0
गोल्डेन न्यूज संवाददाता
पोखरा ४ वैशाख ।
लेकसाईडबाट हल्लनचोकबाट महेन्द्रपुल जाने बस चढेका यात्रुहरु भन्दै थिए–‘पेट्रोल भाउ घटेपछि मूल्य किन बढ्दै छ माईक्रोबसको भाडा दर अझ घट्नुपर्ने हैन र ?’ प्रतिउत्तरमा पैसा उठाउने खलासीले भन्दै छन्,–‘हामीलाई थाहा छैन, कहाँँ भाडा घट्यो ? भाडा पहिले कै हो ।’ यात्रु र बसका कन्डक्टरहरुको दिनहुँ यस्तै जुहारी चलिरहन्छ पोखरामा । पोखरामा चल्ने सार्वजनिक यातायातका सवारीबाट दैनिकजसो यात्रु ठगिने गरेको बसमा यात्रा गर्ने यात्रुहरुले बताएका छन् । बसका कन्डक्टरले यात्रुबाट मनोमानी भाडा लिने गरेको सर्वसाधारणले बताए । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएपनि यात्रु बोक्ने सार्वजनिक यातायातले भाडा दर घटाएका छैनन् ।
राजधानीका सार्वजनिक यातायातको भाडा दर घटेपनि मोफसलमा चल्ने यात्रुवाहक सवारीबाट यात्रु ठगिने क्रम दैनिक बढिरहेको छ । विशेष गरी पोखरामा हल्लनचोक, गण्डकी हस्पिटल, लेखनाथबाट पोखरा आउँने र बगर चल्ने रुटका मिनी माईक्रो तथा सानो माईक्रोबसबाट यात्रु ठगिंदै आएको यात्रुहरुको गुनासो छ ।  एक जनासंग करिब ४ देखि ८ रुपैयाँसम्म भाडा बढि लिने गरेको यात्रुहरुको गुनासो छ । यात्रुहरुले १२ रुपैयाँ भाडा लाग्ने ठाउँमा १६ देखि २० रुपैयाँसम्म तिनुपरेको हल्लनचोकबाट महेन्द्रपुल जाँदै गरेका एक यात्रुले बताए । जिल्ला ट्राफिक प्रहरी कास्कीका प्रहरी निरीक्षक श्याम अर्यालले भाडा बढी लिने सवारी साधनलाई कार्बाही हुने बताए । मनोमानी भाडा लिन पाईदैन । भाडा बढी लिने माथि कार्बाही गर्ने अर्यालले बताए । अझ बसको कन्डक्टरले क्याम्पस पढ्ने विद्यार्थीदेखि स्कूले विद्यार्थीसम्म लाई दुःख दिने गरेको पाइएका छन् । अर्यालले भने–‘पोखरामा विद्यार्थीले नक्कली परिचयपत्र प्रयोग गर्नेक्रम बढ्दो छ तर सम्बन्धित विद्यार्थीको परिचय पत्रलाई जबर्जस्ती नक्कली भनिदिने, क्याम्पसको कार्ड राखिदिने, भाडा दोब्बर लिने समस्या बढेको विद्यार्थीले गुनासो गरेका छन् ।’ ट्राफिक प्रहरी कार्यालय कास्कीले दैनिकजसो कुनै–कुनै बहानामा माइक्रोबस पक्राउ पर्नुले पनि पोखराको सार्वजनिक भाडाका सवारीमाथि गम्भीर प्रश्न उब्जाएको अर्यालले बताए ।

Post a Comment

 
Top