0
पोखराको पुरानो बसपार्कस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालले आइतबारदेखि निःशुल्क स्वास्थ्य परिक्षण शिविर शुरु गरेको छ । सवै वर्ग र क्षेत्रलाई उपचार सेवा प्रदान गर्ने उदेश्यले शुरु गरिएको शिविर चैत ३० गतेसम्म चल्ने छ । शिविरमा झण्डै एक हजार पाँच सय जनाले स्वास्थ्य परिक्षण गराउने अपेक्षा गरिएको छ । विगतमा अभियान सामुदायिक अस्पताल र त्यसपछिको शहिद मेमोरियल सामुदायिक अस्पताल नयाँ व्यवस्थापन सहित पश्चिमाञ्चल सामुदायिक अस्पतालको नामबाट संचालन हुन लागेको हो । अस्पताल संचालनको पुर्वसन्ध्यामा स्वास्थ्य परिक्षण शिविर गरिएको हो । शिविरमा प्रसुती, बाल रोग, छाला रोग, मुटु, पेट तथा छात्ति रोग, हाडजोर्नि, नसा, मुख तथा दन्त रोग लगायतका रोगको परिक्षण गरिने बताइएको छ । स्वास्थ्य परिक्षण शिविरको अवसर पारेर अस्पतालले केहि सेवा निःशुल्क र केहि सेवामा सहुलियतको घोषणा पनि गरेको छ । जसमा इसिजी, ब्लड सुगर जाँच निःशुल्क गर्ने, ल्याब र एक्सरे सेवामा २५ प्रतिशत छुट, औषधीमा ६ प्रतिशत छुट र बेड शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने छ । अस्पतालले नववर्षसँगै बैशाख १ गतेबाट औपचारिक रुपमा सेवा शुरुवात गर्ने तयारी गरेको छ । अस्पतालले प्रसुती, बाल रोग, छाला रोग, मुटु, पेट तथा छात्ति रोग, हाडजोर्नि, नसा, मुख तथा दन्त रोग लगायतको उपचार सहित इसिजी, एक्स रे र प्रयोगशाला सेवा प्रदान गर्ने जनाएको छ । ‘निकट भविष्यमा नै बाल स्वास्थ्यका लागि खोप कार्यक्रम, परिवार स्वास्थ्यका लागि परिवार नियोजन कार्यक्रम सहित आई.सि.यू र एन.आई.सियू सेवा शुरु गर्ने छौ ।’ पश्चिमाञ्चल सामुदायिक अस्पतालका अध्यक्ष हरिप्रसाद पाण्डेले भने–‘पोखराको एक उत्कृष्ठ अस्पतालको रुपमा विकास गर्ने लक्ष्य लिएका छौ ।’ 

Post a Comment

 
Top