0
पोखराका वरिष्ठ सँस्कृतिकर्मी एवं अग्रज व्यवसायीका साथै प्रजातन्त्रका सेनानी सर्वज्ञमान प्रधानाङ्गको शनिबार निधन भएको छ । १ सय १ बर्षको उमेरमा शनिबार बिहान पोखराको फिस्टेल अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । पोखरा उपमहानगरपालिका वडा नं. २ भैरवटोलमा वि.सं. १९७० महाशिवरात्रीका दिनमा जन्मिएका प्रधानाङ्ग करिब एक महिनादेखि गम्भीर बिरामी परेका थिए । प्रधानाङ्गको शवलाई शनिबार बिहान १० बजेसम्म उनको भैरवटोलस्थित निवासमा र त्यसपछि ११ बजेसम्म भैरव साँस्कृति संरक्षण समितिमा राखिएको थियो भने त्यहाँबाट पोखरा उद्योग बाणिज्य संघमा पनि केही समय राखिएको थियो । प्रधानाङ्गको शनिबार नै शवयात्रा गरि पोखराको तुलसीघाटमा अन्त्येष्टि गरिएको थियो । उनको पार्थिव शरीरमा जेष्ठ शुपुत्र कृष्णमान प्रधानाङ्गले दागवत्ति दिएका थिए । उनको शवमा नेपाली काँग्रेस कास्कीका सभपाति एवं संविधानसभा सदस्य यज्ञबहादुर थापाले काँग्रेसको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए भने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, लगायतले पनि श्रद्धाञ्जली व्यक्त गरेका थिए । प्रधानाङ्ग राणाशासन तथा पञ्चायती शासनकालमा मात्र नभएर हालसम्म पनि नेपाली कांग्रेसमा रहँदै आएका थिए । उनी पोखरा उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष पनि हुन् । उनका तीन छोरा कृष्णमान, तीर्थमान र प्रकाशमानका साथै तीन छोरीहरु छन् । यसैबीच नेपाली कांग्रेसका नेता, प्रजातन्त्रका सेनानी, वरिष्ठ संस्कृतिकर्मी एवम् समाजसेवी सर्वज्ञमान प्रधानाङ्गको निधन भएकोमा गणेशमान सिंह फाउन्डेशन जिल्ला कार्य समिति कास्कीले गहिरो दुःख व्यक्त गरेको छ । संस्थाका अध्यक्ष खेमराज पौडेलले शनिबार एक शोक विज्ञप्ति जारी गरी प्रधानाङ्गको निधनले नेपालको राजनीतिक, सांस्कृतिक एवम् समाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र उनी सबैका लागि अनुकरणीय रहिरहने जनाएका छन् । पौडेलले प्रधानाङ्गको योगदानलाई अनुशरण गर्न सबै प्रजातन्त्रप्रेमीहरु प्रतिबद्ध रहनुपर्नेमा जोड दिएका छन् ।

Post a Comment

 
Top