
साहित्यकार तथा विज्ञान विषयका प्राध्यापक कल्याण पन्तले आफ्नो दोस्रो कृति लघुकथा संग्रह ‘प्रसाद’ बजारमा ल्याएका छन् । विभिन्न ५६ वटा व्यङ्ग्यात्मक लघुकथा समावेश गरिएको ‘प्रसाद’ को शुक्रबार पोखरामा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ । दर्जन बढी स्मारिका र पत्रपत्रिकाको सम्पादन गरिसकेका श्रष्टा पन्तले यसअघि २०६९ सालमा ‘समय सन्दर्भ’ नामक लघुकथा संग्रह बजारमा ल्याएका थिए । ‘प्रसाद’ को लोकार्पण लघुकथा समाज नेपालका अध्यक्ष एवं मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ रोदनले गरेका थिए । त्यस अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले लघुकथाको स्वरुप र संरचनाका बारेमा धेरै विवाद हुने गरेको बताउँदै आफूहरु लघुकथाको स्वरुप र संरचना निर्धारण गर्न लागि परेको बताए । लघुकथा लेखनका हिसावले श्रष्टा पन्त खारिएको व्यक्ति भएको भन्दै उनले अन्यको तुलनामा पन्तको लघुकथा धेरै भिन्न र उत्कृष्ट रहेको बताए । नेपालका लघुकथाको इतिहास सातदशक भैसकेको भन्दै श्रेष्ठले व्यस्त समयका लागि लघुकथा उपयोगी हुने दावी गरे । ‘लघुकथामा थोरै शब्दले कथालाई पूर्णता दिनुपर्ने हुन्छ । तीव्र आख्यानात्मक प्रभाव पार्नसक्ने विशेषता समेत हुनुपर्छ । त्यसैले लघुकथा लेख्न सहज छैन ।’ उनले भने–‘पन्तको लघुकथा संग्रह प्रसादमा नेपाली समाजमा बाँचेको जीवन, भोग्नुपरेका विकृति र विसंगतिहरुलाई व्यङ्ग्यात्मक रुपमा प्रतिविम्वित गरेका छन् । आजको समय, प्रवृधि र घट्दो मानवीयता वरिपरि घुमेका लघुकथाहरुमा पन्तको आफ्नोपन छ । यही नै पन्तको विशेषता हो ।’
प्रसाद लघुकथा संग्रहमाथि टिप्पणी गर्दै नेपाली लेखक संघ कास्कीका निवर्तमान अध्यक्ष एवं प्राध्यापक डा. लक्ष्मीशरण अधिकारीले पन्तको लघुकथा संग्रह समग्रमा राम्रो भएको बताए । पुस्तकमा केही त्रुटि भएपनि समग्र हिसावले उत्कृष्ट र पढौं–पढौं लाग्ने छन् अधिकारीले भने । नेपाल प्राज्ञमञ्च कास्कीका सचिव प्रा.डा. विष्णुप्रसाद पौडेलले पन्तका लघुकथाहरुमा हाम्रो समाजमा हामीले भोग्दै र देख्दै आएका कतिपय समस्यामूलक विषयलाई आलोचनात्मक दृष्टि चेत सहित सरल भाषा रहेको बताए ।
जनप्रिय साहित्य समाजका अध्यक्ष आनन्दमणि रिजालले स्वयं देखे भोगेका जीवन जगतका सन्दर्भलाई मितव्ययी अभिव्यक्तिका साथ पन्तका लघुकथा आएको बताए । कार्यक्रममा स्रष्टा पन्तले लघुकथाको अध्ययनमा आफू लामै समयदेखि लागिरहेको बताए । लघुकथा हीरा झैं टल्किने र जुनकिरी झै बल्ने विधा भएको बताउँदै पन्तले पहिलो कृति प्रकाशनपछि थप हौशलाका साथ परिमार्जित र उत्कृष्ट, व्यङ्ग्यात्मक कघुकथा सहित कृति लिएर आफू आएको स्पष्ट पारे । कार्यक्रममा प्रसाद कृतिकी प्रकाशिका प्रेमकुमारी गुरुङ, जनप्रिय बुहुमुखी क्याम्पसका क्याम्पस प्रमुख वीरञ्जी गौतम, जनप्रिय साहित्य समाजका सदस्य जिकेन्द्र माझी, योराज पौडेल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
लमजुङ पोखरा सम्पर्क समाजका सल्लाहकार समेत रहेका पन्त नेपाल पन्त समाज कास्कीका अध्यक्ष समेत हुन् । पोखराको पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत उनी नेपाल गद्य लेखक परिषद् र जनप्रिय साहित्य समाजमा समेत आवद्ध छन् । यस्तै उनी पोखरामा माछापुच्छ«े एफएममा समेत आवद्ध छन् भने ज्योतिष विधामा समेत लामो अनुभव बटुलेका छन् ।
Post a Comment