0
द्वन्द्वकालमा असुरक्षाका कारण म्याग्दीको दरबाङबाट विस्थापित राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनःस्थापना गर्न स्थानीयले माग गरेका छन् । पश्चिम म्याग्दीका एक दर्जन गाविसमा सर्वसाधारण लाई वित्तीय सेवा प्रवाह गर्ने उद्देश्यले जिल्लाको दोस्रो व्यापारिक केन्द्र दरबाङबजारमा स्थापित शाखा २०५८ सालमा विस्थापित भएको थियो । तत्कालीन वाणिज्य बैंकको दुईवटा शाखा रहेको जिल्लामा बेनी शाखाले समेत कार्यालय बन्द गरेको थियो । स्थानीय प्रशासन र उद्योगी व्यवसायीको चर्को दबाबपछि बेनी शाखाले सेवा सुरु गरे पनि दरबाङ शाखा भने अहिलेसम्म पुनःस्थापना हुन सकेको छैन । पश्चिम भेगका उद्योग व्यवसायी र किसानले तत्काल बैंकको शाखा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् । निजी क्षेत्रका बैंक तथा सहकारी धमाधम स्थापना भइरहेको र शान्ति स्थापना भइसकेको भन्दै स्थानीयले तत्काल शाखा पुनःस्थापना गर्न माग गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घ दरबाङ एकाइका अध्यक्ष वीरबहादुर कार्कीले बताए । लगानी सुरक्षित र गुणस्तरीय सेवा हुने भएकाले सरकारी बैंकमा सर्वसाधारणको विश्वास धेरै रहने उनको भनाइ छ । सरकारी स्वामित्वमा सञ्चालित वाणिज्य बैंकका अतिरिक्त कृषि विकास बैंकको शाखा पनि द्वन्द्वकालमा त्यहाँबाट विस्थापित भएको थियो ।
अहिले दरबाङमा निजीस्तरको नीलगिरि विकास बैंकको शाखा, दरबाङ बचत तथा ऋण सहकारी संस्था, पश्चिम म्याग्दी बचत तथा ऋण सहकारी संस्था र अन्नपुष्पम सहकारी संस्थालगायत दर्जनभन्दा बढी बैंक तथा सहकारी सञ्चालित छन् । शाखा विस्थापित हुँदासम्म पश्चिम भेगका बाबियाचौर, दरबाङ, विम, देवीस्थान, मल्कबाङ, मुना, मुदी, ताकम, रुम, लुलाङ, अर्मन र गुर्जालगायत १६ गाविसका स्थानीय र किसानले सरकारी सेवा लिनबाट वञ्चित भएको दरबाङका व्यवसायी सन्तोष सुवेदीले बताए । वाणिज्य बैंक बेनी शाखाका प्रबन्धक रुकमागत मुडभरीले दरबाङ शाखा पुनःस्थापनाका लागि पहल भइरहेको बताए । चालु वर्षमा बैंकले शाखा विस्तार र पुनःस्थापना गर्ने नीति लिएका कारण सबै तहबाट समन्वय गरे स्थानीयको माग पूरा गर्न सकिने उनको भनाइ छ । रासस

Post a Comment

 
Top