0
पोखरा उपमहानगरपालिका वडा नं. ५ पस्र्याङमा साहारा इन्टरनेशनल फर्टिलिटि सेन्टर संचालनमा आएको छ । निःसन्तान दम्पत्तिका लागि सन्तान प्राप्ति गराउनका लागि अत्याधुनिक प्रविधिको उक्त सेन्टर काठमाडौं पछि पोखरामा संचालन भएको हो । विशेष गरि सन्तानको चाहना गर्ने तर सन्तान नभएकाहरुका लागि साढे दुई लाख रुपैयाँ खर्च गरेर सन्तान जन्माउन सकिने प्रविधि उक्त संस्थाले भित्र्याएको हो । साहारा हस्पिटलको भगिनी संस्थाको रुपमा रहेको फर्टिलिटिमा गर्भाशयमा वीर्य राखेर सन्तान जन्माउने (आइयूआइ) र टेष्टट्युव वेबी जन्माउने (आइभीएफ) प्रविधि उपलव्ध छ । आइयूवाई प्रविधिका लागि करिब १० हजार रुपैयाँ र आइभीएफ प्रविधिका लागि साढे दुई लाख रुपैयाँ खर्च हुने अस्पतालका डा. राजेश अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा गर्भवती हुने महिलाहरु मध्ये १७ प्रतिशत किशोरीहरु रहेकोमा कास्कीमा भने २७ प्रतिशत किशोरी रहेका छन् । यसैगरी एक सय जना बालिका जन्मिंदा एकसय ५० जना बालक जन्मिने गरेको र बजारमा गर्भपतन धेरै हुने गरेको तर गाउँमा किशोरीहरु गर्भवती हुनेक्रम बढेको बताइन्छ ।
करिब ३ महिना अघि आइयूवाइ प्रविधि संचालन गरेको उक्त अस्पतालमा सन्तानको रहर गरेका २५ जनाको उपचार गरिएकोमा १३ जनामा सफल भएको जानकारी दिंदै डा. अधिकारी आइभिएफ प्रविधिका लागि हालसम्म तीन जनामात्र सम्पर्कमा आएको र पहिलो पटक आगामी अप्रिल २२ मा भारतबाट आउने चिकित्सकहरुबाट उपचार गरिने बताए । उनका अनुसार आइभिएफ प्रविधिबाट सन्तान जन्माउने प्रयासले करिब ४० प्रतिशतमात्र सफलता प्राप्त गरेको छ । दुई करोड बढी लगानी भएको उक्त फर्टिलिटि सेन्टरमा तीन जना विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्यकर्मी रहेको र भगिनी संस्था साहारा अस्पतालमा १५ जना चिकित्सक सहित ठूलो संख्यामा स्वास्थ्यकर्मी रहेको उनले बताए ।
उक्त अस्पतालको मंगलबार एक समारोहका बीच पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले यस क्षेत्रका कुनै पनि महिलाले बच्चा जन्माउन नसकेको कारण समाजमा अपहेलित भएर बाच्नु नपर्ने बताए । नेपाली समाजमा अझैपनि टेस्टट्यु बेबीप्रति हेर्ने दृष्टिकोण सकारात्मक  नभएको बताउँदै उनले साहारा हस्पिटल प्रालि तथा साहारा इन्टरनेश्लन फिर्टिलिटी सेन्टरले गरिब र निःसन्तान दम्पत्तिलाई सस्तो शुल्कमा सेवा दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै साहारा हस्पिटल प्रालि तथा साहारा इन्टरनेश्लन फिर्टिलिटी सेन्टर स्थापना गर्नका लागि सहयोग गर्ने इन्टरनेशलन फिर्टिलिटी सेन्टर दिल्लीका डा.रीता वक्सीले आफूले धेरै नेपालीहरु बच्चाको चाहाना गर्दै दिल्लीमा पुगेर उपचार गरेको देखेपछि नेपालमा यो प्रविधि भित्र्याएको बताइन । काठमाडौंमा परोपकार प्रसुती गृह र ग्राण्डी हस्पिटलसम्म सहकार्य गरेको र त्यसपछि पोखरामा फर्टिलिटि सेन्टर स्थापना भएको बताउँदै उनले निकट भविष्यमा नेपालगञ्जमा पनि सेवा संचालनमा ल्याएने जानकारी दिइन । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय उपसभापति गोपाल मान श्रेष्ठ, संविधानसभाका सदस्य शारदा पौडेल, नेपाली कांग्रेस स्याङ्गजाका सभापति एवं सभासद् कमलप्रसाद पंगेनी, अर्का सभासद् राजु थापा लगायतले  हस्पिटलका सेवालाई व्यापारमा मात्र सीमित नराखेर सेवाको भावले काम गर्नुपर्ने सुझाव दिएका थिए । नेपाली काग्रेसका नेता तथा पूर्व सांसद खगेन्द्र रेग्मी र कास्की कांग्रेसका नेता एवं पूर्व सांसद शुक्रराज शर्माले विदेशमा शिक्षा हासिल गरेर विदेशमा नै पलायन हुने समस्या नेपालीहरुमा बढिरहेकोमा चिन्ता व्यक्त गर्दै त्यस्तो समस्यालाई न्यूनीकरण गर्नका लागि सरकार लाग्नुपर्ने बताए । त्यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य शोभियतबहादुर अधिकारीले पोखराको पस्र्याङमा मातृ शिशु हस्पिटलको स्थापना गर्नुपर्नेमा जोड दिए । अफिम गण्डकी धौलागिरीका अध्यक्ष अशोक पालिखेले अझैपनि निजी हस्पिटल पैसा कमाउनका लागि मात्र सञ्चालनमा आउँछन् भन्ने भ्रमलाई हटाउनुपर्ने बताए । नेपाल मेडिकल एशोसिएशन गण्डकी शाखाका अध्यक्ष डा.लुमेश्वर आचार्यले पोखरामा इन्टरनेशलन फिर्टिलिटी सेन्टर सञ्चालनमा आइसकेपछि यस क्षेत्रका व्यक्तिहरु सेवाका लागि काठमाडौ र दिल्ली धाउनु नपर्ने बताए । त्यस्तै अफिमका केन्द्रीय उपाध्यक्ष डा.पदम खड्काले इन्टरनेश्लन फिर्टिलिटी सेन्टरले सर्वसुलभ तथा सस्तोमा उपचारको विधि अपनाउनुपर्ने बताए । साहारा हस्पिटल प्रा.लि. तथा साहारा इन्टरनेश्नल फर्टिलिटी सेन्टरका अध्यक्ष एवम् वरिष्ठ प्रसुती तथा स्त्री रोग विषेशज्ञ डा.गिरीधारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला तथा बालबालिका कार्यालय कास्कीका वरिष्ठ अधिकृत लक्ष्मी जि.सी.ले परिवार नियोजनको साधनको रुपमा गर्भपतन सेवालाई प्रयोग गर्न नुहने बताइन । कार्यक्रममा क्षेत्रीय प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत रामजी कोइराला, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सञ्चालक समितिका अध्यक्ष रामनाथ अधिकारी, नेपाली कांग्रेस कास्कीका उपसभापति तथा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष विष्णु बाँस्तोला, पोखरा उपमहानगरपालिका वडा नं ५ का पूर्व वडाध्यक्ष द्रोणराज अधिकारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य साहारा हस्पिटल प्रा.लि तथा इन्टरनेश्लन फिर्टिलिटी सेन्टरका अध्यक्ष डा.गिरीधारी शर्माले गरेका थिए भने कार्यक्रमको संचालन विमला भण्डारीले गरेकी थिइन् ।

Post a Comment

 
Top