0
पोखरेली युवा सांस्कृतिक परिवारले मार्च २१ अर्थात ७२औं विश्व कविता दिवसको अवसरमा विशेष कवि गोष्ठी तथा समता काव्य सन्ध्या गर्ने भएको छ । कला साहित्य र संगीतको विकास र प्रवद्र्धनमा काम गर्दै आएको परिवारले हरेक बर्ष जस्तै यस बर्ष पनि विश्व कविता दिवस विशेष कार्यक्रम गर्न लागेको हो । यूनेस्कोले औपचारिक रुपमा मार्च २१ लाई विश्व कविता दिवसको रुपमा १९९९ मा घोषणा गरी त्यसको एक बर्षपछिबाट यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा २००२ देखि मजाउन सुरु गरिएको कविता दिवस पोखरामा गएको चार बर्षदेखि पोखरेली युवा सांस्कृति परिवारले विशेष कार्यक्रम गरी मनाउँदै आएको छ । ‘गएका बर्षहरुमा जस्तै यस बर्ष पनि विशेष कार्यक्रम गरी विश्व कविता दिवस मनाउन लागेका छौं’ परिवारका अध्यक्ष सुरेश रानाभाटले भने,‘पोखरा र आसपासका गरी झण्डै बीस जना कविका उत्कृष्ट कविताहरु सुन्नेछौं ।’  नेपाली कविताले लिएको बाटो र अहिलेको अवस्थाका विषयमा चर्चा समेत हुन आयोजकले जनाएको छ । परिवारले हरेक महिनाको पहिलो शनिबार गर्दै आएको ‘समता काब्य सन्ध्या’ लाई पनि दिवसकै अवशरमा सँगै कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक प्रकाश ज्ञवालीले जानकारी दिए । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा शनिबार ४ बजे सुरु हुने कार्यक्रममा पोखरा बाहिरका कविहरुको विशेष सहभागिता रहने परिवारले जनाएको छ ।
यसैगरी कवि तथा गीतकार वसन्त चौधरीको एकल काव्य प्रस्तुति हुने भएको छ । विश्व काव्ययात्राको १३ औं शृङ्खलाको रूपमा रहेको सो काव्य प्रस्तुति नवआदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा यही चैत ७ गते गण्डकी आवासीय उमाविको सभाकक्ष हलमा दिउँसो साढे एक बजे हुने भएको हो । सो अवसरमा वसन्त चौधरी फाउण्डेशनद्वारा समाजलाई एम्बुलेन्स पनि प्रदान गर्ने कार्यक्रम रहेको नवआदर्श सामुदायिक विकास समाजका सचिव लक्ष्मी पाण्डेले जानकारी दिइन् ।

Post a Comment

 
Top