0
रीता गुरुङ
जापान २२ माघ ।
जापानमा रहेर विभिन्न पेशा र व्यवसायमा संलग्न प्रजातन्त्रवादी नेपालीहरुको संस्था नेपाली जनसम्पर्क समिति जापानले विभिन्न सामाजिक एवं राजनीतिक गतिविधि संचालन गर्दै आएको छ । करिब एक दशक अघि जापानमा स्थापित जनसम्पर्क समितिमा हाल करिब दुई हजार साधारण सदस्य  करिब पाँचसय ५० क्रियाशील सदस्य आवद्ध छन् । समितिका महासचिव राजेन्द्र जमरकट्टेलका अनुसार हाल जापानको प्रमुख शहरहरु नागोया, ओशाका, फुकुवका, कान्तो, हिरोसीमा, मिगाता, गुम्वाकेन र फुकोसीमा आठ वटा क्षेत्रीय समिति समेत गठन भैसकेको छ ।
समितिले आफ्नो स्थापनाकाल देखिनै विभिन्न सामाजिक र राजनीतिक गतिविधि संचालन गर्दै आएको बताउँदै समितिका महासचिव जमरकट्टेलले गोल्डेन न्यूज दैनिकसंग भने–‘नेपाली जनसम्पर्क समितिले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय निर्माण गर्नका लागि १५ लाख रुपैयाँ, नेपालको सुनकोशी वाढी पीडितका लागि ६ लाख रुपैयाँ तथा जापानमा २०११मा आएको सुनामीबाट पीडित भएकाहरुका लागि खाना एवं सरसफाइ स्वरुप महत्वपूर्ण आर्थक सहयोग प्रदान गरेका छौं ।’
यसैबीच समितिले यही फेब्रुअरी ८ अर्थात माघ २५ गते जापानको टोकियोस्थित इकोबुकोरोमा नेपाली कांग्रेसका नेता एवं नेपाल सरकारका अर्थमन्त्री डा. रामशरण महतसंग विशेष अन्तक्र्रिया गर्ने भएको छ । नेपालको समसामयिक राजनीतिक अवस्था, दोस्रो संविधानसभाको निर्वाचन पछि लोकतान्त्रिक संविधान निर्माणमा देखिएका चुनौतिका साथै नेपालमा विभिन्न राजनीतिक दलको भूमिकाको बारेमा अन्तक्र्रियामा छलफल हुने बताइएको छ ।
नेपाली जनसम्पर्क समिति लगायत नेपाली कांग्रेसका भातृ संस्थाहरुबीचको सम्बन्ध र संगठन सुदृढिकरण लगायतका विषयमा छलफल हुने जानकारी महासचिव  जमरकट्टेलले दिए ।
यसैगरी अर्थमन्त्री डा. महत फेव्रुअरी ९ का दिन अर्थात सोमबार जापानको सिजुओका क्षेत्रका नेपालीहरुसंगको अन्तक्र्रिया कार्यक्रममा सहभागी हुँदैछन् । नेपाली जनसम्पर्क समिति सिजुओका अध्यक्ष रेशमकुमार डंगोलका अनुसार नेपालमा फेरि द्वन्दको सम्भावना बढेको र नेपालमा बस्ने तथा विदेशमा बस्ने नेपालीहरुमा त्रासको अवस्था बढ्दै गएको वर्तमान अवस्थामा अब संविधान कहिले बन्छ ? देशले कुन मोड लिन्छ ? जस्ता विषयमा जानकारी गराउन कांग्रेसका प्रभावशाली नेता महतलाई सिजुओकाको रेयोगाइचोमा आमन्त्रण गरिएको हो ।
जापानमा रहेका नेपालीहरुको संस्थाले नेपालबाट विभिन्न राजनीतिक दलका नेता लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरु लाई आमन्त्रण गरि नेपालको समसामयिक विषयमा गम्भीरता पूर्वक छलफल गर्दै आएका छन् । 

Post a Comment

 
Top