सम्झौतासंगै व्यापार र लगानी, उद्योग, परिवहन र पर्यटन, कृषि, उर्जा, शिक्षा र पूर्वाधार गरि सातवटा विषयमा दुई संघबीच सहकार्यको ढोका खुलेको छ । सम्झौतापत्रमा द्विपक्षीय व्यापार लगानी बृद्धिका लागि संयुक्त लगानीको पहल गर्ने, साना उद्योग र सहकारीका लागि अवसरको खोजी गर्न सूचना आदान–प्रदान एवं भेटघाट गर्ने, सामान आयात निर्यातमा यातायात खर्च घटाउनका लागि पहल गर्ने, भन्सारको प्रक्रिया सहज बनाउन नियमित सूचना आदान–प्रदान गरिने उल्लेख छ ।
यसैगरी सहकार्यलाई बलियो बनाउन दवै उद्योग वाणिज्य संघका एक व्यक्तिलाई श्रोतव्यक्ति तोकिने र सोही माध्यमबाट व्यवसाय र उद्योगलाई आवश्यक पर्ने सूचना आदान–प्रदान, पैरवी एवं एक अर्काका उत्पादनहरुको बजारीकरणमा सघाउने विषयमा समेत सहमतिपत्रमा उल्लेख छ । सहमतिलाई अझ प्रभावकारी बनाउन नियमित सेमिनार एवं वार्षिक कार्ययोजनासहित काम गर्न पनि दुबैपक्ष सहमत भएका छन् भने सहमति कार्यान्ययनको लागि एक अनुगमन समिति समेत बन्नेछ । सहमति अनुसार दुवै संघका सदस्यहरुको नियमित भेटघाट र अध्ययन अवलोकन भ्रमण आयोजना गरिने छ । सम्झौता दुई वर्षको रहेको छ भने आवश्यकता अनुसार सम्झौताको अवधि बढाइने छ ।
भ्रमणमा रहेको पोखरा उद्योग वाणिज्य संघसँगको छलफल कार्यक्रममा बोल्दै गुजरात उद्योग वाणिज्य संघका अध्यक्ष राकेश साहले दुई देशबीच व्यवसाय विकासको सम्भावना प्रचुर रहेकोकाले व्यवसायिक विकासमा टेवा मिल्ने बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पोखराको पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगको क्षेत्रमा लगानी गर्न गरेको आग्रहलाई स्वीकार्दै उनले दुई देशबीच धेरै कुराहरु समान रहेकोले पनि लगानीको सम्भावना बढी भएको बताए । अध्यक्ष थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालप्रति देखाउनुभएको सदायसताको प्रशंसा गर्दै गुजरातबाट नेपालले धेरै सिक्नुपर्नेमा जोड दिए ।
गुजरातका उद्योगपतिहरु सहभागी कार्यक्रममा एक अर्काबीच मायाको चिनो आदानप्रदान भएको थियो भने भ्रमणदलमा रहेका सबैलाई स्वागत पनि गरिएको थियो । सधैँ व्यस्त रहने गुजरातका व्यवसायीहरु र खासगरी त्यहाँका अध्यक्ष साहले देखाएको सदासयताप्रति पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष थापाले प्रशंसा गरे । कार्यक्रममा बोल्दै गुजरात उद्योग वाणिज्य संघका वैदेशिक व्यापार संघका अध्यक्ष भाग्यश सोनीजीले खुसीसँग सम्झौता गरेर पैसा कमाउने संस्कृति दुवै देशमा नभएकोले सँगै मिलेर अगाडि बढ्न सजिलो भएको बताए । पोखरा उद्योग वाणिज्य संघका महासचिव रविन्द्रबहादुर प्रजुले सहकार्यको लागि खुल्ला मनले गुजरात आएको संघको टोलीलाई न्यानो स्वागत गरेकोमा धन्यवाद ज्ञापन गरे ।
संघका अध्यक्ष विन्दुकुमार थापाको नेतृत्वमा रहेको अध्ययन अवलोकन भ्रमण टोलीमा संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, द्वितीय उपाध्यक्ष मीनराज काफ्ले, महासचिव रविन्द्रबहादुर प्रजु, उपमहासचिव प्रकाशदेव पालिखे, सदस्यहरु हीरा भट्टराई, नारायण कोइराला, सीता गुरुङ,विन्दु कोइराला सुवेदी, ईश्वर कर्माचार्य,बलराम आचार्य पवन प्रजापति, अर्जुन पोखरेल, संघका कार्यकारी निर्देशक टोपबहादुर थापा र पत्रकार वाशुदेव मिश्र रहेका छन् । टोर्लीले चर्चामा रहेको विकासको गुजरात मोडलको अलावा सो क्षेत्रको उद्योग, व्यवसायिक स्थिति तथा सार्वजनिक निजी साझेदारीबाट निर्मित र संचालित विभिन्न संरचनाहरुबारे पनि जानकारी बटुलेको संघका महासचिव रविन्द्रबहादुर प्रजुले जानकारी दिए । सो भेटघाट कार्यक्रममा महिला उद्यमीहरुको उपस्थिति थियो भने उनीहरुले पोखरा उद्योग वाणिज्य संघका महिला उद्यमी उपसमितिका संयोजक विन्दु कोइराला एवं सदस्यहरु सीता गुरुङ, हीरा भट्टराईसँग सहकार्यका लागि गतिलो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । पोखराबाट फागुन ४ गते गुजराततर्फ लागेको भ्रमण टोलीले अध्ययन अवलोकनकै क्रममा भारतको नयाँ दिल्ली तथा उत्तरप्रदेशको नोयडा क्षेत्रमा भएको औद्योगिक विकासको अध्ययन गरेको थियो । संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले सो क्षेत्रको भ्रमण पश्चात् भूमिको उपयोग गर्नु पूर्व नै नियमनकारी निकायले निश्चित मापडण्ड निर्धारण गरेमा अनधिकृत निर्माणले प्रश्रय नपाउने बताए ।
संघका द्वितीय उपाध्यक्ष मीनराज काफ्लेले गुजरात उद्योग वाणिज्य संघका सदस्यहरुले देखाएको सदायसयताले आफूहरुमा उत्साह थपेको बताए । संघका उप–महासचिव प्रकाशदेव पालिखेले गुजरातको औद्योगिक विकास र व्यवसायिक वातावरणबाट नेपालले धेरै सिक्नुपर्नेमा जोड दिए ।
Post a Comment