नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले फेवाताल अतिक्रमण गर्नेलाई तत्काल कारवाही गर्न क्षेत्रीय प्रशासक र प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् । पोखराको पर्यटकीय फेवातालको नक्सांकन गरी अतिक्रमण भएको जग्गा प्रति प्रशासनले चासो देखाउनुपर्नेमा उनले जोड दिए । शनिवार पोखरा आएका मुख्य सचिव पौडेलले फेवाताल अवलोकन गर्दै पामे पुग्ने क्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलिया र कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई तत्काल फेवाताल अतिक्रमण गर्नेलाई कानुनी कारवाही गर्न आग्रह गर्दै तालको नक्सांकन अनुसारको मापदण्ड लागु गर्न आग्रह गरे ।पोखराको मुख्य केन्द्रविन्दुका रुपमा रहेको फेवाताललाई अहिले अतिक्रमणबाट जोगाउन नसकेको खण्डमा भावी पुस्ताले फेवातालको रुप देख्न नसक्ने भन्दै तत्काल अतिक्रमण रोक्न र अतिक्रमित जग्गा फिर्ता गरी अतिक्रमण गर्नेलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई मुख्य सचिव पौडेलले ठाडो आदेश दिए । पौडेलले भने–यो हामी सवैको साझा सम्पति हो यसलाई अतिक्रमण गर्नेलाई हामीले छुट दिनुहुदैन तत्काल प्रहरी खटाएर पक्राउ गर्नुस अनि काम शुरु गर्नुस । त्यसैगरी फेवाताल किनार वरपर घर तथा टहरा वनाउनेहरुलाई पनि कारवाही गर्न मुख्य सचिव पौडेलले आग्रह गरे । फेवाताल किनार वरपर घर तथा टहराहरु निर्माण गरी त्यसवाट निस्कने माटो तथा फोहोरले फेवाताल पुरिने तथा प्रदुषण हुने भएकाले यसलाई रोक्नुपर्ने उहांको भनाइ रहेको थियो । फेवाताललाई जोगाउन स्थानिय प्रशासनदेखि, पर्यटन ब्यवसायीहरु, तथा सम्पूर्ण पोख्रलीहरु लागि पर्नुपर्नेमा उनले जोड दिए । अवलोकनका क्रममा सहभागी क्षेत्रीय प्रशासक दिनेश कुमार थपलिया र प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर राउतले पर्यटन ब्यवयशायीहरुको मनोमानीका कारण फेवाताल अतिक्रमणमा परिरहेको मुख्य सचिव समेत जानकारी गराएका थिए ।
Post a Comment