कास्कीको चापाकोट, भदौरेतामागी, ढिकुरपोखरी र कास्कीकोट लगायतका गाविसको संगमस्थल माझथुममा संचालित महायज्ञ बुधबारसम्म पनि जारी छ । महायज्ञको पाचौं दिनसम्म आइपुग्दा भक्तजनको सहभागिता बढ्दै गएको छ । महायज्ञको पाचौं दिन बुधबारसम्ममा करिब २५ लाख रुपैयाँ संकलन भएको छ । वैदिक सनातन धर्म र संस्कृतिको रक्षा गर्ने, आध्यात्मिक जागरण एवं संस्कृत शिक्षा प्रचारका साथै सिद्धबराह तपोवन सन्यास आश्रम क्षेत्रको पर्यटकीय विकास, मन्दिर निर्माण बहुउद्देश्यीय भवन निर्माण लगायतका उद्देश्यका साथ सिद्धबराह धनधान्याचल धार्मिक महामहोत्सव एवं श्रीमत् देवी भागवत नवाह ज्ञानमहायज्ञ आयोजना गरिएको हो । महायज्ञमा भागवत परिकर ब्र. नारायण प्रसादले भागवत कथा वाचन गरिहेका छन् । महायज्ञको पाचौं दिन बुधबार पञ्चासे परिवर्तनशील आमा समूह भदौरे–५ कास्कीले ५५ हजार पाँचसय ५ रुपैयाँ दान गरेकोछ । कास्कीकोट–९, ढावाका शशिधर गौतमले तुलादान तथा नगद दान मार्फत ३७ हजार ७ सय ७७ रुपैयाँ, भदौरे–५, ठूलाखेत कास्कीका गोपाल प्रसाद भण्डारले तुलादान र नगद गरि ३३ हजार ३ सय ३३ दान गरेका छन् । यसैगरी तप्राङ सिल्दुजुरे हाल पोखरा–१४ का कृष्णप्रसाद देवकोटाले २१ हजार एकसय ११ रुपैयाँका साथै धान्याञ्चल, शालिग्राम परिक्रमा, कलश विक्री लगायतबाट धेरै रकम दान प्राप्त भएको प्रचारसंयोजक केशव प्रसाद सुवेदीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । माझथुमको धार्मिक र पर्यटकीय महत्वलाई मध्यनजर गर्दै सिद्धबराह संस्कृत विद्याश्रममा अध्ययनरत बटुकहरुको शिक्षा, दीक्षा र आवास सुविधालाई व्यवस्थित गर्ने उद्देश्य पनि महायज्ञको रहेको छ । आध्यात्मिक जागरण एवं गुरुकूल स्थापना गरि संस्कृत शिक्षाको प्रचारका साथै विश्व शान्ति, मानव कल्याण एवं धार्मिक र आध्यात्मिक चेतनाको विकास गर्ने, समाजलाई नैतिक, अनुशासित बनाउने लक्ष्य समेत महायज्ञले लिएको छ । यसअघि सोही स्थानमा गरिएको महायज्ञबाट संकलित रकमले गुरुकूल भवन निर्माण कार्य भैरको छ । महायज्ञ स्थल माझथुम पोखराको लेकसाइड हल्लनचोकबाट फेवातालको किनारा हुँदै आठ किमिको दूरीमा रहेको महायज्ञ सचिवालयका सचिव भवानीप्रसाद अधिकारीले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment