0
नेपाल कानुन व्यवसायी परिषद् केन्द्रीय सदस्यको निर्वाचनमा पश्चिमाञ्चल विकास क्षेत्रबाट अधिवक्ता मोहननाथ कोइराला निर्वाचित भएका छन् ।
प्रजातान्त्रिक समूहबाट उम्मेदवार रहेका कोइरालाले पोखरामा सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी सम्पूर्ण वामपन्थी तर्फका उम्मेदवार अधिवक्ता गोविन्द पौडेललाई १०९ मतअन्तरले पराजित गर्दै आगामी ५ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
विजयी कोइरालाले कुल खसेको ८६१ मतमध्ये ४१७ मत प्राप्त गरेका थिए भने पौडेलको पक्षमा मात्र ३०८ मत परेको थियो । पश्चिमाञ्चलका गण्डकी, धौलागिरी र लुम्बिनी अञ्चलका विभिन्न जिल्लाका अधिवक्ता मतदाता रहेको सो निर्वाचनमा ७२५ मत सदर भएको निर्वाचन समितिले जनाएको छ ।
परिषद्को निर्वाचनमा पाँच विकास क्षेत्रमध्ये मध्यमाञ्चलबाहेक अन्य क्षेत्रमा प्रजातान्त्रिक समूह विजयी भएको डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) कास्कीका अध्यक्षसमेत रहेका चुनाव प्रचार प्रसार समितिका संयोजक कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए । विजयी भएपछि कोइरालाले सम्पूर्ण कानुन व्यवसायीको हितमा काम गर्ने तथा उनीहरुको बृत्ति विकास गराउन पहल गर्ने बताए ।
उनले कानुन व्यवसायीलाई आचारसंहितामा राख्ने काममा आफू प्रतिबद्ध रहने र समसामयिक विषयको तालिममा क्रमशः सहभागी गराउँदै लैजाने पनि बताए ।

Post a Comment

 
Top