0
 पोखराको बिरौटामा शनिबार दिउँसो ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालकको ज्यान गएको छ । ग१ख ९४५ नम्बरको लोकल ट्रकले ग६प ७१६३ नम्बरको रातो पल्सर मोटरसाईकललाई ठक्कर दिँदा गम्भीर घाईते अनिल तामाङको उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए । पोखरा १७ ड्याम्साईड बस्दै आएका १९ वर्षीय तामाङको गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचारको क्रममा दिउँसो पौने ३ बजे निधन भएको हो । दिउँसो १ बजेर ५० मिनेटमा बिरौटाचोक देखि ५० मिटर छोरेपाटनतर्फ भएको सो घटनापछि ट्रक चालक फरार रहेकाले दुर्घटनाको कारण पत्ता नलागेको उनले जनाए । ट्रक शिव ढकालले भन्ने ड्राईभरले चलाउँदै आएको भन्ने बुझियो । उनी हाम्रो नियन्त्रणमा छैनन्, सम्पर्क गर्दा मैले चलाएको होईन भन्छ ।’ रजौरेले भने–‘उनलाई पक्राउ गरी घटना बारे बुझ्नेछौं ।’ ठक्कर दिने ट्रक र मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको छ । मृतक तामाङ एक्लो छोरा हुन् । चार दिदीबहिनीका एक्लो भाइ तामाङका बाबु समेत छैनन् ।
यसैगरी तनहुँको भिरकोट गाविस वडा नं २ को दुलेगौँडामा ग१ज ५७३२ नम्बरको जिप दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । भिरकोटबाट यात्रु लिएर भिमादतर्फ आउँदै गरेकोे जिप अनियन्त्रित भई सडकमै पल्टिँदा  यात्रु घाइते भएका हुन् । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा भिरकोट–६ की जुनामाया माझी, सोही ठाउँका चन्द्रबहादुर माझी, नरिमाया रानाभाट, रिखा रानाभाट, अस्मिता रानाभाट, दलबहादुर रानाभाट, विश्वास रानाभाट, नेत्रबहादुर रानाभाट, कृष्णा रानाभाटलगायतको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । सामान्य अवस्थाका घाइते सङ्गीता रानाभाट, माया रानाभाट, श्रीमाया नेपाली, कमल नेपाली, वसन्ती आले, पदम आलेलगायतको भिमादस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  तीव्र गतिमा गुडेका कारण अनियन्त्रित भई जिप पल्टेको बताइएको छ । जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।  यसैबीच, तनहुँको व्यास–१ तालघरे स्थित ढुङ्गा काट्ने उद्योगमा काम गर्दै आएका एक मजदुरको आइतबार मृत्यु भएको छ ।  प्रहरीका अनुसार मृत्यु हुनेमा काँहु शिवपुर घर भई हाल व्यास–५ बैरेनीमा डेरा गरी बस्ने ३४ वर्षीय मनबहादुर थापा रहेका छन् । ढुङ्गा उद्योग नजिकै बुल्दी खोलाको किनारमा अचेत अवस्थामा भेटिएका ती मजदुरको उपचारका लागि दमौलीतर्फ ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top