0

पोखरा उप–महानगरपालिका कार्यालयले पोखरामा संचालित २५ वटा मासु पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा समितिले चार वटा प्रमाण पत्र, ३ वटा मूल्य सूचना बोर्ड र एउटा ढक नियन्त्रणमा लिएको छ । उनीहरुलाई समय दिएर नगरपालिकामा हाँजिर हुन निर्देशन दिईएको पोखरा उप–महानगर पालिकाका नगर निरीक्षक वसन्त चालिसेले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । पोखराका अधिक मासु पसलमा व्यवसायीको एकाधिकार कायम रहेको, मूल्यमा एकरुपता नभएको, कतिपय पसलहरु अत्यन्तै फोहोर भेटिएको अनुगमनका क्रममा भेटिएको समितिले जनाएको छ । अनुगमन गरिएका २५ वटा पसलमध्ये सिद्धार्थचोकमा रहेको फिस्टेल कोल्ड स्टोर्स र सृजनाचोकमा रहेको जस्मिन फ्रेस हाउस निकै फोहोर रहेको टोलीले फेला पारेको थियो । त्यसै गरी समितिले पोखराको जिरो किलोमिटरमा एक व्यपारीले काँचो कपडा, फलफूल र तरकारी एउटै पसलबाट विक्री गरेको भन्दै सो पसल संचालकलाई नगरपालिकामा हाँजिर हुन निर्देशन दिएको छ । अधिकांश मासु पसल संचालकहरुले कुखुराको मासुको मूल्य छुट्टा–छुट्टै टाँसेर विक्री गर्ने गरेको पाईएको छ । अहिले पोखरामा कुखुराको प्रतिकेजी होल मासुको मूल्य ३ सय ९० कायम गरिएको भएपनि व्यवसायीहरुले साप्रा मात्र भन्दै ७ सय ८० रुपैयाँ प्रतिकेजी मासु विक्री गर्दै आएको भेटिएको छ । यो सरासर कालो बजारी भएको अनुगमन समितिले निश्कर्ष निकाल्दै कास्की खसी तथा कुखुरा व्यवसायीलाई बोलाएर तत्काल कालोवजारी रोक्न निर्देशन दिने बताएको छ । नगरपालिकाका नगर निरीक्षक वसन्त चालिसेको संयोजकत्वमा रहेको अनुगमन समितिमा उपभोक्ता मञ्च कास्कीका सदस्य कमल पौडेल अथक, नगरपालिका प्रतिनिधि पुरुषोत्तम थापा, पत्रकार प्रकाशचन्द्र सापकोटा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि लगायत सहभागी थिए । अनुगमन गरिएका २५ फ्रेस हाउसहरु मध्ये पोखराको सिद्धार्थ चोकमा रहेको सिटी कोल्ड स्टोर्स बाहेक अन्य सवैमा मासु पसलहरुमा विभिन्न कमी कमजोरी देखिएको अनुगमन टोलीले बताएको छ । अनुगमन टोलीका संयोजक वसन्त चालिसेले उपभोक्तामाथि जानजान ठगी गर्ने व्यवसायीलाई कार्वाहीको लागि सिफारिस गरिने बताए । यसै गरी टोलीले आईतवार पोखराका १६ वटा मासु पसलमा अनुगमन गरेको थियो । अनुगमनको क्रम जारी रहने र गलत गर्ने मासु पसलवालालाई कार्वाहीको दायरामा ल्याउने अनुगमन समितिका संयोजक वसन्त चालिसले जानकारी दिए

Post a Comment

 
Top