0
सुमधुर स्वरकी धनी आनी छ्योइङ डोल्माले शनिवार पोखरासभागृह संगीतमय बनाए । कास्की सराङकोट–६, लेकसाईड स्थित निर्माणाधीन उर्गेन छ्योएलिङ बौद्धिष्ट गुम्बा सहयोगार्थ कोल्मा बहाकोट तमु समाज पोखरा र उर्गेन छ्योएलिङ गुम्बाद्वारा पोखरामै पहिलो पटक शनिवार पोखरासभागृहमा सम्पन्न धार्मिक लामा नृत्य तथा आनी एकल सांगितिक कार्यक्रम २०७१ मा गायिका आनी छ्योइङ डोल्माले गाउनु भएको नौ वटा गीतमा  सहभागीहरुले पनि सँगै गाएर पोखरासभागृह संगीतमय बनेको हो । कार्यक्रममा सुमधुर स्वरकी धनी आनीले बुद्ध बचन बोलको अध्यात्मिक गीतबाट गायन शुरु गरी मिठो मुस्कान, बतास चल्यो, बटुवा हुँ बटुवा, चुलबुले मनको स्वभाव, म त ठूलो हँुदै होइन तिमी प नि होइन देश भन्दा ठूलो अरु केही छैन, जय होस तिम्रो मंगल होस, फूलको आँखामा फूलै संसार, नयाँ आउन लागेको गीत ओम मने पेमे होम, जति जति दान प्रदान गरे अरु हित हुन्छ भन्ने गीत प्रस्तुत गर्नु हुदाँ गीतमा साथ दिएका दर्शक श्रोताहरु अत्यन्तै अनुशासित देखिन्थ्यो ।
कार्यक्रममा लामा कलाकारहरुले पोखरामै पहिलोपटक अध्यात्मिक एवं तान्त्रिक नृत्यहरु झिग्भेव (आशिषवर्षा नृत्य), श्यानाग(कालमुकुट नृत्य), छोग्लेन(गणधारण नृत्य), घिङ (दूत नृत्य) प्रस्तुत गरेका थिए । दर्शकहरुको बृहत सहभागीता रहेको उक्त कार्यक्रममा  गायिका आनी छ्योइङ डोल्माले दीप प्रज्वलन गरी उद्घाटन गरे । कार्यक्रममा  सञ्चारकर्मी सरस्वती गुरुङ र मैत्री बुद्ध तमु समाज काठमाडौंका अध्यक्ष मेजर हरिबहादुर गुरुङले शुभकामना मन्तव्य र र खेम्पो फुर्वा टेम्पाले धार्मिक नृत्यको बारेमा जानकारी दिएका थिए ।
कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार गुप्तबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समाजका पूर्व अध्यक्ष एवं उर्गेन छ्योएलिङ गुम्बाका उपाध्यक्ष तेजबहादुर गुरुङले स्वागत र चर्चित नेपाल टेलिभिजन प्रस्तोता, कार्यक्रम सञ्चालक अनिता विन्दुले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त अवसरमा कार्यक्रमका सहयोगीलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । लामा धार्मिक नृत्य तथा सांगितीक कार्यक्रम पुर्व पोखरा १० इन्द्रमार्गस्थित कोल्मा बहाकोट तमु समाजघरमा बिहान ६ देखि ९ बजेसम्म आयोजना गरिने पुजा तथा वरिष्ठ टुल्कु रिम्पोछेद्वारा वाङ (आयु अभिषेक) प्रदान गरिएको थियो ।

Post a Comment

 
Top