्ता महिलामाथि भइरहेका जघन्य हिंसाको अन्त्यका लागि महिलाको सामाजिक मर्यादास्तर लैंगिकरुपमा समान हुने अवस्था सिर्जना गर्नुपर्दछ जो त्यतिबेला मात्र सम्भव छ जतिबेला विद्यमान असमान शक्ति संरचनाहरु परिवर्तन गरी समानतामूलक बनाउन सकिन्छ । यो सिर्फ महिलाको विषय होइन, पुरुषहरुको समेत नैतिकतासँग जोडिएको विषय हो । यो यस्तो एजेण्डा हो जसले महिलाको कोण मात्रै भन्दा पनि धेरै माथि सामाजिक न्यायको विषय संबोधन गर्छ । समाजमा विद्यमान सबैखाले विभेदको अन्त्यको मार्ग प्रशस्त गर्छ । नयाँ संविधानले कुनै पनि नाममा कुनै पनि खालको लैंगिक विभेदलाई संस्थागत गर्ने काम नगरोस् भन्ने कुरामा सबै बेलैमा चनाखो हुनु जरुरी छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment