
लोपोन्मुख नेवारी पर्व योःमरी पूर्णिमाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त अवसरमा नेवाः खल कास्कीको अगुवाईमा निर्माण भईरहेको नेवा छेँ भवन निर्माणका लागि ५ लाख सहयोग गर्ने भीमसेनटोल घर भई बुटवल बस्दै आएका मिनबहादुर श्रेष्ठ र उनको धर्मपत्नीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले हरेक जातीले आफ्नो भाषा, धर्म र संस्कृति जोगाउन नितान्त आवश्यक रहेको बताए । आफ्नो भाषा बोल्दा वा संस्कृति मान्दा अन्य समुदायले हाँसिमजाक गरेर उडाउने प्रवृत्ति अन्त्य गरेर बरु अनुसरण गर्नुपर्ने उनको भनाई थियो । नेवाः खल कास्कीका उपाध्यक्ष तथा संस्कृतिविद् तीर्थ श्रेष्ठले अविभाज्य संस्कृति निर्माण गर्ने हो भने कुनैपनि संस्कृतिलाई राष्ट्रिय संस्कृति बनाउनुपर्नेमा जोड दिए । उनले जातीय कुरा र संस्कृतिको आवाज उठाउँदा साम्प्रदायिकताको आरोप लगाउने दुस्साहस कसैले पनि गर्न नहुने तर जातीयताको नाममा कसैले राजनीति पनि गर्न नहुने बताए । कुँडहर पुचःका अध्यक्ष चन्दनमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक तारा वराल, समाजसेवी बजिरमान श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
Post a Comment