0
पोखरा १८ माघ ।
नेपाली कांग्रेसका नेता एवं नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले संविधान निर्माणको सवालमा कि त सहमति गर्नुपर्ने, कि त प्रक्रियामा जानुपर्ने अवस्था रहेको बताएका छन् । मुलुकमा प्रदेशको निर्माण कसरी गर्ने र संघीय संरचना कस्तो बनाउने भन्ने विषयमा दलहरुबीच विवाद देखिएको भन्दै मन्त्री निधिले यी विषयमा कुरा मिलेको भए सहमतिको सम्भावना रहेको स्पष्ट पारे । नेपाल प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री निधिले भने–‘अब कि त नमिलेका विषयमा सहमति गर्नुपर्छ, कि त प्रक्रियामा जानुपर्छ ।’ उनले नेपाली कांग्रेस र सरकार वार्ता र सम्वादको माध्यमबाट निकास निस्कियोस भन्ने पक्षमा रहेको स्पष्ट पार्दै प्रधानमन्त्री सुशिल कोइराला समेत प्रचण्डको निवासमै पुगेर सहमतिको प्रयासमा जुटेको जानकारी दिए ।
यसै प्रसङ्गमा निधिले भने–‘अझैपनि संविधान निर्माणको विषयमा सहमति हुन्छ भन्ने विश्वास मलाई लागेको छ । यसैगरी नै हाम्रो पार्टी र सरकार समेत निराश छैन ।’ उनले चार वर्षका लागि बनेको दोस्रो संविधानसभाले एक वर्षभित्रमा नै संविधान बनाउने भनेको भएपनि त्यो सम्भव नहुँदा चिन्ता बढेको बताए ।
संविधानसभा निर्वाचन ताका सबै राजनीतिक दलहरुले आ–आफ्नो घोषणापत्रमा गरेको प्रतिवद्धता र संविधानसभाको बैठक प्रारम्भ गर्दा नेताहरुले व्यक्ति गरेकामे विचारलाई आत्मसाथ गर्न सबै दल र नेताहरुलाई मन्त्री निधिले सुझाव दिए ।
नेपाली कांग्रेसको १३औं महाधिवेशन आगामी जेठमा गर्ने सोचाई भइरहेको समेत उनले जानकारी दिए । कांग्रेस नेता निधिले पुस मशान्तसम्म पार्टीको सदस्यता वितरण र नविकरणको प्रक्रिया सकिएको र केन्द्रमा विवरण पुग्नेक्रम शुरु भएको भन्दै निधिले विभिन्न भातृ संस्थाको महाधिवेशन पनि छिट्टै गर्न प्रयास भइरहेको स्पष्ट पारे ।
नेपालमा सवारी दुर्घटना न्युनिकरण गर्न दुई किसिमका सवारीचालक अनुमतिपत्र प्रदान गर्ने तयारी भइरहेको भन्दै यातायात मन्त्री निधिले चालकहरूको लापर्बाहीले हुने दुर्घटना न्यून गर्न चेतना अभिवृद्धि, तालिम र नियम कानुनलाई परिवर्तन गरिन लागिएको बताए । सोही अवसरमा बोल्दै कास्की कांग्रेसका सभापति एवं संविधानसभा सदस्य यज्ञबहादुर थापाले संविधानसभामा अत्यधिक अल्पमतले अत्यधिक बहुमतलाई रोक्ने र प्रक्रियामा जान नदिने पीडादायी घटना हुँदा पनि आफूहरु संयमित रहेको बताए । अरु पार्टीका सभासदको शैलीलाई हेरेर सबै सभासदलाई र दलहरुलाई एउटै डालोमा राखेर आरोप नलगाउन सभासद थापाले सबैसंग आग्रह गरे । सोही अवसरमा सवारी दुर्घटनामा परी घाइते भएका नेपाल प्रेस युनियनका पार्षद बसन्त अधिकारीलाई नगद १० हजार रुपैयाँ युनियनको पत्रकारिता पुरस्कार एवं कल्याण कोषको तर्फबाट सहयोग गरिएका थियो । प्रेस युनियन कास्कीका सभापति शिरोमणि बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष माधव रेग्मी र कार्यक्रमको सञ्चालन प्रकाश सापकोटाले गरेका थिए ।



Post a Comment

 
Top