पोखरा २५ माघ ।
नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यासको तयारी भइरहेको बताएका छन् । उनले आगामी फाल्गुन तेस्रो सातामा विमानस्थल शिलान्यास गर्ने गरिने बताए । पोखरा उद्योग वाणिज्य संघको हीरक जयन्तीको उद्घाटन एवं स्मारिका विमोचन गर्दै पौडेलले जतिसक्दो चाँडो विमानस्थल बनाउनका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने स्पष्ट पारे । ‘संघको कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा विमानस्थलको शिलान्यास कहिले हुन्छ भनेर सम्बद्ध अधिकारीलाई फोनमा सोधें,’ उनले भने,–‘फाल्गुन तेस्रो सातासम्ममा विमानस्थलको शिलान्यास हुने कुरा आएको छ । म पनि विमानस्थलको शिलान्यास सोही समयभित्र गराउनका लागि के–कति काम भए भनेर निरन्तर घच्घचाउनेछु । अब दैनिक अपडेटमा रहनेछु ।’
विमानस्थल निर्माणका लागि जग्गा मुआब्जामा देखिएको विवाद कारणले काममा ढिलाइ भएकोे उनले बताए । ‘विमानस्थलका लागि आवश्यक पर्ने थप जग्गा अधिग्रहणको प्रक्रियामा छ,’ पौडेलले भने,–‘विमानस्थल निर्माणसँगसँगै जग्गा अधिग्रहणलाई पनि अगाडि बढाउन सकिन्छ ।’ मुआब्जा प्रकरणसँगै विमानस्थल बनाउन नदिने खेल हुन सक्ने भन्दै उनले यसतर्फ नागरिक सचेत हुनुपर्नेमा जोड दिए । मुख्यसचिव पौडेलले स्वच्छ प्रतिस्पर्धाका आधारमामात्र आफ्नो व्यवसाय संचालन गर्नुपर्ने भन्दै व्यवसायका नाममा गलत काम नगर्न र गरेको पाइएमा कार्वाही गर्ने चेतावनी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशको सर्वाङ्गिण विकासका लागि सरकारसँग हातेमालो गर्न निजी क्षेत्र तयार रहेको बताए । पोखरालाई अन्तर्राष्ट्रिय शहरका रुपमा स्थापित गर्नका लागि आवश्यक पर्ने विकासका योजनाहरुलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । ‘पोखरा नेपालकै प्रमुख पर्यटकीय शहर हो,’ मुल्मीले भने,–‘यहाँको पर्यटन उद्योगलाई गति दिनका लागि पोखरामा जतिसक्दो छिटो अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ ।’ गलत काम गर्नेलाई कारवाही गरी राम्रो काम गर्नेलाई राज्यले प्रोत्साहन गरिनुपर्नेमा जोड दिंदै मुल्मीले देशमा संक्रमणकालीन अवस्था जारी रहेकाले लगानीको वातावरण बन्न नसकेको बताए ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले पश्चिमाञ्चल क्षेत्रको सर्वाङ्गिण विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए । ‘विकासका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण छ,’ थपलियाले भने,–‘विकास व्यवस्थापनका लागि निजी क्षेत्र अनिवार्य रणनीतिक साझेदार हो । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्नेगरी विभिन्न क्षेत्रमा लगानी गरिनुपर्छ ।’ पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष विन्दुकुमार थापाले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास जटिसक्दो छिटो गर्न सरकारलाई आग्रह गर्दै पोखराको समग्र विकासका लागि समयसापेक्ष रुपमा भौतिक संरचनाहरुको विकास गरिनुपर्नेमा जोड दिए ।
संघका पूर्व अध्यक्ष हेमबहादुर प्रधानले पोखरालाई समुन्नत शहर बनाउन सबै लाग्नुपर्ने बताए । संघका पूर्व अध्यक्ष तथा बालश्रम न्यूनीकरण कार्यक्रमका अध्यक्ष दीपक श्रेष्ठले पोखरालाई बालमैत्री शहर बनाउने लक्ष्यका साथ संघको अगुवाइमा बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन भइरहेको बताए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीले पोखरा विकासको अभियानमा अगाडि बढिरहेकाले अन्तर्राष्ट्रिय शहरका रुपमा परिचित गराउन आवश्यक पर्ने मापदण्ड पुरा हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पोखराको समग्र विकासका लागि सम्पूर्ण व्यवसायीलगायत संघ–संस्थाहरुबीच एकता हुनुपर्ने बताए । कार्यक्रममा संघका महासचिव रवीन्द्रबहादुर प्रजू, उपमहासचिव प्रकाशदेव पालिखे, कोषाध्यक्ष दिलीपराज श्रेष्ठ लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
यसैबीच, संघले हीरक जयन्तीको अवसरमा ‘पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार’को घोषणा गरेको छ । आगामी अधिवेशनबाट दिइने २५ हजार रुपैयाँ राशिको सो पुरस्कार हरेक दुई वर्षमा वितरण गरिने अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धान कक्षमा आवश्यक पर्ने सामग्री खरिदका लागि संघले ३ लाख २ हजार ७ सय रुपैयाँ सहयोग गरेको महासचिव रवीन्द्रबहादुर प्रजुले जानकारी दिए । त्यसैगरी संघले लामाचौर–माछापुच्छ«े सडक मर्मत तथा स्तरोन्नतिका लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी संघले ८ जनालाई मानार्थ सदस्यता प्रदान गरेको छ । संघमा १६ वर्षसम्म निरन्तर विभिन्न पदमा रहेर काम गरेका हेमबहादुर प्रधान, वसन्त उदास, रमेश कर्माचार्य, राजेन्द्रकुमार लालचन, मानकाजी माकाजू, कृष्णमोहन श्रेष्ठ र हिरामान श्रेष्ठ छन् ।
Post a Comment