
पोखरा उपमहानगरपालिका २७ हेम्जाका एक दम्पत्तिको रहस्मय मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ वर्षीय बलबहादुर केसी र उनकी श्रीमती ५७ वर्षीय लक्ष्मी केसी रहेका छन् । शनिबार साँझ खाना खाएपछि अचानक बिरामी परेकी श्रीमती लक्ष्मी केसीलाई उनका श्रीमान बलबहादुरले हेमजाबाट उपचारका लागि पोखराको फिस्टेल अस्पतालमा पु¥याएका थिए । त्यहाँ उपचार सम्भव नहुने स्वास्थ्यकर्मीले बताएपछि उनलाई थप उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल पु¥याइएको थियो । मणिपालमा पुगेपछि भने श्रीमती लक्ष्मी संगैै श्रीमान बलबहादुर पनि अचानक बिरामी परे । दुवै जना बिरामी परेपछि उनीहरुलाई त्यहाँबाट थप उपचारका लागि भन्दै चरक मेमोरियल अस्पताल प¥याइएको थियो । आफ्ना तीन जना सन्तान सबै अमेरिकामा रहेकोले घरमा दुइृ जना अर्थात दम्पत्तिमात्र बस्दै आएका थिए । दुवै जना अचानक बिरामी परेको र दुवैको मृत्यु भएपछि त्यो घटना रहस्यमय बनेको छ । कतिपयले खानामा विषादी परेपछि दुवैको मृत्यु भएको आशंका गरेका छन् तर त्यो विषादी कसरी र कसले पारिदियो भन्ने प्रश्न भने अनुत्तरित रहेपनि प्रहरीले आइतबार साँझ स्थानीय मिठु क्षेत्रीलाई पक्राउ गरेको छ । विश्वस्त स्रोतका अनुसार मृतक बलबहादुरले केही दिन पहिले शरीर दुखेका कारण जडिबुटीको रुपमा चिनिएको निरमसी खाए शरीर दुखेको ठीक हुने भन्दै मिठुलाई त्यस्तो औषधि मगाइदिन रु.५ सय दिएका थिए । त्यसपछि मिठुले निरमसी मगाइदिएको र शनिबार बिहान ती दम्पत्तिले घरमा निरमसी राखेर पुवा पकाइ खाएको बताइन्छ । निरमसीमा विषादी भएका कारण पुवा खाएको केही समयपछि श्रीमती बिरामी परेको र हेमजाको चिनजान भएको ट्याक्सी लिएर उनीहरु उपचारका लागि अस्पताल आएका थिए । ट्याक्सीमा आउँदै गर्दा बलबहादुरले ट्याक्सी चालकसंग आफूलाई विष्णुकी श्रीमती मिठुले केही महिना अघि नै निरमसी उपलव्ध गराएको र त्यही निरमसी राखेका पुवा खाँदा श्रीमती बिरामी परेको भन्दै दुःखेसो गरेका थिए । त्यसको केही बेरमा भने उनी आफै बिरामी परी दुवै जनाले उपचारकै क्रममा भौलिक संसारबाट बिदा लिए । कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक हरिबहादुर पालले वृद्ध दम्पत्तिले शरीर दुखेपछि निरमसीलाई पुवामा मिसाएर खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान जारी रहेको समेत उनले बताए । तर आइतबार दिउसो दम्पत्तिको मृत्युको पछाडि हेमजाका रामबहादुर खत्री अर्थात विष्णुकी श्रीमती मिठु क्षेत्रीको संलग्नता रहेको भनि किटानी जाहेरी परेपछि प्रहरीले मिठुलाई पक्राउ गरेको हो । मृतक दम्पत्तिको शव भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
Post a Comment