पोखरा उपमहानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन उच्च माध्यामिक विद्यालयले उपभोग गर्दै आएको प्रसिद्ध पाताले छाँगो (डेविड फल्स) आसपासको जग्गा भाडामा दिने भएको छ । विद्यालयले विगत ३६ बर्षदेखि उक्त जग्गा उपभोग गर्दै आएको थियो । पोखरा उपत्यका नगर विकास समितिको मातहतमा रहेको करिब ९ रोपनी जग्गा भाडामा दिन गत बिहीबार समितिले टेण्डर समेत आह्वान गरिसकेको छ । समितिले नयाँ टेण्डर प्रक्रिया सुरु गरेसँगै बर्षौंदेखि यही जग्गाको आम्दानीबाट निर्भर रहेको छोरेपाटन उच्च माविको करोडौं आम्दानी गुम्नेछ । वि.सं.२०३५ सालदेखि नै विद्यालयले पाताले छाँगो अवलोकन गर्ने पर्यटकहरुबाट प्रवेश शुल्क र आसपासको जग्गामा सटर निर्माण गरी उक्त सटरबाट रकम संकलन गर्दै आईरहेको थियो । संकलित रकम विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रमा खर्च हुँदै आएको छ । अहिले पाताले छाँगो प्रवेश गर्ने पर्यटकहरुबाट प्रवेश शुल्क मात्रै बार्षिक ७० लाख रुपैयाँ र सटरको भाडाबाट करिब ६० लाख रुपैयाँ आम्दानी हुने गरेको छोरेपाटन उच्च माविका प्राचार्य लक्ष्मण थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । विद्यालयले नगर विकास समिति मातहत रहेको जग्गामा ३५ वटा सटर निर्माण गरी त्यसमा व्यवसाय सञ्चालन गरेबापत् व्यवसायीहरुबाट भाडा उठाउँदै आएको छ । ‘विद्यालयले अस्तव्यस्त अवस्थामा रहेको पाताले छाँगोको संरक्षण गरी अहिलेको अवस्थामा ल्याईपुर्याएको हो’, प्राचार्य लक्ष्मण थापाले गोल्डेन न्यूज दैनिकसंग भने–‘करोडौंका संरचना निर्माण भैसकेका छन्, विद्यालय लाई बर्षौं पहिला जिम्मा दिईसकेको जग्गा नगर विकासले अहिले विना छलफल हडप्न खोज्नु उपयुक्त होईन ।’
उनले २०३४ साल चैत अन्तिममा नगर विकास समितिले छोरेपाटन उच्च माविलाई जग्गाको संरक्षण गरी भोगचलन गर्न औपचारिक रुपमा जिम्मा दिएको पत्र अझैपनि विद्यालयसँग सुरक्षित रहेको बताए । ‘अहिले हामीसँग २१ सय भन्दा बढी विद्यार्थी र करिब १ सय शिक्षक कर्मचारी छन्,’ उनले भने–‘यो आम्दानी गुम्ने हो भने ती विद्यार्थीको विचल्ली हुन्छ, पोखरामा राम्रो पढाई हुने मध्येमा पर्ने छोरेपाटन उच्च माविको हालत अन्य विद्यालयको भन्दा कम हुँदैन, त्यसैले कुनैपनि हालतमा यो टेण्डर प्रक्रिया सफल हुन दिँदैनौं ।’
उनले लथालिङ्ग अवस्थामा रहेको जग्गा र पाताले छाँगोको संरक्षणमा विद्यालयले पु¥याएको योगदानलाई वास्तै नगरी विना जानकारी टेण्डर आह्वान गरिएकोमा आपत्ति समेत जनाए । यसअघि गरिएको टेण्डर आव्हवान पनि विद्यालयकै विरोधका कारण रोकिएको र अहिले पनि विना जानकारी टेण्डर खोलिएको भन्दै सफल हुन नदिने बताए ।
यता पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष बिष्णु बाँस्तोलाले टेण्डर प्रक्रिया सुरु भैसकेको भन्दै अब कसैले चाहेर पनि रोक्न नसक्ने बताए । ‘अहिलेसम्म नगर विकास समितिको मातहतमा रहेको जग्गा विद्यालयलाई दिएकै हो’, उनले भने– ‘अर्काको जग्गा सधैंभरि ओगटेर कसैले आम्दानी खाने अधिकार छैन, विद्यालयले जति आम्दानी गर्यो गर्यो, अब दिन सकिँदैन ।’ उनले यस बिषयमा अब समिति पछाडि हट्न नसक्ने भन्दै टेण्डर प्रक्रिया अनुसार नै अघि बढ्ने बताए । समितिले यसअघि पनि पाताले छाँगो परिसरमा रहेको जग्गा भाडामा दिन भन्दै टेण्डर आह्वान गरेको थियो । तर विद्यालय र अभिभावकको अवरोधका कारण टेण्डर प्रक्रिया रोकिएको थियो । तर बिहीबार समितिले आगामी पाँच बर्षका लागि भाडामा दिने भन्दै टेण्डर आव्हन गरेको हो । विद्यालयको तथ्यांक अनुसार अहिले बार्षिक लाखौं पर्यटकले पाताले छाँगो अवलोकन गर्ने गरेका छन् । विद्यालयले पाताले छाँगो अवलोकनका लागि विद्यार्थीबाट १० रुपैयाँ र स्वदेशी पर्यटकबाट २० रुपैयाँ तथा विदेशी पर्यटकबाट ३० शुल्क लिँदै आएको छ ।
Post a Comment