0
एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफूलाई समयानुसार चल्ने व्यक्तित्वका रुपमा चिनाउन चाहन्छन् । तर पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा भने भट्टराई आफ्नै कारणले र कार्यक्रम आयोजना गर्ने एमाओवादी कास्कीका कारणले समयानुसार चल्न सक्नेजस्तो देखिएनन् । कार्यक्रममा प्रमुख वक्ताको रुपमा आमन्त्रण गरिएका भट्टराई बिहान ७ः३० बजे नै पोखराको सहयात्री पार्टी प्यालेसमा आउने भनि पत्र पठाइएको भएपनि त्यस समयमा त्यहाँ पुग्दा भने आयोजक समेत कोही देखिएनन् । त्यसमाथि पार्टी प्यालेसका संचालक र कर्मचारीलाई समेत कुनै जानकारी थिएन । कार्यक्रमस्थल पुगेका निम्तालुहरु भने भट्टराईको कार्यक्रम के भएछ भन्दै सोधपुछ गर्न थाले । त्यसपछिमात्र थाहा भयो कि कार्यक्रमको समय र स्थान पार्टीको स्थानीय समितिले एकाएक परिवर्तन गरेर बिहान ११ बजे जनप्रिय बहुमुखी क्याम्पसमा गर्ने तय गरेछ । त्यो जानकारी नपाएकाहरु भने बिहान सबैरे सोधपुछ गर्दै जनप्रिय क्याम्पसमा समेत पुगे । त्यसपछिमात्र थाहा भयो कार्यक्रम ११ बजेपछि हुन्छ भनेर । त्यहाँ पुगेका पार्टी कार्यकर्ता शुभचिन्तक र केही संचारकर्मी फर्किएर खाना खाएपछि पुनः ११ बजे कार्यक्रम स्थलमा पुगेको भएपनि क्याम्पसमा पढ्ने विद्यार्थीकोमात्र चहलपहल थियो । आयोजकले अन्य कुनै जानकारी नदिइकन ‘कार्यक्रम ११ बजे’ मात्र लेखिएको सानो कागज पर्खालमा टाँसेका थिए । करिब ११ः३० बजेमात्र एमाओवादीका कार्यकर्ताहरु आउनेक्रम शुरु भएको भएपनि प्रमुख अतिथि भट्टराईका बारेमा सबै बेखबर थिए । अपरान्ह १२ बजेसम्माा सहभागीहरुको बाक्लो उपस्थिति भएपनि भट्टराई नआएपछि उनीहरुले ‘भट्टराईलाई पनि नेपाली समयले छोएको हो कि ?’ भन्दै चर्चा गरेका थिए । आफू समयअनुसार नै चल्ने भन्दै आएका भट्टराई भने कार्यक्रममा करिब १२ः३० बजेमात्र आइपुगे । त्यसपछि डेढघण्टा बढी समय भाषणमामात्रै खर्च गरे । त्यतिबेलासम्म उनी काठमाडौं फर्कने समय भइसकेको थियो । तर मौसम बिग्रिएको र ठूलो वर्षा भएपछि पोखराबाट काठमाडौंको उडान हुन नसक्दा नेता भट्टराई समेत सडकबाट गुडेर काठमाडौंतर्फ लागेका थिए । नेता भट्टराईले आफू राजनीतिक छलफलमा व्यस्त रहेका कारण पोखराको कार्यक्रममा आउन ढिलाई भएको भन्दै स्पष्टिकरण दिएका थिए । डेढ घण्टाको समय भाषणमा खर्चिएका भट्टराईलाई बोल्दा–बोल्दै गर्मी चढेपछि उनले पंखाको माग गरेका थिए । उनले आफूले लगाएको कोट फुकालेर पंखा चाहियो भनेपछि आयोजकले भट्टराइले भाषण गर्दै गरेको पोडियएममाथिको पंखा चलाइदिएका थिए । पंखाका कारण नजिक रहेका मानवअधिकारकर्मी टेकनाथ बरालले आफूलाई चिसो लाग्ने बताएपछि भट्टराईले भने–‘विरोधाभास भनेको यही हो यसलाई पनि सहमति मै टुङ्रग्याउँ है’ भन्दै बराललाई पंखा भन्दा टाढा बस्न लगाएका थिए जसका कारण सहभागीहरुको हाँसोले हल गुञ्जिएको थियो ।

Post a Comment

 
Top