0
पोखरा १८ माघ ।
पोखरा उपमहानगरपालिकाको १९औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । पोखरा नगरपालिका उपमहानगरपालिका घोषणा भएको १९औं बर्ष पूरा भएको अवसरमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले पोखराको पर्यटन प्रबद्र्धन गर्न सबैपक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताए । सबैले आ–आफ्नो जिम्मेवारी बोध गरेर काम गर्ने हो भने पोखरालाई विश्वकै नमूना शहरको रुपमा विकास गर्न सकिने मन्त्री सिंहले स्पष्ट पारे । लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा कर्मचारीमाथि कार्यबोझ बढेको भन्दै उनले देशमा जतिसक्दो चाँडो लोकतान्त्रिक संविधान ल्याउने र स्थानीय निकायको निर्वाचन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । मन्त्री सिंहले स्थानीय निकायको निर्वाचन दलहरुको सहमतिका आधारमा गर्नुपर्ने भएकाले सहमतिका लागि स्वायत्त शासन ऐन संशोधनका लागि संसदमा विधेक पेश गरिएको जानकारी समेत दिए ।
संविधान निर्माण प्रक्रियामा गएपनि सहमतिकै आधारमा अगाडि बढने उनको भनाइ थियो । उनले प्रक्रियामा सवै दललाई सहभागी गराउने नभए विश्वव्यापी मान्यताका रुपमा स्थापित दुई तिहाई बहुमतका आधारमा संविधान जारी गरिने स्पष्ट पारे । उनले एक वर्षभित्रै संविधान जारी गर्ने वाचा दलहरुले नेपाली जनताका बीचमा गरेको भएपनि तोकिएको समयमा संविधान दिन नसकेको बताउँदै अब प्रक्रियाबाटै भएपनि संविधान जारी गरिने स्पष्ट पारे । मन्त्री सिंहले भने–‘सके सहमतिमा नसके संविधानसभाको नियमावली अनुसार प्रक्रियाबाटै भएपनि लोकतान्त्रिक संविधान जारी गर्छौं ।’ पहिलो संविधानसभा सहमति खोज्दा–खोज्दै विघटन भएको स्मरण गर्दै मन्त्री सिंहले विगतलाई दोहोरिन नदिन प्रक्रियामा गएको उल्लेख गर्दै प्रक्रियासंगै सहमतिको प्रयास जारी राखिने बताए । उनले जनआन्दोलन २०६२÷६३ बाट प्राप्त उपलब्धि संस्थागत गर्न कुनै कमी हुन नदिने स्पष्ट पार्दै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता माथि संका नगर्न सवैलाई आग्रह गरे । ‘जनआन्दोलन बाट प्राप्त उपलब्धि प्रति प्रतिबद्ध छौं शंका गर्नुपर्दैन’–उनले भने ।
कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद जीवन परियार, नेकपा एमालेका नेता एवं सभासद चुडामणि जंगली, अखण्ड नेपालका सभासद कुमार खड्का लगायतले पोखराको विकासका लागि आफूहरु सँधै प्रतिवद्ध रहेको बताए । राजनीतिक आस्था जसको जे भएपनि विकासका कुरामा आफूहरु सँधै संगै हुने भन्दै उनीहरुले पोखरालाई संमृद्ध र सुरक्षित शहर बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । त्यस अवसरमा नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेकुमार थपलिया, कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, पोउमनपाका कार्यक्रम अधिकृत ओमराज पौडेल, आलेप अधिकृत अनन्तप्रसाद कोइराला लगायतले आ–आफ्नो भनाई राखेका थिए ।   
कार्यक्रममा चीनको लिञ्झी शहरले पोखराको सूचना प्रविधिको विकास र विस्तारका लागि २ लाख आरएमबी अर्थात ३२ लाख रुपैयाँ नेपाली रकम सहयोग गरेको छ । लिञ्झीका डिपुटी कमिशनर लिहावो स्टान्डिङले पोखरा उप–महानगर पालिकाका प्रमुख तथा कार्यकारी अधिकृत महेश बराललाई सो रकमको चेक हस्तान्तरण गरेका थिए । लिञ्झीबाट प्राप्त सहयोग पोखरा उपमहानगरपालिकाको आन्तरिक सूचना प्रविधि सुदृढ पार्न खर्च गरिने भएको छ । त्यस बारेमा नगरपालिकाका इन्जिनियर अरुण पौडेलले जानकारी गराएका थिए भने पोउमनपाले पोखराको सृजनाचोकमा निर्माण गर्न लागेको भवनको बारेमा पोउमनपाकाका  वरिष्ठ ईञ्जिनियर शारदा मोहन काफ्लेले जानकारी दिए ।
सृजनाचोकमा बन्न लागेको ब्यवसायिक सपिङ कम्प्लेक्सको  शिलान्यास पनि संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले आइतबार नै गरेका हुन् । नगरपालिकाको स्वामित्वमा रहेको १ रोपनी जग्गामा भवन निर्माणको तयारी गरिएको हो । करिब २० वटा साना गाडी र २५ वटा मोटरसाईकल पार्किङ गर्न सकिने गरी बेसमेन्ट सहितको ३ तले भवन निर्माण गर्न लागिएको पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत महेश बरालले जानकारी दिए । पोखरा उपमहानगरपालिका र नगर विकास कोषको संयुक्त लगानी ७ करोड ५८ लाखको लागतमा भवन निर्माण हुन लागेको हो । आगामी १८ महिनामा निर्माण सक्ने गरी रसुवा÷श्री गीता कन्स्ट्रक्सन प्रालि सँग निर्माण सम्झौता भएको नगरपालिकाका वरिष्ठ ईञ्जिनियर शारदा मोहन काफ्लेले जानकारी दिए । कार्यक्रमकै अवसरमा नगर पालिकाको मुखपत्र पोखरा दर्पणको पनि विमोचन समेत गरिएको थियो भने चीनका केही नगरपालिकासंग भगिनी सम्बन्ध स्थापना गर्न तथा सहयोग जुटाउन प्रयास गरेको भन्दै विश्वशंकर पालिखेलाई सम्मान गरिएको थियो । त्यस अवसरमा बोल्दै पालिखेले सम्मानित व्यक्तित्व विश्वशंकर पालिखेले विभिन्न देशका शहरहरुसँग भगिनी सम्वन्ध स्थापना गरेर पोखरामा लगानी भित्र्याउन सकिने र पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
यसैगरी २०७१ मसिंर १६ गतेको सरकारी निर्णय अनुसार पोखरा उपमहानगरपालिकाको क्षेत्र विस्तार गरेको छ । यसअघि १८ वटा वडा रहेको नगरपालिकामा कास्कीका १० वटा गाविस गाभिएर २८ वडामा कायम भएको छ । कास्कीका काहूँ, आर्वा, भलाम, लामाचौर, अर्मला, हेमजा, सराङकोट, निर्मलपोखरी, पुम्दीभुम्दी र कृष्तिनाच्नेचौर गाविस उपमहानगरपालिकामा गाभिएका हुन् । नयाँ वडा थपिएपछि पोखराको क्षेत्रफल पनि ५५ वर्गकिलोमिटर बाट थप भएर २ सय २१ वर्गकिलोमिटर पुगेको छ । यस्तै जनसंख्या पनि थपिएको छ । २ लाख ६४ हजार जनाको बसोबास रहेको नगरपालिकामा अहिले ३ लाख १३ हजार मानिसहरु बस्छन् । यो संख्या समग्र कास्कीको ६३.७ प्रतिशत हो ।
यसैबीच नेपाली कांग्रेसका महामन्त्री समेत रहेका उपप्रधामन्त्री सिंह आइतबार बिहान पोखरा आएका हुन् । उनी गणेशमानसिंह फाउण्डेशन कास्कीले सोमबार बिहान पोखरामा आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुनेछन् । फाउण्डेशनका अध्यक्ष खेमराज पौडेलले दिएको जानकारी अनुसार मुलुकको वर्तमान चुनौति र गणेशमान सिंहको सान्दर्भिकता विषयक अन्तरक्र्रिया कार्यक्रममा गणेशमान सिंहका छोरा प्रकाशमान सिंहलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको हो ।

Post a Comment

 
Top