0
केही वर्ष यता आलु गाउँको रुपमा परिचित कास्कीको हेम्जामा छैटौं आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय विष्णु पादुका क्लबले विगत ५ वर्षदेखि आयोजना गर्दै आइरहेको हेम्जा आलु महोत्सव–२०७१ यही चैत्र २३ गतेदखि २९ गतेसम्म हुने भएको छ । सोमबार हेम्जामा पत्रकार भेटघाटको आयोजना गरी दिईएको जानकारी अनुसार  हेम्जालाई समग्र रुपमा आर्थिक तथा सामाजिक उत्पादनका लागि कृषि, पर्यटन, सांस्कृतिक, व्यापार, खेलकुद धार्मिक तथा अन्य क्षेत्रको रुपमा विकास गर्दै कृषि क्षेत्रको रुपमा परिचित गराउने लक्ष्य रहेको छ । यसैगरी कृषि सवलीकरणका लागि पर्यटन तथा जैविक विविधताको प्रचार–प्रसार गर्नुका साथै कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न पहल गर्ने, हेम्जालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देशविदेशमा चिनाउने लगायतका उद्देश्यका साथ यो वर्ष पनि हेम्जामा आलु महोत्सवलाई निरन्तरता दिइएको क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए । महोत्सवको मुख्य आकर्षणको रुपमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा साँगीतिक समूहको प्रस्तुति, स्थानीय भेषभूषा झल्कने साँस्कृतिक कार्यक्रम लगायत रहेको कार्कीले बताए । गत वर्षको आलु महोत्सवमा करिब १३ करोडको आलु विक्री भएको जानकारी दिदै अध्यक्ष कार्कीले यो वर्ष १३ करोड ४६ लाखको आलु विक्री गर्ने लक्ष्य लिएको जनाएका छन् । हेम्जामा मात्रै ४ सय ८० हेक्टरको क्षेत्रफलमा आलु उत्पादन हुने गरेको जानकारी दिंदै अध्यक्ष कार्कीले यो १६ टन आलु उत्पादन भएको बताए । कार्यक्रममा बोल्दै क्लबका कोषाध्यक्ष महेन्द्रसिङ थापाले आलु उत्पादन गर्ने शिलशिलामा विषादी छर्ने प्रवृत्तिमा कमि आएको जानकारी गराउँदै हेम्जाका किसानमा प्राङ्गगारिक मल छर्नुपर्छ भन्ने चेतना विस्तारै बढ्दै गएको बताए । महोत्सवमा १२ वटा आलुको परिकार स्टल, ५० वटा कृषि प्रविधि प्रदर्शनी, एक प्राथमिक उपचार केन्द्र र एक सूचना केन्द्र रहने उनले जानकारी दिए ।   कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय कास्कीका वरिष्ठ कृषि विकास अधिकृत रमेश कोइरालाले यो महोत्सव नितान्त कृषि महोत्सव भएको बताउँदै कास्कीका अन्य छिमेकी जिल्लालाई समेत महोत्सवमा समेट्नका लागि आग्रह गरे । महोत्सव आयोजना गर्न करिब ३२ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ । यसैगरी महोत्सबाट करिब ३३ लाख ३५ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ ।  महोत्सव सम्पन्न गर्नका लागि क्लबका अध्यक्ष रमेश कार्कीको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने २१ सदस्यीय कार्य सम्पादन समिति र २२ वटा विभिन्न उप–समिति समेत गठन गरिएको छ ।

Post a Comment

 
Top