0
पछिल्लो समय कृषिजन्य उत्पादनहरु वृद्धिका नाममा प्रयोग भैरहेको विषादीको न्युनिकरण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । आवाश्यक जनचेतनाको कमीका कारण विषादीको प्रयोग बढिरहेको बताउँदै उनीहरुले विषादीहरु विषादी नै हुन् औषधि होईनन् भन्ने चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका हुन् ।
जिल्ला कृषि विकास कार्यालय कास्कीको आयोजना र पोखरा सिड तथा खुद्रा बिक्रेता संघको संयोजनमा गरिएको रासायनिक विषादी न्युनिकरण सम्बन्धी सरोकारवाला वीचको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै क्षेत्रीय कृषि निर्देशनालय पोखराका निमित्त निर्देशक हृदयनाथ घिमिरेले विषादीको पहिचान गरेर मात्रै प्रयोग र विक्री वितरण गर्न सम्बन्धित सवैलाई आग्रह गरे । विषादीको कारोवारमा उच्च शर्तकता अपनाउन समेत उनले सुझाव दिए । क्षेत्रीय कृषि निर्देशनालय पोखराका बालि संरक्षण अधिकृत धन बहादुर रानाले विषादीको पहिचान गरि उचित र सावधानीपूर्वक प्रयोग गर्नुपर्नेमा जोड दिए । क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखराका बालि संरक्षण अधिकृत शिवराज बरालले विषादी प्रयोगका सवालमा प्राविधिकको सल्लाहलाई अक्षरस पालना गर्नुपर्ने बताए । पोखरा सिड कम्पनीका अध्यक्ष नारायण प्रसाद गौतमले पोखरामा पछिल्लो समय विषादी आयातको मात्र घट्दै गएको  बताए । नेपाल भारतको खुला सीमानाका कारण झोलाबाट विषादीको बिक्री भैरहेको गौतमले बताए । पोखरा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले अर्गानिक उत्पादनहरुको प्रयोगमा जोड दिदै पोखरालाई वातारणमैत्री शहर बनाउनका लागि विषादीको प्रयोगलाई न्युनिकरण गर्दै लैजानु पर्ने बताए । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बलराम आचार्यले कृषकहरु अर्गानिक उत्पादन बढाउन तर्फ लाग्न जरुरी रहेको भन्दै कृषकहरुको सम्मान गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्ने अधिकांश सरोकारवालाहरुले विषादीको प्रयोगलाई न्युनिकरण गर्दै अर्गानिक उत्पादनमा जोड दिएका थिए । कृषिजन्य उत्पादनहरुमा विषादीको प्रयोग बढ्दै गएकाले मानव स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको उनीहरुको भनाई रहेको छ । माटोको उर्वराशक्ति र वातावरणीय प्रभाव बढ्दै गएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् । कार्यक्रम जिल्ला कृषि विकास अधिकृत रमेश कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top