0
हरि पन्त
गोल्डेन न्यूज

 पोखरामा केही दिनयता ट्राफिक प्रहरीको सक्रियता बढेको छ । पोखराको ट्राफिक व्यवस्थापनमा सुधार गर्नेमात्र नभएर वषौंदेखि अलपत्र अवस्थामा रहेका मोटर साइकलको व्यवस्थापन र ट्राफिक जनशक्तिको परिचालन जस्ता विषयमा ट्राफिक प्रहरीले विशेष ध्यान दिन थालेको छ । तैपनि अपेक्षाकृत सुधार भने हुन नसकेको सर्वसाधारणको भनाइ छ । यसैक्रममा पोखराको विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिइ वर्षौदेखि अलपत्र अवस्थामा रहेका दर्जनौं मोटरसाइकल मंगलबार पोखराबाट बुटवल पठाइएको छ । ट्राफिक प्रहरी कार्यालय कास्कीको हाता बाहिर सडक किनारामा अलपत्र राखिएका ती मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाउन केही समय अघि १५ दिने सूचना जारी गरिएको थियो तर कसैले पनि आफ्नो दावी पेश गरि लिन नआएपछि ३८ वटा मोटरसाइकल पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलमा लिलाम विक्रीका लागि पठाइएको हो । प्रहरीले नियन्त्रणमा लिएका ती मोटरसाइकलहरु मध्ये अधिकांश मोटरसाइकल नविकरण फेल भएका तथा बिलबुक नभएका थिए । नविकरण फेल भएका मोटर साइकलको मूल्य भन्दा नविकरण मूल्य बढी पर्ने भएका कारण सवारी धनीले लिन नआएको आशंका ट्राफिक प्रहरी कार्यालय कास्कीको छ । बिलबुक नभएका मोटर साइकल भने चोरी या अन्य कुनै कारणले सवारी धनी लिन नआएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक शिव थापाले बताए । बुटवल पठाइएको ती मोटरसाइकलहरुमा आरएक्स, हिरोहोण्डा, यामाहा, पल्सर, बजाज केही चाइनिज मोटरसाइकल छन् । सुरक्षाकोे दृष्टिकोणका साथै राख्ने ठाउँको अभाव भएका कारणले ती मोटरसाइकल प्रक्रियागत ढङ्गले नै बुटवल पठाइएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी निरीक्षक श्यामु अर्यालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखराको ट्राफिक व्यवस्थापनमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुखका रुपमा केही दिनअघि पोखरा आएका प्रहरी नायब महानिरीक्षक पंकज श्रेष्ठले पोखरामा ट्राफिक व्यवस्थापनमा तत्काल सुधार गर्न निर्देशन दिएपछि ट्राफिक प्रहरी कास्कीले ट्राफिक व्यवस्थापनमा आफ्नो ध्यान केन्द्रित गरेको र ट्राफिक व्यवस्थापनमा निकै सुधार आएको ट्राफिक प्रमुख अर्यालले दावी गरे । उनले ट्राफिक व्यवस्थापनमा नागरिकको प्रमुख दायित्व हुने बताउँदै यसका लागि सबैको सहयोग आवश्यक रहेको स्पष्ट पारे । ट्राफिक प्रहरीले पोखरा–काठमाडौं चल्ने पर्यटक गाडी पृथ्वीचोकस्थित चाइनापुलदेखि मुस्ताङ्गचोकसम्मको क्षेत्रमा यात्रुलाई लापर्वाही तवरले उकाल्ने–ओराल्ने गरेकाले त्यसलाई व्यवस्थित गर्न सम्बन्धित संस्था नाट्टालाई पत्रचार गरिसकेको जनाएको छ । पर्यटक बसले पृथ्वीचोकको व्यस्त सडकमा ट्राफिक व्यवस्थापनमा अवरोध पु¥याएको भन्दै यसलाई व्यवस्थित गर्न बसलाई सम्बन्धित बसपार्क मै पठाइने जानकारी ट्राफिक प्रमुख अर्याले दिए ।
यसैगरी सवारी दुर्घटना न्युनिकरण गर्नका लागि ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरा–बाग्लुङ राजमार्ग, सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गका विभिन्न स्थानमा ट्राफिक संकेत बोर्डहरु राखेको छ । 

पोखरा उप–महानगर पालिका, सडक डिभिजन कार्यालको सहयोगमा ट्राफिक संकेत बोर्डहरु राखिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक थापाले बताए । उनका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत पोखरादेखि कोत्रेसम्म १८ वटा, सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरादेखि स्याङ्जासम्म १३ वटा र पोखरा बाग्लुङ राजमार्ग अन्तर्गत पोखरा देखि हेमजासम्म १४ वटा ट्राफिक संकेत बोर्डहरु राखिएका छन् । यसैगरी पोखरा उपमहानगरपालिका भित्र ट्राफिक व्यवस्थापनमा सहजता ल्याउनका लागि विभिन्न स्थानहरुमा ट्राफिक संकेत बोर्डहरु स्थापना गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पोखरा उप–महानगरपालिका भित्र राखिएका ट्राफिक संकेत बोर्डहरुमा मोटर साइकल पार्किङ बोर्ड १२ वटा, कार पार्किङ बोर्ड १२ वटा, नो पार्किङ बोर्ड १० वटा र नो स्पिड बोर्ड १० वटा रहेको थापाले जानकारी दिए ।

यसैगरी ट्राफिक एवं पार्किङ व्यवस्थापनमा जिल्ला ट्राफिक प्रहरी कार्यालले विभिन्न निकायहरु संग छलफल गरिरहेको जनाएको छ । ट्राफिक एवं पार्किङ व्यवस्थापन अवरोध पु¥याउने फुटपाथ, छाडा चौपाय नियन्त्रण गर्नका लागि नगरपालिका र सडकको स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालयका साथै नगरपालिका कार्यालयसंग समन्वय एवं छलफल भइरहेको ट्राफिक प्रमुख अर्यालले बताए । अर्यालका अनुसार निजि सवारी साधन अन्तर्गत कारमा टाँसिएका कालो रङ्गको स्टिकर हटाउने अभिायानलाई समेत तीव्र पारिएको छ । ट्राफिक व्यवस्थापन लाई ध्यान दिंदै चाइनापुलदेखि पृथ्वीचोक र अन्य स्थानमा समेत डिभाइडरका साथै ट्राफिक लाइन निर्माण गरिएको र   अन्य स्थानमा समेत डिभाइडर राखिने उनले बताए ।
यसैगरी ट्राफिक प्रहरी कार्यालयले सडक दुर्घटना न्युनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रमलाई समेत तीव्र पारेको छ । सामुदायिक सेवा केन्द्र लगायत अन्य संस्थासंग समन्वय गरी विभिन्न विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम संचालन गरिरहेको प्रहरी निरीक्षक अर्यालले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय गण्डकीमा हाल करिब एकलाख मोटरसाइकल, करिब २५ हजार अन्य सवारी साधन दर्ता छन् । दर्ता भएका एक लाख मोटरसाइकल मध्ये करिब ८० प्रतिशत पोखरा बजारमा गुड्दछन् भने करिब १५ हजार अन्य सवारी साधन गुड्छन् । पोखराको बजारमा गुड्ने यी सवारी साधन सडकको क्षमता भन्दा तीन गुणा बढी छ । सडकको अवस्था मजबूत नहुनु, नागरिकलाई ट्राफिक चेतना कम हुनु, सडकको पेटीमा रेलिङ नहुनु, ट्राफिक लाइट नहुनु तथा भएका ट्राफिक लाइट समेत संचालन नहुनुका कारणले समेत पोखराको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख अर्यालको भनाइ छ । ट्राफिक प्रमुख अर्यालका अनुसार पोखरा तथा लेखनाथको ट्राफिक व्यवस्थापनमा करिब एक सय ट्राफिक प्रहरी र उत्तिकै मात्रामा स्रोत साधनको आवश्यक भएपनि दरवन्दी भने ज्यादै न्यून छ । ट्राफिक प्रहरी कार्यालय कास्कीमा हाल २८ जना दरवन्दी छ भने ६० जनालाई काजमा ल्याइएको भएपनि उचित ट्राफिक समस्या समाधान हुन सकेको छैन ।

Post a Comment

 
Top