0
ब्रिटेनका ३० भन्दा बढी युनिभर्सिटीसँग सम्बन्धन प्राप्त गरी ब्रिटिश लगानीमा सञ्चालित मलेशियाको सबैभन्दा ठूलो कलेज ब्रिकफिल्ड एशिया कलेज (बियसी) र नोभेल एकेडेमी पोखराबिच शैक्षिक सहकार्यका लागि पहिलो चरणको सम्झौता सम्पन्न भएको छ । नोभेल एकेडेमीका तर्फबाट एकेडेमीका सिइओ विश्वेश्वर आचार्य तथा बियसी ईन्टरनेशनल कलेजका तर्फबाट कलेजका सञ्चालक तथा प्रबन्ध निर्देशक फिलिप लियोनार्डले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार  ब्रिटिश ए लेभल डिग्री, ब्याचलर र मास्टर्स तहमा स्टुडेन्ट एक्सचेन्ज लगायतका विभिन्न विषयहरुमा दुवै पक्षबिच सहकार्य गरिनेछ । यो सम्झौतापछि बेलायती कोर्स मलेशियामै गर्न पाइने हुदा विद्यार्थीलाई समेत सस्तो र सुलभ हुन जाने बताइएको छ ।
यस अघि तत्कालिन सिओओ दिनेश आचार्यले मलेशिया भ्रमणको क्रममा सम्झौताको शुरुवात गरेका थिए । सम्झौता हस्ताक्षर पश्चात सिइओ आचार्यले ग्लोबल भिलेजका रुपमा अघि बढिरहेको वर्तमान शैक्षिक जगतमा अन्तराष्ट्रिय स्तरको गुणस्तरिय शैक्षिक सेवा पोखरामानै उपलब्ध गराउने उद्धेश्यले उक्त समझौता गरिएको बताए । साथै पश्चिमाञ्चलकै सर्वोकृष्ट कलेजका रुपमा घोषित एकेडेमी पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै नेपालकै सर्वोकृष्ट हुन अघि बढिरहेको तर्फ उनले जोड दिए ।
एकेडेमीले यसअघि शैक्षिक गुणस्तर अभिवृद्वि गर्ने सन्दर्भमा गत नोभेम्बरमा बेलायतको सेफिल्ड युनिभर्सिटी, अमेरिकास्थित हर्जिन युनिभर्सिटी र नर्थ वेस्ट मिसौरी युनिभर्सिटीसँग सम्झौता गरिएको थियो । यसका साथै एकेडेमीले निकट भविष्यमै बेलायतको लिभरपुल जोन मोर युनिभर्सिटी र जर्मनीको युनिभर्सिटी अफ एप्लाइड साइन्ससँग गरिने सम्झौताको प्रारम्भिक कार्य सम्पन्न गरिएको जनाइएको छ ।

Post a Comment

 
Top