0
पोखराका अधिकृत व्यापारीहरुले आफूहरुको सामान बोक्ने गाडीका लागि बजार क्षेत्रमा छुट्टै पार्किङ स्थलको माग गरेका छन् । आफ्नो व्यापारिक कारोबार गर्न गाडीको प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको तर बजार क्षेत्रमा सामान बोक्ने गाडी आवत–जावत र पर्किङमा अनावश्यक समस्या भोग्नुपरेको भन्दै व्यवसायीहरुले उपयुक्त पार्किङ स्थलको माग गरेका हुन् । थोक व्यापारीहरुले ट्राफिक प्रहरीले अनावश्यक दुःख दिनुका साथै दिनहुँ जरिवाना लिने गरेको गुनासो समेत गरेका छन् ।
अधिकृत विक्रेता संघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको ट्राफिक व्यवस्थापन प्रशिक्षण कार्यक्रममा संघका अध्यक्ष सुरेश राज अधिकारीले पोखराको बजार तथा चोकहरुमा अन्य सवारी साधनलाई पार्किङको व्यवस्था गरिएको भएपनि व्यापारीका गाडीलाई सधैं समस्या भएको भन्दै उपयुक्त समय र पार्किङ स्थालको माग गरे । उनले भने–‘नियम पालना गर्दागर्दै पनि केही ट्राफिक प्रहरीले अनावश्यक दुःख दिन्छन्, अपशब्द बोलेर हाम्रा कर्मचारीलाई हैरान पार्छन् । दिनहुँ जरिवाना तिरिरहनु परेको अवस्था छ । ट्याक्सीले पार्किङ स्थल पाएका छन् भने हाम्रा गाडीका लागि पनि पार्किङस्थल तोकिनुपर्छ । महेन्द्रपुलमा सामान विक्री गर्न बगरबाट बोकेर ल्याउन सक्निन ।’ ट्राफिक प्रहरी कार्यालय कास्कीले  कार्यालय समयमा बढी भिडभाड हुने भएकाले बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म पोखराको पृथ्वीचोक देखि चालिखेचोक, महेन्द्रपुलदेखि सिद्धार्थचोकका साथै चिप्लेढुङ्गा देखि सभागृहचोक, पृथ्वीचोकमा मालबाहक सवारी साधन संचालनमा रोक लगाउँदै आएको छ । व्यवसायीहरुले सो समयलाई समेत हेरफरको माग गरेका छन् । 
‘पोखरामा बढ्दो जनघनत्वका साथै बढ्दो सवारी चापलाई हामीले पनि बुझेका छौं । नियम हामीले नमान्ने भनेका छैनौं तर हामीहरुको समस्यालाई पनि सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’,अध्यक्ष अधिकारीले भने–‘यस समस्यालाई सरोकारवालाले छिट्टै समाधान गरोस् भन्ने हाम्रो चाहना छ ।’ मानिस, गाइवस्तु, साना सवारी साधनहरु आफै आएर हाम्रो गाडीमा ठोक्किएर दुर्घटना भएपछि कार्वाही हामीलाई हुन्छ, चालकले अत्यन्तै जोखिमपूर्ण काम गर्नुपर्ने अवस्थामा ट्राफिकले समेत अनावश्यक दुःख दिने गरेको उनले गुनासो गरे ।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र कुमार लालचनले  व्यापारीका गाडीलाईमात्र समय तोकेर आवत–जावतमा रोक लगाउँदा दुःःख लागेको बताए ।   ‘उही सडकमा गुड्ने ट्याक्सीले बोर्ड राखेरै मस्ती गरिरहँदा छुट पाउँछन् तर व्यापारीका गाडीलाई मात्र निशाना किन ? राज्यलाई कर तिर्ने व्यापार गरेर नै हो, व्यापार गर्नै नपाए राज्यलाई कसरी कर तिर्ने ?’ उनले प्रश्न गरे । संघका सदस्य तथा कार्यक्रम संयोजक रिजन शेरचनले ट्राफिक प्रहरी र व्यापारीका सवारी चालक बीचको समस्यालाई तत्काल समाधान गर्न सरोकारवाला लाग्नुपर्नेमा जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले अधिकृत विक्रेता संघले उठाएको माग जायज भएको भन्दै समस्या समाधानमा आफूले पहल गर्ने बताए । अर्को एक प्रसङ्गमा अध्यक्ष थापाले पोउवासंघको विधान संशोधनका लागि यहि वैशाख २६ संघले विशेष साधारणसभा आह्वान गरेकाले सहयोग गर्न आग्रह गरे । उनले पोखराको समग्र विकासका लागि पोउवासंघको विधान संशोधन अपरिहार्य भएकाले सबैको सहयोग आवश्यक रहेको स्पष्ट पारे ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सरोकार समितिका संयोजक समेत रहेका थापाले बैशाख महिनामै विमानस्थल शिलान्यास हुने बताए । संयोजक थापाले गत मंसिर महिनामा पोउवासंघद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलादेखि नै पटक–पटक विमानस्थल शिलान्यास यहि महिनामै हुन्छ भन्दै आएका छन् तर करिब ५ महिना बितिसक्दा समेत विमानस्थल शिलान्यास हुन सकेको छैन । उनले विमानस्थल शिलान्यास यहि महिनामा हुने कुरा शनिबार पुनः दोहो¥याएका छन् । उनले भने–‘प्रधानमन्त्रीज्यूले आफूसंगको भेटमा उपयुक्त समय पारेर मिति तोक्नुस्, विमानस्थल शिलान्यास गर्न आउँला भन्नुभएको छ । यहि वैशाखमै विमानस्थल शिलान्यास हुन्छ ।’
अधिकृत विक्रेता संघका अध्यक्ष सुरेशराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उप–महासचिव होम राइले गरेका थिए । कार्यक्रममा थोक व्यापारीका सवारी चालकहरुको उल्लेख्य सहभागिता रहेको थियो । चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक राजेन्द्र कार्कीले सवारी चालकले गर्नुपर्ने काम, मान्नुपर्ने नियम लगायतका विषयमा प्रशिक्षण दिएका थिए । उनले कास्कीमा बढी दुर्घटना स्थान र दुर्घटना हुनुका कारण, मादक पदार्थ सेवन गरि सवारी चलाउँदा के हुने र कस्तो सजाय हुने, लाइसेन्स प्वाल पार्ने अवस्था, सडक लेन र ट्राफिक संकेतहरु लगायतका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा अधिकृत विक्रेता संघद्वारा प्रकाशित २०७२ सालको क्यालेण्डर विमोचन समेत गरिएको थियो ।

Post a Comment

 
Top